एजेन्सी - कप्तान ह्यारी केनको दुई गोल सँगै इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि ४–० को सानदार जित निकालेको छ । सहज जितसँगै इंग्ल्यान्ड अन्तिम चारमा प्रवेश गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

खेलको शुरूवातमै केनले गोल गरेपछि युक्रेन दबाबमा आएको थियो । युक्रेन काउन्टर अट्याकमा केही राम्रा अवसरहरू सिर्जेको थियो । तर, प्रतियोगितामा हालसम्म गोल नखाएको इंग्ल्यान्डको डिफेन्सले संयमित प्रदर्शन गर्यो र अर्को खेलमा पनि कुनै गोल खानु परेन ।

खेलको चौथो मिनेटमा नै कप्तान केनको गोलमा इंग्ल्यान्डले अग्रता लियो । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई केनले पहिलो टचमा नियन्त्रण गर्दै प्रहार गरेका थिए । उनको प्रहार गोलरक्षक बुस्कानलाई लाग्दै गोलमा परिणत भएको थियो ।

त्यस्तै २७ औं मिनेटमा स्टर्लिङको प्रहारलाई युक्रेनी डिफेन्डर क्रिस्तोभले रोकेका थिए । त्यसको दुई मिनेटपछि लुक शाको फ्रिकिकमा केनको हेडर पोस्टभन्दा माथिबाट गयो । ३३ औं मिनेटमा डेक्लन राइसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बुस्कानले मुस्किलले विफल पारेका थिए ।

३७ औं मिनेटमा युक्रेनले काउन्टर अट्याकमा बढाएको आक्रमणमा जिन्चेन्कोले गरेको अन्तिम प्रहारलाई मेसन माउन्टले रोकेका थिए । ४० औँ मिनेटमा शाको पासमा जेडन सान्चोको प्रहार पनि युक्रेनी किपर बुस्कानले विफल पारेका थिए ।

त्यस्तै दोस्रो हाफको सुरुवाती मिनेटमा नै ह्यारी मगाएरले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारेका थिए । शाको फ्रिकिकमा मगाएरले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसको ४ मिनेटपछि केनले व्यक्तिगत दोस्रो गोल गरे । शाले बायाँ विंगबाट दिएको क्रसमा केनले हेडरमार्फत गोल गरे । उनको हेडर गोलरक्षक बुस्कानको खुट्टा मुनिबाट गोल भएको थियो ।

६२ औं मिनेटमा केनले पेनाल्टी क्षेत्र नजिकबाट गरेको शक्तिशाली भली प्रहारलाई गोलरक्षक बुस्कानले डाइभ दिँदै विफल पारे । त्यसै बचाउबाट आएको कर्नरमा जोर्डन हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४–० ले अघि बढाए । माउन्टको कर्नरमा अनमार्क रहेका हेन्डरसनले सहजै हेडर गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गरे । वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले कर्नरबाट अर्को गोल थपेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ उन्मुख भएको थियो । अब इंग्ल्यान्डले फाइनल प्रवेशका निम्ति डेनमार्कको सामना गर्नेछ ।

इंग्ल्यान्डले अब सेमिफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले तेस्रो क्वाटरफाइनलको खेलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको थियो । र, सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो ।

खेलको शुरूवाती मिनेटदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको डेनमार्कले पाँचौ मिनेटमा अग्रता लिएको थियो । कर्नरमा गोल गर्दै अग्रता लिएको डेनमार्कले त्यसपछि केहि अवसर सिर्जना गरेको थियो । चेकले खेलमा फर्कने प्रयास गरेपनि गोलरक्षक बाधक बनेका थिए । पहिलो हाफको अन्तिम समयमा डेनमार्कले उत्कृष्ट टिम गोल गर्दै खेलमा अग्रता दोब्बर पारेको थियो ।

खेलको पाँचौ मिनेटमा नै डेनमार्कले थोमस डिलेनीको गोलमा अग्रता लिएको थियो । स्ट्राइगर लार्सनको कर्नसमा डिलेनीको हेडर भुइमा लाग्दै गोल भएको थियो । त्यसको दुई मिनेट अघि डिलेनीले नै आफ्नो पेनाल्टी क्षेत्रमा भल्दिमिर सौफालको प्रहार रोक्दै खतरा टारेका थिए ।

त्यस्तै, १३ औं मिनेटमा पिएर एमिल होएबिएरले दिएको पासमा मार्टिन डाम्सगार्ड केही ढिला बलसम्म पुग्दा भाच्लिकले नियन्त्रणमा लिए । २२ औं मिनेटमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले उत्कृष्ट बचाउ गर्दै अग्रता कायम राखे । मासोपुस्तको थ्रु पासमा होलेसको प्रहारलाई स्माइकलले अघि बढ्दै विफल परेका थिए ।

२७ औं मिनेटमा मार्टिन ब्रेथवेटले बाहिर प्रहार गर्दा डेनमार्कले अग्रता बढाउन सकेन । ३८ औं मिनेटमा डाम्सगार्डको शक्तिशाली प्रहारमा भाच्लिक बाधक बने । ४२ औं मिनेटमा भने डेनमार्क अग्रता दोब्बर पार्न सफल रहयो । जोकिम माहलेले बायाँ विंगबाट आफ्नो दायाँ खुट्टाको बाहिरि भागबाट दिएको क्रसलाई कास्पर डोलबर्गले पहिलो टचमा नै गोलको दिशा दिँदै २–० को अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमा नै चेकका लागि प्याट्रिक सिकले गोल गर्दै खेलमा फर्काए । सौफालको क्रसमा पहिलो टचमा नै सिकको प्रहार गोल भएको थियो । प्रतियोगितामा पाँचौ गोल गर्दै सिकले सर्वाधिक गोलकर्ता सुचिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग बराबरी पनि गरेका छन् ।

६२ औँ मिनेटमा वैकल्पिक फरवार्ड युसुफ पाउल्सेनको प्रहारलाई चेकका कप्तान टोमस सुचेकले रोकेका थिए । पेनाल्टी क्षेत्रभित्र बल रोकेपछि पाउल्सेनको खुट्टाले सुचेकको टाउकोमा चोट लागेको थियो । ६९ औं मिनेटमा भाच्लिकले पाउल्सेनको प्रहार विफल पार्दै खेल २–१ को स्थितिमा कायम राखे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा क्रेमेन्चिकको प्रयास पोस्टभन्दा निकै टाढाबाट गएपछि चेकको खेल बराबरी गर्ने सम्भावना सकिएको थियो । अन्तिम समयमा बाराकले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पनि बाहिरिएको थियो ।
दोस्रो हाफको सुरुवातमा नै चेकले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । त्यसपछि लगातार आक्रमण गरेको चेकले डेनमार्कको रक्षापंक्ति चिर्न भने सकेन । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि चेकले बराबरी गोल गर्न भने सकेन । अब सेमिफाइनलमा डेनमार्कले चौथो क्वाटरफाइनलको विजेता इंग्ल्यान्डसँग भिड्नेछ । अर्को सेमिफाइनल खेल भने इटाली र स्पेन बीचमा हुनेछ । क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई र स्पेनले स्वीजरल्याण्डलाई हराएको थियो । यो सँगै युरो कपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...