वालिङ । युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृति ‘रात्री आकाश’ शनिबार वालिङमा लोकार्पण गरिएको छ। कृति लोकार्पणसँगै ‘वालिङ गजल उत्सव–२०८२’ पनि सम्पन्न भएको छ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा, वैकल्पिक बाटो–पृथक पाइला सिर्जनात्मक अभियान–२०७६ को ३८ औँ पाइलाका रूपमा आयोजना गरिएको कार्यक्रम वालिङ नगरपालिका–८, बी.पी. चोकस्थित शुभम पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा आधुनिक नेपाली मौलिक गजल लेखन अभियानलाई विशेष रूपमा केन्द्रमा राखिएको थियो।



कृति लोकार्पण कार्यक्रममा युवा गजलकार बाबु त्रिपाठी, गजलकारकी आमा प्रेमकान्ति ढकाल, गजलकार राहुल शंकर तथा सृष्टासीता गौडेल गैह्रेलगायतले संयुक्त रूपमा ‘रात्री आकाश’ लोकार्पण गरेका थिए। नेपाली लेखक संघ स्याङ्जाद्वारा प्रकाशित तथा युवा स्रष्टा मिलन समीरद्वारा सम्पादित उक्त गजलसङ्ग्रहमा १३१ वटा समसामयिक गजल समावेश छन्।

लोकार्पणपश्चात् कृति ‘रात्री आकाश’ र गजलकार ढकालको गजल यात्रामाथि सृष्टासीता गौडेल गैह्रे र गजलकार राहुल शंकरले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए। वक्ताहरूले ‘रात्री आकाश’ केवल गुलाबी सहर स्याङ्जाको मात्र नभई सिङ्गो नेपालले गौरव गर्न लायक गजलसङ्ग्रह बनेको धारणा व्यक्त गरेका थिए। गजलकार ढकालले आफ्ना अनुभूति गजलीय मन्तव्यमार्फत प्रस्तुत गरेका थिए।

गल्याङ नगरपालिका–११, लबरकोटमा जन्मिएका ढकाल हाल गल्याङ–९, अमिलाथुमस्थित जानकी माध्यमिक विद्यालयमा शिक्षण पेशामा आबद्ध छन्। उनले वालिङ बहुमुखी क्याम्पसबाट स्नातक तथा नेपाल कमर्स क्याम्पस, काठमाडौंबाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। आधुनिक नेपाली गजल लेखनमा सक्रिय ढकाल जगत्रदेवी साहित्य सङ्गम, गल्याङका सह–सचिवसमेत हुन्।

कार्यक्रमको दोस्रो चरणमा आयोजित ‘वालिङ गजल उत्सव–२०८२’ मा मिलन समीर, शम्भु अर्याल, बसन्त खनाल, पारिश्वर न्यौपाने, ध्रुवप्रसाद पंगेनी, गजलयात्री एसी, सरस्वती अर्याल, दिलीप मगर, देवराज गैह्रे, पूजा रेग्मी, ढालबहादुर केसी, लेखनाथ काफ्ले, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, राजु गैह्रे, चण्डिकाप्रसाद भण्डारी, प्रेमबन्धु सुवेदीलगायत जिल्लाभित्र र बाहिरका ३१ भन्दा बढी गजलकार तथा स्रष्टाहरूले आफ्ना सिर्जना वाचन गरेका थिए।

समारोहका क्रममा गजलकारकी आमा प्रेमकान्ति ढकाल, उनकी अर्धाङ्गिनी कमला गैह्रे ढकाल, युवा गजलकार बाबु त्रिपाठी तथा कृतिका सम्पादक मिलन समीरलगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।


 


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार