मलिषा याक्थुङ्बा लिम्बू

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई कर्मथलो बनाएका लेखक मलिषा याक्थुङ्बा लेखन/सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न छन् ।

‘परमेश्वरा, तिमी इङ्वा गंगा पाहामाछा तितेमाछा असलामाछाकी धनी तिम्रा आसापासा हिँड्ने डुल्ने हामी मूर्ख मनुक्खे, आज शुभदिन शुभबार पारी चोखो मुखमा पान सुपारी, ल्वाङ्, मरिच, नाना नैवेद्य गरिकन तिम्रो सेवा गरिरहेछौँ परमेश्वरा । तिमी इङ्वा गंगा तिम्रा आसमा रहेका तितेमाछा शिकार गरी हिँड्दा तिम्रो काणबाण छाँया जोगाइ तिमीबाट रहल जुठा कुरा हामी मान मनुक्खेलाई दिलाई दिनु भनी यस इङ्वा गंगाको खुङ्खोला मूलका ठेक्केदार तथा सम्पूर्ण इङ्वा नदी आसपासका ठेक्केदारबाट दस औँला जोडी नमस्कार गरी यसमूलबाट एकसय पचास धार्नी तितेमाछा हामीलाई उपलब्ध गराइदिए तिमी इङ्वा गंगालाई एकरंगे मेःन्दाक् बाख्रा पाठा यहाँ ल्याएर भोगबली समेत गरी दिनेछौँ, शुभवार तिथिमिति मिलाई तिम्रो भाकल पूरा गर्नेछु भनी बाह्र शिकारी चलाई हिँड्ने म पूजारी चिदानन्द बानियाँ दस औँला जोडी नमस्कारी गर्दछु, परमेश्वरा ।’

माथिका शब्दार्पण तितेमाछा पहिलोपटक खुङ्गी (हक्र)मा पारिएपछि इङ्वाखोलालाई बक्सौनी गरेको खुङ्खोला मूलका ठेक्केदार चिदानन्द (चिन्तामणी) बानियाँका भाका–बोलीहरू हुन् । सिङ्गै केराको पात बिछ्याई बाँसका मसिना लिङ्गोमा रातो कपडाको ध्वजा बनाई दायाँबायाँ रोपेर केराको पातमा तितेमाछा, पान सुपारी, ल्वाङ्, नैवेदादि राखी अर्पण गर्ने परम्परागत फलाक्ने पवित्रमुन्धुम हुन् । कुरो २०७५ साल भदौ १४ गते मध्यान्हको हो । म र भवानी तावा क्यामेराहरू लिएर तेही खुङ्खोला दोभानको मूलमा पुगेका थियौँ । जुन मूलमा चिन्तामणी (चिदानन्द) बानियाँ र कान्तप्रसाद गिरीहरू थिए ।

पाःन्थःर् जिल्लाको याङ्वारक गाउँपालिका र ताप्लेजोङ् जिल्लाको सिदिङ्बा गाउँपालिका सिमानामा बग्ने इङ्वाखोला (इन्द्रावति)मा पाइने तितेमाछा र तिनका अवस्थाबारे रहेको छ । इङ्वाखोला तिम्बु पोखरीको निकास भएकाले पनि त्यहाँका तितेमाछाको लोकप्रियता छुट्टै महत्वको छ । हुन त अन्य खोलाहरूमा तितेमाछा पाइएता पनि यहाँको जस्तो नामुद र महत्ता छैन । तितेमाछा इतिहाससँग जोडेका किपटिया याक्थुङ् जाति मध्ये माङ्मु र पेघा थरीहरू पर्छन्, यस भेक (इङ्वाखोला)मा । नेपाल एकीकरणको नाममा कथित लिम्बूवानलाई अविजित भूमिमाथि सन्धिगरी लालमोहर ताम्रपत्र दिँदासमेत तितेमाछा उल्लेख छ भने तितेमाछा कहिलेदेखि मार्न शुरू गरेका हुन् ? यकिन छैन तर पञ्चायतकाल वि.सं. २०३९ सालमा फलैँचाका तत्कालीन प्रधानपञ्च श्री भीमप्रसाद माङ्मुले माछामार्न ठेक्का लगाई शुरू गरेका थिए, भनिन्छ । यही सालदेखि तितेमाछा मार्नका लागि वार्षिक ठेक्काको प्रचलन गर्दै हालसम्म अद्यावधि छ । 

‘पहिले इङ्वाखोलामा १६ वटा मूलहरू थिए र ति सबै मूलहरूबाट पाँचसय धार्नी न्यूनतम् तितेमाछा पर्ने गर्दथे तर अचेल पाँचसय धार्नीको स्थानमा सय धार्नी पर्न सक्दैनन’ ठेक्केदार कान्तप्रसाद गिरी दुखेसो व्यक्त गर्छन् । उहाँको आधारमा पहिले–पहिले हरेक मूलमा अँटि–नअँटि तितेमाछा फूलपार्न उभौली आउने गर्दथे र फुलपारी सकेर उधौली माछाहरूलाई थापी सकेपछि गाउँभरी विक्रि गर्दा पनि बिक्री हुन नसक्ने अवस्थाका हुन्थे । अचेल त्यसो नभएर बाँड्न समेत सकस भएको र मागपनि अत्यधिक भएको कारण ठेक्का सञ्चालकले बाध्यतावश फोन स्वीचअफ गरेर बस्नुपर्ने अवस्था आएको सुनाउँछन् किनभने सबैको मागअनुसार तितेमाछा दिनसक्ने स्थिति छैन ।


तस्वीरः मलिसा याक्थुङ्बा लिम्बू


पहिले १६ वटै मूलमा अत्यधिक तितेमाछा पर्ने गर्दथे । अचेल तिनोटा मूलमामात्र तितेमाछा आउने गर्छन् । १३ वटा मूलमा माछा आउदैनन् किनकि ति मूलहरू बाढी, पहिरोले पुरै विस्थापन गरी दिएका छन् । लुङ्घोङ्को मूल भीरबाट खसेको पहिरोले पुरीदिएको छ भने प्रायशः मूलहरूमा बाढी पसेर नष्ट भएका छन् । प्राकृतिक प्रकोपको कारणले तितेमाछाहरूको फुलपार्ने मूलहरू विस्थापित हुँदै माछा उत्पादनमा घट्दै गएका छन् । यसरी प्राकृतिक प्रकोपका कारण तितेमाछा घट्दै गइरहेको अवस्थामा झनै हिउँद लागेपछि खोलामाफियाहरूले करेण्ट लगाएर तितेमाछा मार्नु अझै ठूलो समस्या उभेको छ । ठेक्केदार कान्तप्रसाद र चिदानन्दले भने ‘करेण्ट लगाउने नयाँ चलनलाई बन्देज लगाउनु हो भने सबैको तितेमाछा खाने रहर पूरा गर्न सकिन्छ । यहाँको तितेमाछाको माग अमेरिका, बेलायत, जापान, भारत जस्ता हरेक मुलुकबाट आउँछ तर तितेमाछालाई करेण्ट लगाएर मारेर सखाप पारिदिएपछि उक्त माग पूरा गराउन त के ? गाउँका दाजुभाइहरूसँग बाँडेर खानै गाह्रो भएको छ । तसर्थ करेण्ट लगाउन बन्देज सबै मिलेर गर्नु पर्‍याे ।’ कान्तप्रसाद गिरीले थपे ‘मैले आफ्नो पैसा खर्चगरी तमोर एफएममा बन्देजको लागि सूचना समेत बजाएँ तर यसको वास्तै गरेन । किनकि करेण्ट लगाउनेहरू प्रहरी प्रशासन, नेता र ठूलाबडाहरूसँग मिलेर अटेर गरी तितेमाछा मार्ने गर्दछन् । अब कसो गर्दा यिनीहरूलाई रोक्न सकिन्छ ?’ अर्को ठेकेदार चिदानन्द बानियाँ पनि थप चिन्ता व्यक्त गर्छन् । उनका आधारमा ‘करेण्ट लगाउनेहरूलाई कानुन बनाएर रोक्न सक्नुपर्दछ, तितेमाछाका मूलहरूलाई हिउँदमा सफा र जीर्णोद्वार गर्नुपर्दछ र कानुन नमानी करेण्ट लगाउनेहरूलाई जेलसमेत हाल्न सक्नुपर्दछ । यसोगर्दा १६ वटै मूलहरूमा विगतका झैं पाँचसय धार्नी न्यूनतम आउन सक्छ ।’ यसरी वि.सं. २०३९ सालदेखि वैधरूपमा ठेक्कागरी स्थानीय सरकारको निगरानीमा तितेमाछा मार्ने प्रचलन बसाएको इङ्वाखोलामा करेण्ट लगाएर माछाहरूलाई नष्टगर्नु छोटेराजाहरूको दादागिरी अथवा खोलामाफिया मान्न सकिन्छ । 

लिम्बूवानको सन्धिताका प्राप्त लालमोहर ताम्रपत्रमा समेत उल्लिखित तितेमाछाको ऐतिहासिकतामाथि धावागरी नष्ट गर्ने प्रवृत्तिहरू भनेको इङ्वाखोलाको जैविकता विरुद्धमा छन् । यस्ता जैविकता नष्ट गर्ने खोलामाफिया छोटेराजाहरू, त्यसक्षेत्रका प्रहरी प्रशासकहरू, नेताहरू र ठुलाबडाहरूलाई संविधानको स्वच्छ वातावहरणको हकको आधारमा संवैधानिक सजाय गरिनुपर्दछ । प्राकृतिक रूपमा दुवाली फर्काएर मार्नु, जाल हान्नु, खुङ्गी थाप्नु र सामान्य गाउँले विष लगाउनु जैविक सन्तुलन मानिन्छ । तर करेण्ट लगाउनु र रसायनिक विषादीहरू लगाउनु भनेकाृे जैविक सन्तुलन मान्न सकिँदैन किनकि यसबाट मारिएका माछाहरू खानयोग्य हुँदैनन् र पानी समेत । वडापालिकाका अध्यक्ष देउकुमार योङ्हाङ् पनि तितेमाछा लोपहुँदै गएकोले चिन्तित छन् र हिउँदमा करेण्ट लगाउनाले नै तितेमाछा घटेर गएको वडाध्यक्ष स्विकार्छन् । अब गम्भिर हेक्का राखेर यसप्रति सकारात्मक कदम गाउँपालिका अन्तर्गत चालेर तितेमाछा वृद्धि गर्नुपर्दछ र स्थानीय रोजगारमा आम्दानी बढाउनु पर्दछ । 

वास्तवमा इङ्वाखोलाको तितेमाछा ओखतीको रूपमा सेवन गर्ने गर्दछन् । यहाँको तितेमाछा खाएपछि जीउ दुख्ने, ढाँड दुख्ने, हातखुट्टा झमझम गरी दुख्ने, नशा सम्बन्धि दुखाई, उच्च रक्तचाप, सुगर, अल्सर, टाउको दुख्ने, रक्तअल्पता आदि जस्ता रोगहरूको निदान हुने विश्वास गर्दछन । अझै तितेमाछाको सुप चिसो समयमा खानु स्वास्थ्यवर्धक मानिएको छ । खाना अरुचि हुँदा रुचि जगाउने, पेटमा हुने रसायनहरूको कमी हुँदा वृद्धि गर्ने र मासीको वृद्धि साथै मानसिक उन्नति समेत गर्ने गर्दछ । यसर्थ तितेमाछाको महत्व र उपादेयता बढेर गएको हो । उधौली माछा खाँदा वास्तवमा तितो नै हुन्छ, तितेकरेला जस्तो । यहि तितो स्वाद नै जडिबडी ओखती हो । उभौली माछामा मुखसम्मै फुल बोकेको हुनाले यो माछा खाँदा तितोको सट्टा ज्यादै मिठो हुने गर्दछ । तिम्बुङ् पोखरीको साम्याङ्वा र युप्पावा (सूनचाँदीको रस) निकास सिधै इङ्वाखोला भएर बग्दछ र साम्याङ्वा युप्पावाको लेउ खाने तितेमाछा स्वभावैले ओखती हुनुपर्दछ र अत्ति स्वादिष्ट हुन्छ । सायद यस्तो स्वादका माछाहरू पाउने विश्वकै एकमात्र इङ्वाखोलाको तितेमाछा नै हो । यो खोलाको पानीमा नुहाउने पिउने मानिसको धार्मिकमोक्ष हुन्छ, याक्थुङ् मुन्धुम अनुसार । इङ्वाखोलाको पानी ओजनदार भएकोले पक्कै पनि सुनचाँदीको रसपानी नै हो र यस्तो पानीमा पाउने माछा तथा तितेमाछाहरू स्वभावैले ओखती हुन् ।


तस्वीरः मलिसा याक्थुङ्बा लिम्बू


इङ्वाखोलाको पुराना र चर्चित मूलहरूमा लुङघोङ् मूल चारोटा, सिक्रे मूल दुईटा, खुङ्खोला मूल चारोटा, साप्लावा चुवानगाउँ मूल एउटा, इङ्वाओडार सिङ्देन् ठाडोखोला मूल दुईटा, मिवाखोला पावर हाउस मूल दुईटा र जौवारी बिरुवाको ठाडो खोला मूल एउटा गरी १६ वटा रहेका छन् । अचेल यी मूलहरू मध्ये कान्तप्रसाद गिरी र चिदानन्द बानियाँ अनुसार पावरहाउस, बिरुवा जौवारी, खुङ्खोला, सिक्रे, लुङ्घोङ्, साप्लावाको एक–एक मूलमा मात्र तितेमाछा आउने र आएपनि अत्ति कममात्रा आउने गर्दछन् । यी मूलहरू पनि पहिलेको जस्तो आएमा दुःखले पनि गाउँका सबै दाजुभाइहरूलाई विलो त पुग्ने थियो तर त्यस्तो गर्नेगरी पनि आउन सक्दैन । तितेमाछाका ठेक्केदार मचिन्द्र पेघाको सिक्रे मूल एउटा, साप्लावा मूल दुईटा र खुङ्खोला तिनोटा छन् । उहाँले पनि चाहिदो मात्रामा तितेमाछा पाउन सकी रहेका छैनन् । 

तितेमाछा वास्तवमा साप्मा (गडेडा) वर्गमा पर्दछन्, चालढाल हेर्दा । काभुले (काभ्रे), पैंया माछाहरूसँग पनि वर्ग मिल्दछ तर साप्मा, काभुले र पैया भन्दा पृथक स्वाद भएको र ओखतीको रूपमा प्रयोग भएको तितेमाछा मात्रै हुन् । साप्मा र काभुलेमाछा नखाने वाहुनक्षेत्री समेतले तितेमाछा खाने गर्दछन् कारण तितेमाछा जैविक ओखती र स्वादिष्ट माछामा पर्दछन् । तितेमाछा, जब इङ्वाखोला वहाव धेरै बढेर सङ्लो बन्दै जान्छ, तर्न नसक्ने अवस्थाको । पोहोर साल गएका भुराहरू माउँ भएर कुर (मूल)मा फूल पार्न लश्करका लश्कर बिटा–बिटा भएर आइपुग्छन् । कुर (मूल)मा जानकालागि पहिले भाले तितेमाछा जान्छन् । फूल पार्न हुने नहुने अवस्था बुझ्छन् र योग्य स्थान भयो भने सेतोपानी (भालेबीर्य) बगाइ पठाउँछन् । यही सेतोपानी खोलामा पुग्ने बित्तिकै फूल पार्न आँटेको तितेमाछा माउहरूले पछ्याउँदै जहाँसम्म सेतोपानी मूलपानीबाट निस्केको हुन्छ । तेहीसम्म एकआपसमा साथमा साथ गरेर कुर (मूल) मा पुग्छन् र टुङ्गिन्छन् ।  जानेक्रममा झारहरू माडेर बिटा (मुस्लो) ताँतले जान्छन् । कुनै केहीसँग नडराउँदैनन् र फर्कँदैनन्, फूल पार्ने मूलसम्म नपुञ्जेलसम्म । चाहे भीर, पहरा वा गेग्रेन् यात झाडी किन नहोस्, सेतोपानी निस्केको स्थानसम्म चढेरै पुग्छन् । यी समय समेत शुभवार शुभदिन भएको मानिन्छ । यसलाई उभौली भनिन्छ । कुरको क्षमताभन्दा बढी गएमा कुर (मूल)मा अँट्दैन र फर्कन्छन् । यीनिहरूलाई तत्काल थापेर मार्छन् । यी माछाहरू सारै मिठो र स्वादिष्ट हुन्छन् । जब कुर (मूल)मा छिरेका पोथी तितेमाछाहरूले सातादिनसम्म फूल पार्छन् । फूल पारी सकेर माउहरू खेल्दै–खेल्दै ओरालो खोलानेर झर्छन । यसलाई उधौली भनिन्छ । उधौली तितेमाछाहरूलाई खुङ्गिमा थापिन्छन् र यो अत्यन्तै पुरानो प्रचलन पनि हो । किनकि यिनीहरू उम्केर गएमा अर्कोसाल साविक मूलमा फर्केर आउन सक्दैनन्, बिर्सन्छन् भन्ने जनविश्वास छ । यही माछा चैँ तितो हुन्छ । इङवा्खोलाको किनार र मास्तिर आसपास आदि स्थानहरूमा हुने थुप्प्रै भुल्के मूलहरूमा पनि योग्य स्थानमा मात्र फुल पार्न आउने गर्दछन् । यसरी तितेमाछा आउँदा फुलपार्ने मूलमा अँट्न नसक्ने अवस्थाभए फुलपार्ने तितेमाछाहरूलाई उभौली थापेर फुलसहित मार्ने पनि चलन छ । 

फूलहरूबाट केही दिनपछि मसिना भुराहरू निस्कन्छन् । यिनीहरू एकैदिनमा कालै बिटाका बिटा भएर खोलामा झर्छन् । खेल्दै–खेल्दै इङ्वाहुँदै काबेली र तमोरसम्म पुग्छन् । उमेर पुग्छन् । ठ्याक्कै एकवर्षका दिन ती भुराहरू माउ भएर पूनः तेही कुर (मूल)मा फूल पार्न आइ पुग्छन् । एवम् रीतले तितेमाछाको जीवनचक्र वर्षेनी चल्दछ ।

अब तितेमाछालाई वृद्धि गर्ने, मूलहरूको व्यवस्थापन गर्ने, करेण्ट तथा रसायनिक विष लगाउनेहरूलाई गाउँपालिकामार्फत कानुनी व्यवस्थापन गर्ने, पहिरो रोकथाम गर्ने, मोटररेबल सडकहरू खन्दा तथा बिजुलीका योजनाहरू बनाउँदा धेरै जैविकतालाई असर नपर्ने गरी खन्ने, जंगलहरू नष्ट नगर्ने कार्य गरेर तितेमाछाको वृद्धि गर्न सकिन्छ । बढ्नु भनेको सबैको भाग पुग्नु हो र देशविदेशमा बस्ने नेपालीहरूको मागबमोजिम पुग्न सक्नु हो । तर खोलामा करेण्ट लगाउने र रसायनिक विष लगाउने कार्य रोकिएन भने तितेमाछाको सत्यनाश भएर जैविक विविधतामा असर पार्दछ । मानव समुदायलाई नकारात्मक असर पार्दछ । सामुदायिक कानुनलाई नाघ्दै व्यक्तिको एक्लो खोलामाफिया भएर ‘तैँसाँड मैसाँड’ले कुनैकसैको डरविहीन यस्तो धन्दा गर्नु भनेको समुदायकै विष हुन् । समुदायको विष नभई समुदायको सल्लाह र निर्णय अनुसार परम्परागत तितेमाछाको व्यवस्थापन गरेमा १६ वटा मूलबाट पर्याप्त मात्रामा तितेमाछाको उत्पादन हुनेछ । अनिमात्र तितेमाछा वृद्धि भई यस व्यवसायबाट फलैंचाका धेरै घरहरूलाई प्रत्यक्ष रूपमा आर्थिक व्यवस्थापनको अवसर मिल्नेछ । तितेमाछाको मूल व्यवस्थापन गरी तितेमाछा वृद्धि गर्ने कार्य गाउँपालिका तथा वडापालिकाले ऐन बनाई लागूगरेमा यस क्षेत्रका समुदायको आर्थिक वृद्धि हुनेछ । 


तस्वीरः मलिसा याक्थुङ्बा लिम्बू


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मलिषा याक्थुङ्बा लिम्बू

लेखकबाट थप...