अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

कुनै बेला मधेसी र पहाडीको मुद्दा चर्किरहेको थियो । त्यस बेला मधेसी जस्तो देखिने वा भाषामा त्यस्तो छनक देखियो भने कि भुरा चोरको कि लुटेराको कि कुनै नराम्रो संज्ञा दिने गरिन्थ्यो गाउँमा । त्यसको चपेटामा रोजगारीको सिलसिलामा पहाडी क्षेत्र पसेको  धेरै दिलखुसहरू परे तर मुद्दा कहाँ पुग्यो थाहा छैन ।

कुनै बेला चुलाचुलीमा नाम चलेको मुम्फुली व्यापारी हुन् बद्री बाजे । कहिले मम्फुली बेच्दै, कहिले धान धोया गर्दै त कहिले तरकारी फलफुल भेलाउँदै । उनी चुलाचुलीमा नपुगेको नघुमेको सायदै ठाउँ होला । उनलाई नदेख्ने नचिन्ने सायद कमै थिए होलान् त्यस बेला चुलाचुलीमा । अहिले उनकै पेसालाई पछ्याउँदै पछ्याउँदै विगत पन्द्र वर्षदेखि निरन्तर कुल्फी, फलफूल र तरकारी बेचिरहेका छन् । उनको कान्छा छोरा राजकुमार सहानी ‘माझी’ उर्फ दिलखुस भैया ।

सप्तकोशी नजिक भारतको दरभंगा जिल्लामा स्थायी बसोबास रहेका उनी हाल दमक किराँत चोकमा दुई छोरा, एक छोरी, आमा र श्रीमतीसँग अस्थायी बसोबास गरिरहेको छन् । छोराछोरीको पढाइका कारणले गर्दा गाउँघर पुग्ने छुट्टी कमै मिल्छ राजकुमारलाई । छुट्टी मिलिहाले पनि आफूसँग जोडिएका मान्छेको पेटले, घर भाडाले, छोराछोरीको स्कुलको फि ले छिट्टै बोलाउछ नेपाल उनलाई । पुरानो साइकल पछाडि कुल्फी राख्ने बट्टा । जुन बट्टाभित्र २०० देखि २५० सम्म कुल्फी अटाउँछन् । उनी दिउँसो व्यापारमा हिँड्नका लागि बिहानैदेखि बदाम, चिनी, पानी लगायत्को कच्चा पदार्थ हालेर मिठो कुल्फी तयार गर्छन । उनलाई कुल्फी तयार गर्न करिब चार घण्टा लाग्छ र जब मान्छेहरू गर्मीले ओत लाग्छन् या चिसो पानी खोज्न थाल्छन् । तब चिसो मिठो दिलखुस कुल्फी लिएर पुग्छन मान्छेका घरघर, चोकचोक, स्कुलस्कुल, आँगनआँगन ।

कुनै बेला मधेसी र पहाडीको मुद्दा चर्किरहेको थियो । त्यस बेला मधेसी जस्तो देखिने वा भाषामा त्यस्तो छनक देखियो भने कि भुरा चोरको कि लुटेराको कि कुनै नराम्रो संज्ञा दिने गरिन्थ्यो गाउँमा । त्यसको चपेटामा रोजगारीको सिलसिलामा पहाडी क्षेत्र पसेको  धेरै दिलखुसहरू परे तर मुद्दा कहाँ पुग्यो थाहा छैन ।  उनको पेसा भने निरन्तर चलिरह्यो, चलिरहेको छ । मध्यदिन १२ बजेको घाममा आफ्नो पुरानो साइकलको पाइडल पेलेर १०, २०, ३० को कुल्फी बोकेर करिबकरिब १५र१६ किलोमिटर चक्कर काटदा दैनिक २०००-२५०० सम्म आम्दानी गर्छन । मौसम परिवर्तनसँगै उनको पेसा परिवर्तन हुन्छ र जहाँजहाँ उनी कुल्फी बेच्दै पुगेको हुन्थे, त्यहीँबाट तरकारी फलफूल उठाउँछन् ।

एक समय राजकुमारलाई बेरोजगारीले लखेट्दै आफ्नै देश अर्थात भारतको मुम्बई पुर्‍यायो । काम धेरै, तलब थोरै फेरि बिरक्तिएर उनी विदेश अर्थात नेपाल फर्किए र थाले आफ्नो व्यवसाय एउटा साइकलमा । नेपाल भन्दा भारत धेरै ठूलो छ, अझै रोजगारी पनि नेपाल भन्दा राम्रो होला उता । किन नेपाल बस्नु हुन्छ भन्दा उनी भन्छन्, ‘मलाई आफ्नो देश भन्दा नेपाल राम्रो लाग्छ, यताको हावापानी राम्रो छ, धनी गरिबमा भेदभाव छैन । उता कसैले गाउँमा तीन तले घर बनायो भने वरिपरिको छाप्रोको उठिबास हुन्छ । कमसेकम यहाँ त्यो त छैन । सबैले आफ्नो–आफ्नो सुतीखेती गर्न पाको छ । यहाँका मान्छे राम्रा छन्, उनले यसो भनिसक्दा नसक्दा करिब १६/१७ वर्षको एउटा केटा जो मातेको जस्तै देखिन्थ्यो । उसले ओ धोती भैया खै २० को कुल्फी देऊ त भन्यो । उनले मुस्कुराउँदै मैले त धोती लगाएको छैन है हजुर भने । ग्राहक गइसकेपछि व्यापारको आफ्नो अनुभव मलाई यसरी सुनाउँछन् – यो मेरो जागिर होइन, पेसा हो । यहाँ मलाई कसैको करकाब छैन। मन लागे गर्छु, मन नलागे गर्दिन। व्यापार गर्दै जाँदा व्यापारमा दोस्ती हुन्छ, दोस्तीमा कुस्ती पनि हुन्छ, रिसाउनु हुँदैन । सबै कुरामा अनुशासन चाहिन्छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...