डा. नवीनबन्धु पहाडी

नशा  र मदिरा सायद पर्याय नै हुनुपर्छ । मदिराको नशामा लठ्निहरूले अनुभव गर्ने विषयलाई आजसम्म उतिसारो प्रेम गर्न सकिन । तर, एउटा नशा भने मेरो रगतमा नभएर मस्तिष्कमा भरिएको छ, त्यो हो अक्षरहरूसँगको अतिशय प्रेमाशक्ति । यति प्रेमाशक्तिले मलाई संसार बुझाएको छ । मान्छे र मान्छेभित्रको मानवता पढाएको छ । दिलका गहिरा गर्तहरूमा गुढस्थ रहस्यहरूको ऐखम काट्न, त्यसको अन्तःस्थ गर्भगृहमा बाँकटे हान्न र मर्महरूसँग सङ्क्रमित बन्न सघाएको छ । यस्तो लाग्छ कि अक्षरहरू छन् र म छु । 

उस्तै उस्तै हुन् मेरो अक्षरप्रेम र मैले मान्छेहरूमा देख्ने मदिरा प्रेम वा सत्तापिपासुहरूमा उम्लिरहने सत्ताप्रेम । मसँग भने न सत्तास्वाद छ, न वासनात्मक लिप्सा । धन्न प्रकृतिले बाँच्ने एक सर्को मायाको तिर्खा पोखिदिएको छ, अक्षहरूसँग जो मेरा लागि जादुको पेण्डुराको भाँडो हो, जहाँबाट जे चाह्यो त्यो निक्लिरहन्छ । मदिरा त्यो हो जो मेरो अनुभूतिभन्दा निकै पर छ । वास्तवमा गाँजा, भाङ, मदिरा जे सेवन गरिन्छ, मादकताकै लागि गरिन्छ । सत्ता अजको युगको अर्को नशा हो, जसको नशा संसारका जुन कुनै मदभन्दा कम छँदै छैन ।

हरिवंश राय बच्चनको एउटा कविता म केही दशकदेखि हर नेपाली  संगोष्ठीहरुमा व्यक्त अव्यक्त अनुभूति गरिरहेको छु ।

यम आएका साकी बनकर साथ लिए काली हाला ।
पी न होस मे फिर आएगा सुरा विसुध यह मतवाला ।
यह अन्तिम बेहोसी अन्तिम साकी अन्तिम प्याला ।।
पथिक प्यार से पिना इसको फिर नमिलेगा मधुशाला ।।
(मधुशाला)

एक मदिरावाज जसले हर सभा समारोह र गोष्ठी संगोष्ठीहरुको अन्तिम लक्ष्य ऊ विचारवाहक भएर आएको सोच्दैन । मधुशाला आएको सम्झन्छ । आयोजनको अन्तिम लक्ष्य नै सुरापान हो । उच्च ओहोदाधारीदेखि भारबाहकसम्म नै मदिराको तालमा बैठकहरू आयोजना गरिन्छ र निर्णयहरू त्यसैको उन्मादमा हुनेगर्छ । त्यसैले आजकल विशेष महत्त्वशाली बैठकहरू तारे होटेलका नीला बल्बहरूका झिलिमिलीसँगै आरम्भ हुन्छन् र अन्त्य पनि । न  मङ्गलाचरण, न पूर्णता स्तुति । सधैँ आलोकाँचो, सधैँ कचपल्टिलो । हाम्रा राजनैतिक समयरेखा पनि एक मदिरावाजले सोचेजस्तै र हरिवंश राय बच्चनको काव्याभिप्राय जस्तै छ । पाए अहिल्यै सिनित्त पिइदिऊँ सत्ताको अमृत, भोलि के थाहा पाइन्छ कि पाइँदैन ? के थाहा भोलि उज्यालो हुन्छ कि हुँदैन ? के थाहा अर्को दिन आफ्ना लागि उदाउँछ कि उदाउँदैन ? त्यसैले पनि हाम्रा राजनीति सधैँ मदिरामय, सधैँ गन्धा र सधैँ निकासविहीन लागिरहेको छ । 

सर अर्नेष्ट बेमले भनेका थिए, 'विपत्ति खोज्ने सर्वत्र त्यसलाई पाउने समस्याहरूको गलत उपचार गर्ने र अनुपयुक्त चिकित्सकीय उपचार गर्ने कलाकारिता नै राजनीति हो ।' नेपालको राजनीतिलाई हामीले पर्यवेक्षणीय नजर लगाउने हो भने यो अनौठो परिदृश्य आँखै अगाडि नाचिरहेको छ । भीमसेन थापाकालीन समयदेखि परहस्त नियन्त्रकको मदारी नाच पढिरहेका र हेरिरहेका हामी नेपालीको नियति आज ओलीराज हुँदै देउवाराजसम्म यथावत् छ ।

असमयमा र अकारण भीमसेन थापाले मृत्युवरण गरे वा गराइयो । इतिहासले भनेका अनेक तर्कहरूको अझै प्रमाणीकरण हुन बाँकी छ । त्यसपछिका शक्तिका उदय र अस्तका लागि अज्ञात आशीर्वादका उतारचढावहरू चलिरहे । राणाहरू अङ्ग्रेजको बलियो आडका कारण टिकिरहे, उता राणपूर्व उनीहरूका प्रतिद्वन्द्वी फ्रान्सेली धूरीसँग आड खोजेकै कारण भीमसेन थापालाई दुर्नियति गराए । 

जर्ज अर्वेलले भनेका थिए कि 'राजनीति गर्नेहरूलाई असत्य सत्य लाग्न थाल्दछ, उसले हत्या स्वाभाविक र सम्मानित देख्न थाल्दछ ।' त्यस्तैदेखे पश्चिमाहरूले र गरे - भीमसेन थापाको हत्या । उसो त राणाहरूले गरेका सुब्बा कृष्णलाल अधिकारीदेखि  दशरथ, गङ्गालाल, धर्मभक्त, शुक्रराज लगायत अनेक नागरिकहरूको कत्लेआम मात्र नभएर प्रजातन्त्रकालमा मित्रमणी आचार्यसम्मका हिंसामा सबैले सम्मानित काम भनेर ठम्याएकै छन् । पञ्चायतकालमा दुर्गानन्द झादेखि राम लक्ष्मणसम्म र रत्न वान्तवादेखि सरोज कोइरालासम्मका अस्वाभाविक मृत्यु शृङ्खलासम्ममा जस-जसका सहभागिता छ, उसउसले आफ्नो गलत सिद्धान्तलाई सही, असत्य यात्रालाई सत्य र हिंसाजन्य परिघटनालाई सम्मान्य दर्जा दिइरहे, दिइरहे । 

आज संसद्को कत्लेआम गर्ने ओली र सत्ताको समय थप्ने प्रचण्ड, देउवाहरूको कुतसित मनोविज्ञानमा एकै तर्क र दम छ सत्ताको आयुसँग तर मार्ने दुराशा र पुनरोदयको दुःस्वप्न जसका लागि प्रचलित कानुनहरूको हत्या, अपव्याख्या र हास्यास्पद तकौषधिमा मदमस्त छन्– सत्तामदहोसी मनुवाहरू ।

२०४६ सालको आन्दोलन र त्यसका पक्ष विपक्षमा तर्क र बाहुबल प्रयोग भएका थिए । व्यक्तिहत्याका शृङ्खला पनि उस्तै उत्तिकै सलबलाए । भन्नेहरूले त भनेकै थिए कि 'पञ्चायतको अन्त्य सबै समस्याहरूको समाधान हो तर राज्यले गर्ने हत्या र सङ्गठित संस्थाहरू (एक किसिमको राज्य) ले गर्ने हत्या उस्तै रहिरहे । प्रजातन्त्रका सेना-प्रहरीले बोक्ने गोलीले पनि नागरिकको ज्यान उस्तै गरेर लिँदो रहेछ, जसरी राणा वा पञ्चायतका प्रहरीले बोक्ने गोलीले ज्यान लिनसक्थ्यो । कृष्ण सेन इच्छुकको ज्यान सुरक्षा गर्नुपर्ने प्रजातान्त्रिक राज्यले जसरी ज्यान लियो र भोलि राज्य चलाउँछु भन्नेहरूले (आज चलाइरहेका छन् र चलाउन रुवाबासी गरिरहेका छन् ) मुक्तिनाथ अधिकारी तथा पं.नारायणप्रसाद पोख्रेलहरूको अकारण ज्यान लिएर हत्याको उत्सव उस्तै उस्तै न मनाएका थिए  । 

अनि जर्ज अर्वेलले भनेको सत्य यहाँनेर पुष्टि भएकै छ ।  राजनीतिमा केही मूर्खहरूले अर्को मूर्खलाई सधैँ एक्लाइरहन सक्छ र अर्को प्रतिभाशाली छ भने त्यसलाई खेदो खनिरहन्छ भन्ने पनि कतै पढेको थिएँ । यहाँनेर मूर्खहरूको संयोजनको जोड घटाउको छताछुल्ल पटाक्षेपलाई भनिरहनै पर्दैन । कहिले महन्थहरुको उत्सर्जन पनि प्रिय हुन्छ र कहिले असल विचार पनि घिन लाग्छ महोदयहरूलाई । 

देशमा मृत्यु आतङ्कको त्रासदीय वितण्डा चलिरहँदा हामीले सत्तामा निदाइरहेका निरोहरूलाई देख्यौँ, सत्तारुढ हुन खुट्टा उचालिरहेका केहीथान निरोहरूका बहुवचन पनि देख्यौँ । कथाले भन्छ कि रोमको सहरमा मूर्ख राजा निरो थियो र उसले प्राचीन सहर जलिरहेको कथा सुनेको थियो । पूरै सहर जलिरहेको दारुण दृश्य कथाकारले उसलाई सुनाएको थियो । कथाले उसलाई यति प्रभाव पारेको थियो कि ऊ त्यो कहालीलाग्दो दृश्य हेर्न आतुर भयो । मूर्खतापूर्ण उत्साहको चरम उन्मादमा पुगेपछि उसले पूरै सहर आगो लगाउने आदेश गरेको थियो र आगाका लप्काहरू उसलाई फूलजस्ता लागेका थिए । आम नागरिकका चित्कारहरू उसलाई सङ्गीतमय भएका थिए । त्यसैको आनन्दमा निरोले आफ्नो मन परेको बाँसुरी झिकेर बजाउन थाल्यो र एक्लै कौसीमा निस्केर नाच्न थाल्यो । जतिबेला नागरिकहरू दारुण चित्कार गरेर छट्पटिएका थिए, त्यतिबेला निरो सङ्गीतमा निमग्न थियो।  यस्तो लाग्थ्यो कि उसमा एक किसिमको सत्ता उन्मादको उत्सवमा थियो । सहर खरानी भइरहँदा ऊ पागलपनको पराकाष्ठामा थियो । 

कथाले भन्छ कि निरोको अन्त्य कारुणिक थियो । आगो मुटु कमाउने सिरेटोका लागि वरदान हो तर त्यही आगो एकैपटक शरीर तताउन छालामै लगाउनु भनेको आत्महत्या हो । निरोलाई पनि अन्त्यमा त्यसै भयो । जब आगो सहर निलेर खरानी बनाउँदै  दरबारमा प्रवेश गरेको थियो । निरो झसङ्ग ब्युँझिएर, त्यही आगोमा हाम्फालेर आत्महत्या गरेको थियो ।  

अब नेपाली राजनीतिमा त्यो परिघटना बिम्बपरक नै मानौँ कि अहिले देशमा आगो लागेको छ । देशभर मृत्युको डढेलो लागिरहेको छ । रोमका जनता सरह नेपाली आम नागरिक मृत्युरुपी डढेलोमा परेर चित्कार गरिरहेका छन् । निरो सिंहदरबारमा बसेर सत्ताको बाँसुरी धुन फेरेर बजाइरहेको छ । निरोका बहुवचनहरू सत्ताको तर मार्न खुट्टा उचालेर विदेशी इशारामा नाचिरहेका छन् । आगो जलिरहेको छ । थाहा छैन, यो ज्वालामा  कुन कुन निरोहरुले आत्महत्या गरेका हुनेछन् । आत्महत्या निर्वाचन निमोठेर पनि हुन्छ, आत्महत्या विचारको सर्वनाश गरेर पनि हुन्छ र हुन्छ आफ्नालाई सर्वात्मा हिरो र अर्कालाई किरा देखेर पनि हुन्छ । ठिक यस्तै यस्तै भइरहेछ गणतन्त्रको ताण्डवमा । सत्ताको मधुशालामा रम्ने-रमाउनेहरू सधैँ मदहोस् बन्ने रहेछन् । होस गुमेकै आधारमा कहिले अल्पायुमै संसद्को अन्त्यको घोषणा हुन्छ र हुन्छ कहिले आयु लम्ब्याउने तानाबानाहरू । फरक यत्ति हो दुवै मदारीहरू हुन् । चटक बोकेर हिँडिरहन्छन् सडक सडक र डमरु अर्कै कोठाबाट बजिरहन्छ, डिमडिमठिम । सडकमा तमासा चलिरहन्छ । मदारी मधुशालाको मदहोसमा छ ।  बाँदर छमछम नाचिरहेकै छ, छमछमछम । 

देशको ठुलो मधुशाला बन्छ, सिंहदरबार । वास्तवमै त्यहाँ पुगेका स्यालहरू सिंहझैँ सत्ताकै मदले लट्ठ भइदिन्छन् । तिनका घोषित अघोषित वचन, व्यवहार र निर्णयले नै प्राचीन निरोहरू बिर्साइदिन्छ । सत्ताको नशामा चुर चुर भएर समयको आँधीमा आगो लगाइदिन्छन् र निस्कन्छ कहिले २००७, कहिले २००३६, कहिले २०४६ र २०६२ का अग्निकाण्डहरू । अनि देखिन्छ तमाम देश परदेश नै भट्टीपसल र कुर्ची बनिदिन्छ नशा । आम नागरिकको भइदिन्छ दुर्दशा र दशक दशकमा मदारीहरू नशामद आग्निलप्प्कामा जल्न बाध्य छौँ हामी । 

र, अन्त्यमा जीवनको अन्तिम समाधि मृत्यु र आगो नै हो । आगो अहिलेका सब सामाजिक, राजनैतिक फेहरिस्तहरू नयाँ आगोको धुवाँ पुतपुताउनकै लागि भइरहेको सम्झिरहेको छु । हिन्दी कवि  दुष्यन्त कुमारको एक कविता ः

सिर्फ हङ्गमा खडा करना मेरा मक्सद नही
सारे कोशिस है कि ये सुरत बदलनी चाहिए
मेरे सीनेमे नही तो तेरे सीनेमे सही
हो कहीं भि आग, आग जलनी चाहिए ।।

अक्षर आवास, धादिङ

 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।