सुर्खेत - कर्णाली करिडोर अन्तर्गतको कणाली नदीको नरहरिनाथ-८ कालीकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो । 

निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा आएको हो । २०६६ सालमा हाल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ सालमा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले कर्णाली करिडोरमा रहेको पक्की पुलको शिलान्यास गरेका थिए ।

दुईपटक शिलान्यास भएको पुल निर्माण ढिलाई भएका कारणले लामो समयपछि सञ्चालनमा आएको छ । ठेक्का भएको तीन वर्षमा नै काम सम्पन्न गर्ने गरी २०६६ सालमा कन्काइ जेभीले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीले २०६९ सम्म पनि काम गर्न नसकेपछि सडक डिभिजन कार्यालय जुम्लाले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो । 

सुरूको पुल निर्माणका लागि १३ करोड लागत निर्माण हुने भनिएको उक्त पुल निर्माण कार्यमा ढिलाई हुँदा १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो । कर्णाली करिडोरमा पुल नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको थियो । 

कर्णाली करिडोरमा पुल सञ्चालन आएपछि अबका दिनमा हुम्ला, मुगु, बाजुरा र कालीकोटमा यातायातका साधन सहजै सञ्चालनमा आउने कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘कर्णाली करिडोरमा अब कर्णाली राजमार्गबाट यातायातका साधन सहजै सञ्चालनमा आउने भएका छन् ।’ उनले भने, ‘यहाँका नागरिकको दैनिकीमा सहज हुने भएको छ ।’

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...