तेह्रथुम - फेदाप गाउँपालिका-३ का भोगेन्द्र लिम्बूले ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् । अदुवा बिक्रीबाट मात्रै उनले गत वर्ष तीन लाख आम्दानी गरेका थिए । अरु अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि उनले परम्परागत खेती मास्दै अदुवा खेती रोजेका हुन् ।
निरन्तर अदुवाको मूल्यमा गिरावट आउनु र बजार नपाउनुले यतिबेला भने लिम्बू चिन्तित बनेका छन् । किसानले उत्पादन गरेको अदुवाको अहिले निकासीसमेत ठप्प छ । मूल्यमा गिरावट र निकासी नहुँदा किसानको मुख्य आम्दानी स्रोत नै गुमेको छ ।
अदुवा खेती नै मुख्य आम्दानीको स्रोत भएका किसानलाई परिवार धान्नसमेत सकस हुने गरेको छ । ‘पोहोरसम्म व्यापारीहरू घरघरै आउँथे तर,यो साल अदुवा खरिदका लागि व्यापारीले सोधखोजसम्म गरेका छैनन्,’ उनले भने । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषिउपज वस्तुले बजार पाउँदै गर्दा किसानहरूले उत्पादन गरेको अदुवा अहिले बारीमै कुहिन थालेको छ ।
फेदाप-३ कै पदम पोखरेलले पनि दुई रोपनी क्षेत्रमा अदुवा खेती गर्दै आएका छन् । ०४२ सालमा आफैले खानका लागि अदुवा रोप्न सुरु गरेका पोखरेलले पछिल्लो समय व्यावसायिक रूपमा खेती गर्दै आएका हुन् । दुई वर्षअघि उनले अदुवा बिक्रीबाट वार्षिक तीन लाख आम्दानी गरेका थिए । उनी भन्छन्, ‘हामी किसानले उत्पादन गरेको कृषिउपजका वस्तुलाई भण्डार गरी बजारसम्म पुर्याउन सरकारले ध्यान दिए हुन्थ्यो । भण्डारण स्थापना गर्न सके मूल्य पाउन थालेपछि किसानहरूलाई राहत मिल्ने थियो ।’
लिम्बु र पोखरेलको मात्र नभई तेह्रथुमका किसानहरूको मुख्य समस्या नै यही बनेको छ । गत वर्ष ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको अदुवा यस वर्ष मूल्यमा गिरावट आएपछि बजार पाउन सकेको छैन । किसानलाई यतिबेला आफूले उत्पादन गरेको अदुवाले बजार नपाउँदा निल्नु न ओकल्नुझै बनेको छ । राम्रो आम्दानी हुने आशले व्यावसायिक अदुवा खेतीमा लागेका तेह्रथुमका किसान अदुवा बिक्री नहुँदा चिन्तित बनेका छन् ।
जिल्लाामा उत्पादित अदुवालाई प्रशोधन गरी बजारसम्म पुर्याउने प्रशोधन केन्द्रको अभाव छ । यातायातको सुविधा नहुँदा त्यतिकै खेर जाने अदुवा गाउँगाउँमा पुगेको सडकले बजारसम्म पुर्याउन सहज भएको थियो । जिल्लामा दुई सय ७० हेक्टरमा अदुवा खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र धनकुटाका कृषि प्राविधिक विशाल राईले जानकारी दिए । जिल्लाको ६ वटै पालिकामा खेती हुँदै आए पनि आठराई गाउँपालिकामा अदुवा सबैभन्दा धेरै उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७७/७८ मा चार हजार ५० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष भने ३९ सय ४२ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादन भएको अदुवा पूर्वी तराई र भारतसम्म निकासी हुने गरेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...