काठमाडौँ – उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्दैन ।
पछिल्लोपटक काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए, जुन आदेखि कार्यान्वयनमा आएको छ ।
आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ ।
विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर)लाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ ।
होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने निर्णय भएको थियो । अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने प्रजिअहरूले बताएका छन् ।
विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ ।
वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाउँछन्। अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ ।
एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन ।
बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ ।
कूटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ताका लागि आउजाउ गर्ने मानिसहरूलाई नरोकिने भएको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...