काठमाडौँ । इलाम नगरपालिका–७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय दुईजनाले सेवा लिएका छन् ।

सोमबार र मङ्गलबार सञ्चालित दुईदिने शिविरमा जिल्लाका विभिन्न क्षेत्रमा बासिन्दाले सेवा लिनुभएको हो । इलाम अस्पतालमा सञ्चालित शिविरमा जिल्लाभरिबाट सेवा लिन आएको बताइएको छ । शिविरको पहिलो दिन ५८७ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ५१५ जनाले सेवा लिएका छन् ।

त्यसमा सबैभन्दा बढी हाडजोर्नीका ३७७ बिरामीले सेवा लिएका छन् । त्यस्तै छालाका २८७ बिरामीले सेवा लिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए । दुई दिनमा नाक, कान र घाँटीका मात्र दुई सय बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर शिव पण्डितले जानकारी दिए । शिविरमा हाडजोर्नी विशेषज्ञसहित मुटुरोग, नाक, कान घाँटी, छाला, फिजिसियन एवम् रेडियोलोजी विशेषज्ञको सेवासमेत उपलब्ध गराइएको थियो ।

इलाम–७ ले गएको वर्ष कोरोना महामारीबाट वडावासीलाई जोगाउन रु १० लाख रकम खर्च गरेको थियो । यस वर्षसमेत इलाम अस्पताललाई रु १० लाख रकम कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै वडाले विनियोजन गरेको थियो । सोही रकमबाट शिविर सञ्चालन गरिएको इलाम–७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार