सन बजार आसपासका घरहरू बदलिए, ग्राहक-व्यापारीका नयाँ अनुहारहरू देखा परे तर व्यापार बदलिएको छैन । आज पनि यो क्षेत्र व्यापक घुइँचो हुने ठाउँ हो ।  नेपालको आर्थिक इतिहासमा असन आसपासका क्षेत्रहरूले आफ्नो अलगै पहिचान क्रियट गरिसकेका छन् । यी गल्लीहरू हुँदै हिँड्ने क्रममा मलाई कहिलेकसो यहाँका भित्ताहरू आकर्षित गर्ने गर्दछ । भित्तामा टाँसिएको पोस्टर (फोटोकपी पेपर), भित्तामा लेखिएका अक्षरहरू, पर्खालमा खोपिएका व्यापारिक-स्वास्थ्यजन्य या राजनीतिक सूचनाहरू पढ्दै, हाँस्दै हिँड्ने गर्छु । 



उसो त पर्खाल-भित्ताहरूप्रति मेरो साह्रो आशक्ति छ ।  र, साह्रो विरक्ति पनि । 

आशक्ति यसर्थमा कि भित्ता-पर्खालहरू ‘जनताका अखबार’ हुन् । विरक्ति चाहिँ यसर्थमा कि भित्ता-पर्खालहरू राजनीतिक प्रपन्चधीसहरूका मुखपत्र पनि हुन् । 

आशक्तितर्फ अलिकति बोलौँ । भिन्ची, एन्जेलोका फ्रेसको चित्रहरूले भित्तालाई अर्थ प्रदान गरेका थिए, गरिरहेका छन् । अजन्ता, अल्टामिरा जस्ता गुफाहरूमा पनि मानव सभ्यताको सजीव चित्रण त भेटिन्छ नै, शिल्पकारिताको उत्कृष्ट नमुना पनि भेटिन्छ । यी गुफाहरूमा अङ्कित भित्ते चित्रहरू, सिलिङ चित्रहरू, बाहिरी मोहडाका झ्याल ढोका र भित्री मोहडामा कुँदिएका मूर्तिहरू एवं बुट्टेदार खम्बाहरूले हामीलाई प्राचीन कालसँग साक्षात्कार गराउँदछ । यी गुफाहरूको भित्ता-पर्खाल नबोल्दा हुन् त हामी आफूलाई चिन्ने-बुझ्ने मेसोमा यहाँ यति चाडै आइपुग्ने थिएनौँ । यहाँ खोपिएका चित्रहरू तात्कालिक सङ्केत चिन्हहरू त थिए नै, सँगसँगै आजका हामीलाई ‘हिजोका हामी कस्ता थियौँ’ भनेर चिनाउने सेतु साबित हुन् पुगेको छ । उदाहरण स्वरूप, धादिङ डेबजोङ दरबार (वि.स.५०० आसपास)का खण्डहरहरूले वाइबा राजाहरूको परिचय हाम्रो अगाडि सारिरहेको छ ।

अब विरक्तितर्फ पनि बोलौँ । शीत युद्धकालीन वैचारिक विभाजनको प्रतीक बर्लिनको पर्खाल, विश्वको सबैभन्दा ठुलो चिहान ग्रेटवाल पनि आखिर थिए त पर्खाल नै, भित्ता नै । यिनले पनि तात्कालिकता झल्काएका छन्, जुन इतिहासका विद्यार्थीहरूको तीर्थाटन साबित भएको छ । 



यसहिसाबले नियाल्दा भित्ता- पर्खाल कुनै दल, समूह वा व्यक्तिका विचार जनतासम्म पुर्‍याउन सजिलो, कम खर्चिलो र प्रभावकारी माध्यम बनिरहेको देखिन्छ । यसैकारण सहरका भित्ताहरू-पर्खालहरू कतै खाली देखिँदैनन् । फिल्मको पोस्टर, नि:शुल्क आँखा शिविरका विज्ञापन, कोठा सार्ने गाडीवालहरूको प्रचारबाजी, दलगत-पार्टीगत विचारहरूको व्याख्या (नारा ?), नगर-महानगरको सूचना र आदि इत्यादि । काठमाडौँका भित्ता-पर्खालहरू दिनहुँ नयाँ-नयाँ सूचनाहरू बकिरहेका छन् । नयाँ-नयाँ हल्लाबाजीहरू गरिरहेको छन् । अलिकति नियालेर हेर्ने हो भने काठमाडौँका भित्ता-पर्खालहरूबाट नै काठमाडौँ बोलिरहेको छ ।



भित्तामा नारा लेखिनु, सूचना टाँसिनु वैचारिक स्वतन्त्रता कुरा हो । कुनै पनि ठाउँ या स्थानविशेषका भित्ता-पर्खालहरू के-कस्ता अक्षरहरू छन् भन्ने कुराले त्यस ठाउँको वैचारिक झल्काउँदछ । आवश्यकता औँल्याउँदछ । विसङ्गति दर्साउँदछ । पर्खाल-भित्ताहरू 'भित्ता-पर्खालहरू' मात्रै होइनन् । 



पर्खाल-भित्ता मानिसको दुःख-दुर्दशा बताउँछन्, रहर-सपनाहरू पनि बताउँछन् । पर्खाल-भित्ता समाज बुझाउँछन्, कला बुझाउँछन् । पर्खाल-भित्ता हकाधिकार पढाउँछन्, हकदाबी गर्न अर्हाउछन् । पर्खाल-भित्ता युगका चरित्र देखाउँछन् । चित्र देखाउँछन् । पर्खाल-भित्ताहरूले आगो बाले । पर्खाल-भित्ताहरूले खान सिके । पर्खाल-भित्ताहरूले भाषा जाने । पर्खाल-भित्ताहरूले संस्कृति जन्माए । पर्खाल-भित्ताहरूले घर बनाए । पर्खाल-भित्ताहरूले समाज बनाए । देश बनाए ।..पर्खाल-भित्ताहरू मात्रै 'भित्ता-पर्खालह'रू होइनन् । 



नरदेवी मन्दिर आसपासका भित्ताहरू पनि धेरै थोक बोलिरहेका छन् । धेरै थोक भनिरहेका छन् । यी भित्ताहरू ‘ढोका अगाडि मोटरसाइकल नराख्नुहोला’ भनिरहेका छन् । यी भित्ताहरू ‘सहना टेलर्स माथि सरेको’ बताइरहेका छन् । यी पर्खालहरू ‘कुकुर पाल्ने महानुभावहरूले कुकुरको लागि पनि शौचालय व्यवस्था गर्नुहोला, सार्वजनिक चोक, दैलो, बाटो खुल्ला चौरमा कुकुरलाई दिसा पिसाब नगराउन’ अनुरोध गरिरहेका छन् । यी पर्खालहरू ‘एक दिने निःशुल्क आँखा शिविर’को निम्तो बाँडिरहेका छन् । फोहोर फ्याल्न मनाही छ भन्दै फोहोर सुँघिरहेका छन् । 



पुराना घरका भित्ता-पर्खाल नजिकैको नयाँ घरको भित्ता-पर्खालहरू ‘पुराना घर, टहराहरू भत्काउनु परेमा हामीलाई सम्झनुहोस्’ भनिरहेका छन् ।  ‘तपाईँ सिसिटिभीको निगरानी भएको’ खबर दिँदै मैला-धसारिएका भित्ताहरू ‘यस ज्यासल चोकमा चोकका बासिन्दा बाहेक अरूहरूको मोटरसाइकल राख्न सख्त मनाही छ । अन्यथा राखेमा रु. ५०० जरिवाना लाग्ने’ बताइरहेका छन् । 



नरदेवी मन्दिर आसपासका भित्ताहरू ‘यहाँ सन्याखुना (सिद्राको अचार) र तखा (राँगाको मासु) पाइन्छ’ भन्दै व्यापार गरिरहेका छन् । यी भित्ताहरू ‘विन्टर स्पेशल आर्ट क्लास ओपन’ भन्दै शैक्षिक व्यापारमा लागिपरेका छन् । यी भित्ताहरू ‘गृहिणीका चाहना.., उच्च स्तरीय प्लास्टिकका भाँडाकुँडा प्रयोग गरी ढुक्क हुनुहोस्’ भन्दै पितृसत्ताको पक्षधरता लिइरहेका छन् । यी भित्ताहरू ‘नियत जिसकी अच्छी भाग्य भी उसका  दासी है । कर्म जिसका अच्छा, उसका घर ही मथुरा काशी है’ भन्दै ‘नि:शुल्क प्रवचनको लागि सम्पर्क करें’’ भनिरहेको छन् ।



यी भित्ताहरू ‘यहाँ खसीको फोक्सो र साथै ससेज पाइन्छ’ भन्दै एकसाथ र एवं साथैको संयोजन गरेर भाषाविद्हरूलाई चक्मा दिइरहेका छन् ।  यी भित्ताहरू ‘आलु प्याज सँगै अन्य तरकारी भित्र पसलमा पाइन्छ’ भन्दै भित्र गल्लीतर्फ इशारा गरिरहेका छन् । र,यसैबिच यी भित्ताहरू एउटा सेतो धागोमा ५/७ खुर्सानी र कागती झुन्डाएर ‘वैद्यनाथ, सिंहदरबार वैद्यखानाको औषधि साथै अन्य औषधिहरू सुपथ मूल्यमा’ पाइने ठोकुवा गरिरहेको छ ।



बस्, म यिनै भित्ता-पर्खालहरू लेखिएका अक्षरहरू-पढ्दै, गम्दै हिँडिरहेँ..हिँडिरहेँ ।









 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार