काठमाडौँ । पहिलोपटक मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा आगामी वैशाख ३ गतेदेखि सुपर लिग क्रिकेट टुर्नामेन्ट हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकाडेमी काँकडभिट्टाको आयोजनामा वैशाख ३ देखि १० गतेसम्म हुन लागेको टुर्नामेन्टमा राष्ट्रिय खेलाडी करण केसी र मेहबुब आलम र मञ्जित श्रेष्ठलगायत खेलाडीले खेल्ने भएका छन् ।

शिवशक्ति ग्रुप रसोइ झापा सुपर लिग क्रिकेट टुर्नामेन्टमा सहभागी टोलीले धमाधम राष्ट्रिय खेलाडी समावेश गर्न थालेका हुन् । विर्तामोडको बोस्टन ब्लास्टर्स क्लबले करण केसीसहितका खेलाडीलाई मैदानमा उतार्ने भएको छ ।

तीन वर्षअघि बिर्तामोडमा स्थापना भएको बोस्टन क्रिकेट एकाडेमीले जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदानमा उतार्ने योजना रहेको अध्यक्ष सोवित बाँस्तोलाले बताए । क्लबले मार्की खेलाडीका रूपमा समिर कार्की र आइकोनिक खेलाडीका रूपमा मिनास थापालाई टोलीमा अनुबन्ध गरेको  उनको  भनाइ छ । टोलीको कप्तानी सुरज खड्काले सम्हाल्ने उनले जानकारी  दिए ।

भद्रपुर राइजिङ किङ्सले मार्की प्लेयरमा रुपक बराल र आइकोनिक प्लेयरका रूपमा पूर्व राष्ट्रिय क्रिकेटर मञ्जित श्रेष्ठलाई खरिद गरिसकेको छ । टोलीमा एक राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधानअनुसार पूर्व राष्ट्रिय क्रिकेट अलराउण्डर मेहबुब आलमलाई अनुबन्धन गरिएको छ ।

भद्रपुरबाट अमित श्रेष्ठ, प्रेम सिंह, श्रवण यादव, सुमिरन राई, ग्रिसल पौडेल, सुजन घिमिरे, विवेक पोखरेल, अर्जोधी मल्लिक, आशिक राना मगर, विष्णु कामती, शेखर खड्का, मोविन अली, सञ्जीव तामाङ, मनिष कामती र प्रवीण पुरी खेल्दै छन् ।

त्यस्तै सुमन प्रसाईँ, विरु श्रेष्ठ र हितेन श्रेष्ठको विराट वारियर्सले मार्की प्लेयरमा अङ्कित सुवेदी र आइकोनिक प्लेयरमा पूर्वराष्ट्रिय खेलाडी सिद्धान्त लोहनीलाई सहभागी गराउने भएको छ । राष्ट्रिय खेलाडीका रूपमा अदिल अन्सारीलाई अनुबन्धन गरिएको टोलीले जनाएको छ । अन्य खेलाडीमा अभ्यास तिम्सिना, अर्जुन दाहाल, सोनु अन्सारी, नित्य खडोरिया, विपिन महतो, अनिल लामिछाने, अनिष लुइँटेल, विनोद राउत, शिवान्स बजगाईँ, सन्तोष कामी, सुमित नेउपाने, वसन्त चौहान, गौरव भट्टराई, रोहिन राई र आदर्श सरियालगायत छन् ।

प्रतियोगिताको विजेता टोलीले रु दुई लाख ११ हजार र उपविजेताले रु एक लाख ११ हजार पाउने छ । उपविजेताको पुरस्कार राशि काकडभिट्टाका सञ्चार उद्यमी तथा युवानेता बालकृष्ण थापाले प्रायोजन गर्नुभएको हो । आयोजक क्लबका अध्यक्ष हिमाल पोर्तेलले नेपालकै चर्चित र लोकप्रिय खेलाडी सम्मिलित हुने क्रिकेट टुर्नामेन्टले झापामा मात्रै नभएर प्रदेश नं १ मै रौनकता थप्ने बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...