अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

बिहानको कलिलो घामको पाइला आगनमा पर्दा नपर्दै दिलबहादुर दर्जीको पाइला आफ्नो लुगा सिउने मेसिनमा पर्छ ।मेसिनको खरर्र...आवाजसँगै शुरू हुन्छ उनको दैनिकी । उबेला आधिपुर खलंगे बाँझो वडा नम्बर ८ बस्ने उनी हाल इलामको चुलाचुली वडानम्बर ४ मा बसोबास गर्छन । दुई छोरी, सासु, श्रीमती र आफू गरी जम्मा पाँच जनाको जिम्मेवारी छ, उनको मेसिन र उनको काँधमा । आफ्नो पुराना दिनहरू सम्झदै  उनी सुनाउछन्; "मेरो बाजेले बाउले पनि लुगा सिउनु हुन्थ्यो, मैले ३४ सालदेखि यो काम गरें र अहिले सम्म गर्दै छु ।" उनी थोरै मुस्कुराउँदै अझै थप्छन्; "मेरो बुवा छोराले आफू जस्तो दुःख नपावोस् भनेर होला जहिले पनि पढ्नु पर्छ भन्नु हुन्थ्यो । त्योबेला २०२८/२९ सालतिर खलंगेबाट हिमाबीमा हिमालय उमावि दमक पढ्ने हामी जम्मा चार जना थियौँ । त्यहाँ मैले कक्षा नौसम्म पढेँ ।

नआउने काममा आफू गर्छु भन्दिन, त्यही भएर होला मेरो काममा अहिलेसम्म अपजस खानु परेको छैन ।



उनीसँग उनको बुवाले चलाएको मेसिन र उनले किनेको मेसिन गरी जम्मा दुईवटा मेसिन छ । जसलाई उनी छोटी मेसिन र बडी मेसिन  भन्छन् । बुवाले विश्राम लिए जस्तै बुवाको मेशिनले पनि अहिले विश्राम लिए पनि काम गरिरहँदा त्यो मेसिन हेर्दा उनलाई अझै बुवा नजिक भएको महसुस हुन्छ । उसँगै लुगा सिउने धेरैले विभिन्न बहाना गर्दै मेसिन चलाउन छोडिसके त्यो मध्ये आधा भन्दा धेरै मान्छेको कुरा सुन्दा जातिय हिंसामा परेको कारण उनी सुनाउछन् । पछिल्लो समय विभिन्न जातिय हिंसाको घटनाहरू अत्यधिक भएको समाचारहरू सुन्न, हेर्न, पढ्न पाइन्छ । ती सबै कुरा सुन्दा आफूलाई नराम्रो लाग्छ । किन मान्छेलाई मान्छेले मान्छे सोच्दैन होला जस्तो लाग्छ । हामीमा त्यस्तो के छ र मान्छेले हामीलाई अछुत सम्झछन् खै ? यो  प्रश्नले  कहिले कहिले उनको दिमाग घुमाउँछ ।



दिलबहादुरको जिन्दगीको यहाँ सम्मको यात्रा सोँचे जस्तै, गफ गरे जस्तै सजिलो भने थिएन । कुनैबेला उनलाई पनि राम्रो रोजगारीको लोभले खाडी मुलुकसम्म डोहोर्यायो जहाँ उनी जस्तै करिब तीन हजार नेपाली कामदार थिए ।त्यहाँ पनि उनले जिन्स पाइन्ट र टि-सर्ट सिएर करिब नौ वर्ष बिताए ।  बिहे बच्चा परिवार  छुट्टिने र जोडिने क्रम जारी रहयो । मेरो दुःखमा सुखमा साथ दिने त उही मेरो लुगा सिउने कला र मेसिन मात्र थिए । कुनै-कुनै बेला आफूसँगैको साथीभाइले 'के गरिराख्नु  यस्तो ? किन सिलाउनु अरूको लुगा र ? यो त हाम्रो बाउबाजेले गरेको काम हो कुनै नयाँ काम गर ,अरू काम गर'  पनि नभनेको होइनन् । तर उनलाई ती सबै कुराले खासै फरक पारेन बरु यो काम छोडौँ भन्दा पनि आफूलाई कसरी हुन्छ, बाउबाजेको भन्दा अझ राम्रो कसरी सिउने ? ग्राहकलाई कसरी चित्त बुझाउने ? भन्ने पिर लाग्थ्यो ।



मैले जिन्दगीमा कहिले विज्ञापन गरिन, मेरो काम नै मेरो विज्ञापन भयो । करिब चालीस वर्षको अवधिमा मैले लाखौँ जोर सर्टपाइन्ट, दौरा सुरुवाल, स्कूल ड्रेस,  गुन्यूचोली सिलाएँ । त्यही नै मेरो विज्ञापन भयो ।  मलाई मेरो ग्राहकले मेरो काम देखेर खोजून् । उनी अझै थप्छन्; "अहिले सरकारले सिलाइ बुनाइको  तीन महिने तालिमहरू लिएर आउँछ । कहिले कहिले तर त्यो भन्दा उता के त ? त्यति नै काफी होला त ? यो काम को लागि यो बारेमा चासो कसैले लिँदैन ।"  थोरै सरकारको योजना प्रति असन्तुष्टि व्यक्त गर्छन् उनी ।

अरूले सिएको लुगा मलाई सजिलो लाग्दैन, मेरो सजिलो र अप्ठ्यारो मलाई मात्र थाहा हुन्छ नि त्यही भएर म आफ्नो लुगा आफैँ सिउँछु  ।"



उनकोमा प्रायः आउने ग्राहकको नाप लिनु पर्दैन उनलाई । "नआउने काममा आफू गर्छु भन्दिन, त्यही भएर होला मेरो काममा अहिलेसम्म अपजस खानु परेको छैन", भन्छन् उनी । "कुनै पनि कपडा सिलाउँदाखेरी यो कसैको लागि सिएको भनेर सिलाउन थालियो भने बिग्रन्छ, जहिले पनि यो मेरो कला हो मैले यहाँ आफ्नो कला देखाउने हो भन्ने सोँच्नु पर्छ ।" उनी आफ्नो कला र पेशाको बुझाइ यसरी राखछन् । घरमा आफ्नो परिवारसँगै बसेर लुगा सिउने बाहेक कहिलेकाहीँ पूजाकाे काम गरेर करिब २० हजारसम्म आम्दानी गर्छन् ।अरूको लुगा सिउने मिजासिलो स्वभावको दिलबहादुर दर्जी आफ्नो लुगा पनि आफैँ सिउँछन् ।  किन भन्ने उनी एकछिन सोच्छन् र भन्छन्; "अरूले सिएको लुगा मलाई सजिलो लाग्दैन, मेरो सजिलो र अप्ठ्यारो मलाई मात्र थाहा हुन्छ नि त्यही भएर म आफ्नो लुगा आफैँ सिउँछु  ।"

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...