काठमाडाैँ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन सुरु गरिएको छ ।  निर्वाचनलाई मध्यनजर गरेर दशरथचन्द नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिका अन्तर्गतका केही मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार मतदानस्थल र मतदान केन्द्रको सुरक्षा स्थितिका विषयमा जानकारी लिनका लागि अनुगमन सुरु गरिएको हो । डिलाशैनीको वडा नं २ र ३, दोगडाकेदारका वडा नं ४, ५, ७ र दशरथचन्दका ४ र ६ नम्बर वडाका मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहित जिल्ला सुरक्षा समितिका सदस्य, स्वास्थ्य कार्यालयका प्रमुख सहितको टोलीले मतदानस्थल, मतदान केन्द्र र स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । अनुगमनका क्रममा हालै पुनरवलोकन गरिएका मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी लिएको हो ।

पुनरावलोकन गरिएका निर्वाचन मतदानस्थल तथा केन्द्र चुस्त रहेको पाइएको जनाएको छ । यसका साथै सोही क्रममा विभिन्न स्वास्थ्य संस्थामा पनि अनुगमन गरिएको छ । उनले भने,“ अनुगमनका क्रममा केही स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि नभएको, कार्यालय व्यवस्थापनमा ध्यान नदिएको र खानेपानीको उचित प्रबन्ध नभएको समस्या देखिको छ, समस्या समाधानका लागि सम्बन्धित पालिका र समन्वयका लागि स्वास्थ्य कार्यालयलाई पनि आग्रह गरेका छौँ ।”

जिल्लाका अन्य मतदानस्थल र मतदानकेन्द्रको पनि अनुगमन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । बैतडीमा एक सय २९ ओटा मतदानस्थल र दुई सय पाँच मतदान केन्द्र रहेका छन् । यहाँ एक लाख ५१ हजार मतादाता रहेका छन् । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार