अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

घडीले दिउँसोको १२ बजेको संकेत गर्दै छ । गर्मीको त कुरै नगरौँ झापामा ! बिगत १०/१२ दिनदेखि दमक झापामा निषेधआज्ञा जारी छ । तैपनि मान्छे फाट्टफुट्ट सामाजिक दूरीको कायम गरेर कोही मास्कसँग कोही मास्क बिना या भनौ असामाजिक तरिकाले बाटोमा/पसलमा/अस्पतालमा देखिन्छन्, भेटिन्छन् ।

त्यसो त पछिलो समय 'अनिवार्य मास्क लगाउ' अभियानको अभियानताहरू आफैँले मास्कबिना हिँडेको तस्वीरले सामाजिक सञ्जाल नातातेको होइन । यहाँनिर परिवर्तनको शुरूवात आफैँबाट गर्नुपर्छ भन्ने भनाइलाई हामी व्यवहारमा कसरि लागू गर्दोरैछौँ भन्ने प्रमाण देख्छाैँ । जे होस् निषेधआज्ञाको क्रममा प्रायः सम्पूर्ण सटरहरू बन्द देखिन्छन् । ती बन्द देखिएको सटर अगाडिप्रति सटर एकजना व्यापारी उभिन्छन् ग्राहक कुर्न । प्रायजसो सबै व्यापारीलाई यस्तो महामारीको बेला किन पसल खोल्नु हुन्छ ? डर लाग्दैन ? तपाईं सरकारको नियम नमान्ने ? भन्ने प्रश्न गर्दा, हामी चैँ नबाच्नु । डराएर भोक नटर्दो रैछ त ! हाम्रो सरकारको मुख पनि बोल्छ पिँध पनि, मान्न लायक नियम त मानेकै छौँ नि जस्तो जवाफ आउँछ । तिनै सटर रुग्दै व्यापारीको भिडमा आफ्नो पुरानो ठेला रुग्दै बसेको हुन्छन् रमेश साह ।



इन्डिया दरभंगा जिल्ला स्थायी बसोबास गर्ने उनी विगत ४० वर्ष देखि झापाको दमकमा अस्थायी बसोबास गर्दै आएको छन् । पुरानो ठेला, ठेलामाथि केहीथान भुटेको मकै र भुटेको बदामको पोको, बल्दै गरेको चुलाको छेउमा आफ्नो पालो कुरेर बसेको केही थान दाउराहरू, दुवै कान भाँचिएको किटको कराई, कराहीमा तातिएको रतुवा खोलाको बालुवा, बालुवामा पन्यूँको सहाराले नाच्दै गरेको तातो बदाम, बदाम जोख्ने सानो चिट्टिक परेको पल्ला, एक बोरा काँचो बदाम र बदाम पोको पार्न अरूको प्रयोगमा आइसकेको पुराना कपि किताब र पत्रपत्रिकाहरू उनको दैनिकीको साथीहरू हुन् ।

म – बदाम कसरी हो दाजु ?
उनी – ५० ग्रामको ३० रुपैयाँ ।
म – अनि सबैको पसल बन्द छ, तपैले चैँ किन खोल्नु भको ?
उनी – बन्द गर्ने ठाउँ नभएर.... हाहाहा ।

उनको जवाफसँगै हामी दुवैजना हास्छौँ, अनि शुरू हुन्छ हाम्रो भलाकुसारी ।



१४/१५ वर्षकाे उमेरमा आफ्नो परिवारसँग राम्ररी जीवन चलिरहेको थियो उनको । बिहान दिउँसो आमाबुवालाई खेतबारीको काम सगायो बेलुका घरको काम गर्यो, बस्यो खायो सानै उमेर भएपनि यस्तो दैनिकीदेखि विरक्तिएका थिए उनी । गाउँबाहिर गएर आउनेले गाउँमा लगाउने गफ, गाउँमा उनीहरूलाई गर्ने इज्जत ओहो ! दैनिकीको विरक्ति र गाउँ फर्किदा पाइने इज्जतले उनलाई लोभ्यायो । त्यही लोभले घुमाउँदै घुमाउँदै नेपाल ल्याइपुर्यायो उनलाई ।

“पहिले त दमकमा काठको घर मात्र थियो । ऊ त्यहाँ (हातले औल्याउँदै) राम मन्दिरमा बजार लाग्थ्यो । पहिले घर थोरै खेत धेरै थियो, अहिले खेत थोरै घर धेरै छ । मान्छेको त कुरै नगरौँ किरैसरि......!” 

हाम्री गफगाफको क्रमसँगै उनको व्यापार पनि निरन्तर चल्दै थियो । यतिकैमा निषेधआज्ञा पालना गरौँ भन्दै केही थान नगर प्रहरी बोकेर नगरपालिकाको एउटा भ्यान देवकोटा चोक हुँदै ओरालो झर्दै थियो । रमेशले आफ्नो ठेलालाई उनीहरूले नदेख्ने गरी पछाडि धकेले, गाडी अलि पर के पुगेको थियो, उनी आफ्नो पसलसहित फेरि यथास्थानमा हाजिर भए । उनी मुस्कुराउँदै थिए ।



म – मान्छे बाट मान्छे डराएर बाच्ने बेला पनि आयो नि दाजु ?
उनी – कलियुग भनेको यहि हो ! तर सबैले आफ्नो धर्म गर्नु पर्छ ।
म – पक्डियो भने के गर्छ ?
उनी – लान्छ, जरिवाना तिराउँछ । हामी पनि रहरले बेचेको होइन हजुर भन्यो बिन्ती गर्यो । अबदेखि यस्तो नगर्ने भन्यो छोडिदिन्छन् । फेरि घर आएर व्यापार नगरी त के खानु ?
निषेधआज्ञा भन्दा पहिले रमेश पश्चिम ढल्केबाट काँचो बदाम प्रतिकेजी २५०/३०० को दरले ५/७ बोरा ल्याउथे । काँचो बदामलाई बालुवामा भुटेर बजारमा प्रतिकेजी ५०० मा बेच्थे । दमक चोक, थानारोड, हाटखोला, पुरानो सब्जी बजार, नयाँ सब्जी बजार हुँदै एक फन्को मार्थे दैनिक दमकलाई त्योबेला लागत खर्च काटेर उनको दैनिक आम्दानी १०००/१२०० सम्म हुन्थ्यो । अहिले कोठा नजिक बाटोको एउटा कुना बाहेक अन्त लादैनन् उनी आफ्नो ठेलालाई । खै किन हो यो बेला कति आम्दानी हुन्छको उत्तर दिएनन उनले मलाई ।



३५/४० वर्षको अवधिमा सयौँ किलो बदाम बेचे । यही सानो ठेलाको व्यवसायकाे आम्दानीले उनले आफ्नो छोरीको बिहे गरिदिए, छोरालाई अझै पढाउँदै छन् । रुम भाडा, दैनिक खर्च गरेर पनि आफ्नो दैनिकी चलाउँदै छन् । अब लगभग हामी हाम्रो गफको अन्त्य तिर आको छौँ ।

म – अनि घर जानु हुन्न ?
रमेश – धेरै समय नेपाल बसेर होला घर जान मन लाग्दैन ।
म – अनि परिवार भेट्न पर्यो भने ?
रमेश – उनीहरू आउछन्, हामी छठ पनि यतै मनाउछौँ !

अचानक मेरो मनमा एउटा सानो सवाल आयो । यो सवाल तेर्स्याउन मेरो कुनै गलत धारणा थिएन र छैन पनि । 
म – यत्रो वर्ष नेपाल बस्नु भयो तपाईंसँग नेपाली नागरिकता पनि छ कि क्या हो ?
रमेश – छ, इन्डियाको पनि छ । जुन बेला जताको चाहिन्छ त्यताको देखाउने हो ।



मैले उनलाई अरू प्रश्न गरिनँ । २०० को बदाम लिएर समयको लागि धन्यवाद भनेर म आफ्नो बाटो लागे, बाटोभरि मनमा अनेक कुरा खेल्दै थियो । त्यसो त नेपालमा नागरिकता बिक्री भएको, जालझेल गरेर नागरिकता बनाएको, २५/३० वर्ष आफ्नो पुर्खाहरूको देश भन्दै बसेको भुटानी शरणार्थीहरूले नेपाली नागरिकता नपाएको सत्य तथ्य खबरहरूबाट त्यति टाढा थिएन म । तर, रमेश र रमेश जस्ता लाखौँ जो नेपालमा रोजगारीको लागि आउछन् जसको तीनचार पुस्ता अन्य देशको नागरिक हुँदाहुँदै पनि के को आधारमा नागरिकता वितरण हुन्छ हाम्रो देशमा ? नागरिकता लिने कि दिनेको दोष होला ? यस्तै सोच्दै रमेशले दिएको बदाम खाँदै हिँड्दै थिए । अचानक उनले बदाम पोको पारेर दिएको पत्रिकाको टुक्राको समाचारमा आँखा पर्यो । जुन समाचार भर्खर चुरे क्षेत्र विनाशको विषयमा रहेछ । त्यो विषयमा बोल्दै एउटा नेताले भनेको थिएछन् ।

“हामीले जे बिक्छ त्यो बेच्ने हो !”



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...

सम्बन्धित समाचार