मनै त हो ।
०७३ सालमा मैलै एउटा घोषणा गरेँ । पाँच वर्षमा पाँच पुस्तक लेख्छु भनेर । त्यही घोषणा अन्तर्गत यही साउन महिनामा मेरो पाँचौ पुस्तक बजारमा आउँदैछ । त्यसअघि चारवटा पुस्तक निस्किसकेका छन् । त्यसबीचमा अरू दुईवटा पत्रकारिता र विकाससँग सम्बन्धित किताबको सम्पादन पनि गरेँ मैले । त्यस हिसाबले सातवटा किताबका लागि काम गरेँ आजसम्म ।
पत्रकारिता क्षेत्रमा छु, सत्ताइस वर्ष भयो यो पेशामा रमाएको । अहिले पनि छाडेको छैन तर पछिल्ला वर्षहरूमा म बढी समय पुस्तक लेखनमा नै केन्द्रित छु ।
एउटा भेटमा झर्रोवादी लेखक तथा बरिष्ठ साहित्यकार चूडामणि रेग्मीले भन्नुभयो -
तपाईंमा एउटा अनौठो क्षमता छ । त्यो आम पत्रकारमा छैन । नफुर्किनुहोस् । लेख्न नछाड्नुहोस् । मलाई थाहा छ, तपाईंलाई अगाडि बढ्न नदिने धेरै छन् । तैपनि हरेस् नखानुहोस् ।
०७७ सालमा चौथो पुस्तक एक दिन (समय कथा) यात्रा संस्मरण प्रकाशन गर्ने बेलामा अग्रज लेखक पुण्य खरेललाई किताबको पाण्डुलिपी हेर्न दिएँ । उहाँले केही समय लगाएर किताबको बारेमा भूमिका लेखिदिनु भयो ।
त्यहाँ लेख्नुभएको छ–
उहाँको यो कृति पढ्दै गएपछि मेरो उहाँप्रतिको दृष्टिकोण निकै अग्लो भयो । मैले त उहाँलाई एउटा अल्लारे पत्रकार ठानेको थिएँ, तर उहाँ त देश खाएर शेष भएको भनेझैँ हुनुभएको रहेछ ।
सोही पुस्तकको भाषा सम्पादक रहनु भएका मेरा मित्र शिव रेग्मी प्रणतको यो लेखाइ हेर्छु ।
लेखक मित्र तीर्थजी र मेरो एउटा चरित्र मिल्छ । लेखक भन्दा पाठक कहिल्यै जान्ने हुँदैन । लेखकले भन्न खोजेको कुराको अँिचम चुरो लेखकले नै जान्ने भएकोले पाठकले यसो भनेको हो भन्नु पाठकको दृष्टिकोण मात्रै हो । त्यो पाठकको एउटा बुझाइ मात्र हो । त्यसैले यसको बुझाइ पनि मेरो मात्रै हुन्छ । त्यसकारण यहाँका आलेखका बारेमा किताब प्रकाशन हुनुअघि टिप्पणी गर्नु आवश्यक लाग्दैन । किताब प्रकाशन भएपछि त्यसभित्रका आलेखका बारेमा भन्ने, लेख्ने र बोल्ने अवसर हामी सबैलाई छँदैछ ।
मलाई पहिलेदेखि नै लाग्थ्यो–
पढ्नु लेख्नु मनोरन्जनको विषय होइन । मनोरन्जनका लागि मात्र किताब पढ्नु पर्छ भन्ने मान्यता म राख्दिन किनभने किताब त समाजको ऐना जस्तो हो । किताब समाजको बदलिँदो चरित्र, इतिहास र वर्तमानको दस्ताबेज हो । सामाजिक अन्तर्विरोधको हल गर्ने माध्यम पनि हो यो ।
पत्रकार भएर कसरी यस्ता किताब लेख्नु हुन्छ ? कसरी समय मिलाउनु हुन्छ ? भनेर धेरैले सोध्छन्, त्यसमा म भन्छु–
एउटा पत्रकार भएपछि सिधा रिर्पोट बनाउनु मात्र जिम्मेवारी हुँदैन । गाउँ, सहर र समाजमा यस्ता विषयहरू छन्, जसलाई एउटा समाचारको शीर्षक भित्र मात्र समेट्न सकिँदैन । त्यस्ता हरेक विषयहरूलाई मसिनो गरी केलाउने हो भने किताब लेख्न सकिन्छ ।
मैले यसो सम्झेँ–
खोई यस्ता विषयमा कसले कलम चलाएको छ ?
अनि ममा लेख्ने जाँगर, आँट र साहस पलायो । ०७३ सालमा पहिलो पटक कतिपय पुराना लेख र समाचारीय सामाग्रीको संकलन, सम्पादन र लेखन गरें । पत्रकारिताका दुई दशकका अनुभव समेटेर पहिलो पुस्तकको रूपमा जीवनको गति नामको पुस्तक प्रकाशन गरेँ । लगत्तै ०७४ सालमा दोस्रो पुस्तक पूर्वको राजनीति निस्कियो । त्यसले अलिकति ख्याति कमायोे । पूर्वले नेपालको राजनीतिमा खेलेको भूमिकासहित इतिहासको सिंहावलोकनले एकप्रकारको चर्चा बटुल्यो ।
यी दुवै किताब समसामयिक लेखन र संकलनमा आधारित थिए । यसले मात्र साहित्य क्षेत्रको मलजल हुँदैन भन्ने मलाई थाहा थियो । बेलाबेला लेख्दै राख्दै गरेका कथाहरूलाई भेला ०७६ सालमा मनोनेट कथासंग्रह तयार पारेँ ।
त्यसले छुट्टै छाप छाड्यो । कथा विधामा मनोवैज्ञानिक शैलीको प्रयोगदेखि मनले बुझ्ने मनको भाषाको सञ्चार कसरी हुन्छ भन्ने विषयले पाठकमाझ खुल्दुली मच्चाएको महसुस हुन्छ । ०७७ सालमा चौथो पुस्तक एकदिन (समय कथा) यात्रा संस्मरण बजारमा आयो । र, ०७८ सालमा अर्को कथासंग्रह प्रकाशनको अन्तिम तयारीमा छु । मनको कैदी नामको ।
धरैले मेरो लेखनमा मनोवाद झल्किन्छ भन्छन् । मलाई लाग्छ–
मनले नै सबै कुरालाई नियन्त्रणमा राखेको हुन्छ । जसरी आँखाले मनको भाषा बुझ्छ । मनले अह्राएपछि आँखाले कुरा खोल्छ । उसले त केवल हेर्ने मात्र रहेछ । उसले हेरेको कुरालाई संग्रहित गरेर उसले मनलाई नै पठाउने रहेछ ।
हुनतः त्यतिबेला आँखालाई त रोएको मात्र देखिन्छ । तर, खासमा मन नै रोएको हुन्छ । मान्छेको मन नै रुन्छ, त्यतिबेला खासमा उसलाई अफ्ठ्यारो परेको हुन्छ । दुःख परेको बेला, चोट लागेको बेला, खोट लागेको बेला । जतिबेला पनि रुन्छ, मन । जतिबेला पनि झर्छ, आँशु ।
यतिबेला मन र आँखाको अन्तरसम्बन्धको खोजी गर्नु मेरो कर्तव्य हुन आउँछ किनभने मान्छेका मनका बारेमा कुरा गरेर न सकिन्छ, न उसका ब्यवहारबारे धेरै चर्चा गर्न सकिन्छ ।
किन किन मलाई यस्तो लाग्छ–
मान्छेको मनले जस्तै उसका आँखाले पनि काम गर्छन् । कर्तव्य पूरा गर्छन् र अधिकार जमाउन खोज्छन् । कहिलेकाँही अलिक बढी अधिकार मात्र जमाउन पनि खोज्छन् । त्यतिबेला आँखाले कर्तव्य र जिम्मेवारी बिर्सन्छन् । कहिलेकाहीँ आँखा निरीह पनि बन्छन् ।
शरीरका अरु अङ्गजस्तै आँखाले पनि धोका खान्छन् । त्यतिबेला आँखाले गलत सूचना प्राप्त गर्छन् र त्यही मनलाई पठाइदिन्छन् । मनले पनि धोका पाउँछ । त्यतिबेला मनले आँखालाई नै बढी विश्वास गरेको हुन्छ र मान्छेको मन दुख्छ ।
मान्छेले आफ्नो मनमाथि धेरै विश्वास गरेको हुन्छ । जसरी मनले आँखाको भर परेको हुन्छ । मान्छे त्यही आँखा र मनको सन्देशको पूरा भर पर्छ र लड्छ ।
भनिन्छ, आँखामा एउटा गजबको शक्ति हुन्छ । त्यो शक्तिको उसले कमै मात्र उपयोग गरेको हुन्छ । कतिपयको आँखाले शक्ति गुमाएको हुन्छ । जसोतसो उनीहरूले चस्माको प्रयोग गर्छन् र आफ्नो आँखाको गुमेको शक्ति फर्काउने प्रयास गर्छन् । त्यतिबेला त्यस्ता आँखाले गलत सन्देश पठाउन सक्छन् । मन पनि त्यसखाले भ्रमयुक्त सन्देशमा भर पर्न सक्छ । अन्योलमा पर्न सक्छ ।
म बेलाबेला मनलाई आँखाको शक्ति परीक्षण गर्न अह्राउँछु । मान्छेका आँखालाई बुद्धका आँखासँग तुलना गर्न खोज्छु । स्वयम्भूका दुई आँखाको बयान सुन्छु । कसैले गाएको गीत सुन्छु । स्वयम्भूका दुइटा आँखाले न्याय अन्याय छुट्याएर हेर्छ रे भनेको कतै लेखेको पढ्छु । अनि ती आँखाको अर्थ केलाउन पुग्छु । थाहा लाग्छ, एउटाको अर्थ प्रेम र अर्कोको शान्ति हो ।
मनलाई फेरि भन्छु–
अहँ... आँखाले कहिले पनि धोका दिँदैन । उसले देखेको कुरामा पनि विश्वास नगर्ने हो भने कसको कुरामा विश्वास गर्नु ? अनि कान ? कानको त भरै हुन्न । ऊ त उडुवा कुरा मात्र गर्छ । अरुले भनेको कुरा मात्र सुनाउँछ, ऊ । उसले आफैं देख्दैन, सुन्छ मात्र । सुनेको कुराको भर पर्नु हुन्न । कानलाई कसैले नचाहिँदो कुरा सुनाएको पनि त हुन सक्छ । काग कराएको बेला कान छाम्नु रे !
त्यतिबेला बरू आँखा खुल्लै हुन सक्छ । कसैले आँखामा पट्टी लगाएन भने सबथोक देखिन्छ । राति सुतेको बेला बाहेक आँखाले रामै काम गरेको हुन्छ । रातको त के कुरा गर्नु ? किनभने अँध्यारोमा त उल्लु मात्र जागेको हुन्छ । मान्छे उल्लु होइन । ऊ रातको धेरै भर पर्न सक्दैन । बरू दिनमै भएगरेका कामको भर पर्छ र आँखाको दृष्टि खोजिरहन्छ ।
मलाई यस्तो लाग्छ–
मन मुटुभित्र हुन्छ । मुटुको पत्रपत्रभित्र कसरी मन रमेर बसेको होला ? मुटु शरीरको अति नै संवेदनशील अङ्ग हो । यसमा चोट लाग्यो भने सिङ्गो शरीर नै ढल्छ । शरीरको मुख्य सञ्चालक भएको नाताले यसले निक्कै गौरव गर्दो नै होला । तर, यसले अझ सम्बेदनायुक्त बनाएर राखेको मनले कति घमण्ड गर्दो हो ।
मानिसहरू भन्छन् –
मनको मैलो धुन सकिन्न । जब मनमा मैलो लाग्छ, तब यसलाई धुने कुनै चीज बनेको छैन । न मनलाई साबुन पानीले पखाल्न सकिन्छ, न निर्मल कञ्चन पानीले नै । आफ्नै शरीरभित्र रहेको मनलाई चिन्न नसकेर सबैले समस्या भोगेका छन् ।
मन मुटुभित्र हुन्छ र मनभित्र चित्त । जतिबेला मान्छेले त्यो चित्तलाई छुन सक्छ, ऊ धेरै सफल हुन्छ । त्यही मान्यता भित्र मनको कैदी लेखियो ।
यो पुस्तक मन र कैदी शब्दको परिभाषित रूप हो । मान्छेहरुका मनमा उर्लेका भावना र विचारहरूको सङ्ग्रह हो । मनको कैदी पुस्तक त्यस्तो कथासङ्ग्रह हो, जहाँ मानिसहरूका इच्छा, कामना, अभिलाषा, रुचि, स्वभाव र प्रकृति झल्किन्छ ।
उनीहरूको अनुभव, इच्छा, क्रोध, विचार, संकल्प विकल्पलाई नियन्त्रित तथा परिभाषित गर्ने अन्तःकरणको अंश वा वृत्ति, नाक, कान, आँखा, स्पर्श, स्वाद आदिले प्रभावित पार्ने इन्द्रिय अन्तःकरण, चित्त, दिल वा हृदयको आवाज हो । जहाँ मानिसहरु कैदीसरह जीवन बिताउन बाध्य छन् । बिर्तामोड (झापा)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...