दुई वर्षअघि पारिवारिक असमझदारीका कारण राजपरिवार त्यागेका ब्रिटेनका राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ प्रकाशित भएको छ। विभिन्न १६ वटा भाषामा एकैसाथ प्रकाशित भएको आत्मकथा औपचारिकरूपमा सार्वजनिक हुनुपूर्व नै चर्चामा थियो।

उसो त बेलायती राजपरिवारका विभिन्न सदस्यहरूले यसअघि नै पनि आत्मकथाहरू नलेखेका होइनन् तर ह्यारीको आत्मकथाले राजपरिवारका विभिन्न किस्सा, प्रसंग तथा विवादित घटनाहरूबारे विस्फोटक खुलासा गरेकाले विश्वस्तरमा त्यसको चर्चा चुलिएको हो। 

आत्मकथाको सार्वजनिकीकरण १० जनवरीमा भएपनि त्यसअघि नै आत्मकथाको स्पेनिस अनुवाद चर्चामा थियो। पुस्तकमा ह्यारीले आफ्ना व्यक्तिगत कुराका साथै उनका बुबा तथा दाइसँगको सम्बन्धका अलावा राजपरिवारबारे पनि विभिन्न खुलासा गरेका छन्। उनले दाइ तथा बेलायती युवराज विलियममाथि थुप्रै आरोपसमेत लगाएका छन्। ४१६ पृष्ठ लामो आत्मकथामा ह्यारीले आफ्नो जीवनमा आएका विविध चुनौती तथा समस्यामाथि पनि प्रकाश पारेका छन्। त्यस्तै राजदरबारभित्रको आफ्नो हुर्काइ र अन्ततोगत्वा राजपरिवारसँगको आफ्नो सम्बन्ध विच्छेदसम्मका कुरासमेत आत्मकथामा समावेश छन्। 

यसका साथै उनले आफ्नी श्रीमती मेघन मार्कललाई शाही परिवारसँग समायोजन हुनु कठिन भएको समेत उल्लेख गरेका छन्। 

त्यस्तै, उनले अफगानिस्तानसँग युद्धका क्रममा २५ जना तालिबानी मारेको समेत दाबी गरेका छन्। पुस्तक उनकी आमा, श्रीमती र बच्चाहरूलाई समर्पित छ। 

यस्ता छन् उनको आत्मकथामा समेटिएका मुख्य प्रसंग

युवराज विलियमसँगको झगडा
द गार्डियनले ५ जनवरीमा प्रकाशित गरेको पुस्तकांशमा ह्यारीले पत्नी मेघनलाई लिएर भएको विवादका क्रममा दाइ तथा युवराज विलियमले आफूलाई झम्टेको उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, “ऊ जोडले म भएतिर आयो। एकदमै तेज। म असमञ्जस्यमा थिएँ। उसले मेरो कलर पक्रियो। मैले लगाइरहेको सिक्री चुँडाल्यो र मलाई उठाएर भुइँमा पछार्‍यो। झगडामा मेरो पिठ्युँको हड्डी भाँचियो। भाँचिएका हाड मासुमा गडेका रहेछन्। केहीबेर त बेहोसजस्तै भएछु। होसमा आएपछि मैले उसलाई त्यहाँबाट जान भने।”

त्यस्तै उनले दाइ विलियमकै आग्रहमा आफूले सन् २००५ मा ‘नाजी ड्रेस’ लगाएको समेत आत्मकथामा उल्लेख गरेका छन्। 

‘अफगानिस्तानमा २५ तालिबानी मारेँ’
आत्मकथामा ह्यारीले युद्धका दौरान अफगानिस्तानमा रहँदा आफूले २५ जना तालिबानी लडाकु मारेको बताएका छन्। 

उनी २००७ र २०१२ मा गरी दुईपटक तालिबानसँगको युद्धका क्रममा अफगानिस्तान पुगेका थिए। त्यस क्रममा उनले त्यहाँ २५ जना तालिबानी लडाकु मारेको आत्मकथामा उल्लेख गरेका हुन्। 

उनको यो स्वीकारोक्तिको तालिबान तथा उनकै सैनिक साथीले समेत आलोचना गरेका छन्। ह्यारीले गरेको २५ जनाको हत्या अपराध भएको तालिबानको भनाइ छ। उनका सैन्य साथीले भने ह्यारीको कुरा ‘आर्मी स्पिरिट’ भन्दा बाहिर रहेको बताउँदै यसले ह्यारी, शाही परिवार तथा सिंगो ब्रिटेनकै लागि समेत असुरक्षा उत्पन्न गर्नसक्ने बताएका छन्। ह्यारीले भने आत्मकथामा तालिबानी मारेको घटनाप्रति आफूमा दुःख वा खुशीको कुनै लेस नरहेको उल्लेख गरेका छन्। 

कोकिन सेवन गर्थे राजकुमार 
राजकुमार ह्यारीले आत्मकथामा पेनिक अट्याक (अचानक आउने त्रासको भावना) र मानसिक तनावका बारेमा पनि उल्लेख गरेका छन्। उनले भाषण तथा इन्टरभ्युअघि आफूलाई पेनिक अट्याक आउने गरेको बताएका छन्। यसबाट उम्किन उनले कोकिन सेवन गर्ने गरेको आत्मकथामा उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, “साइकेडेलिक औषधिले निकै सहयोग गरे। मैले मज्जाका लागि पनि निकै समय लागूऔषध लिएँ। लागूऔषधको प्रयोग मेरा लागि औषधिजस्तै थियो।”

‘बुबालाई बिहे नगर्ने सल्लाह दिएँ’
राजकुमार ह्यारीले आफूले बुबा चार्ल्सलाई क्यामिलासँग बिहे नगर्ने सल्लाह दिएको बताएका छन्। उनको उक्त कुरामा उनका दाइ अर्थात् युवराज विलियम पनि एकमत थिए। सौतेनी आमाको त्रासले उनीहरूले बुवालाई बिहे नगर्ने सल्लाह दिएका थिए। त्यस्तै, उनले आमा डायनाको मृत्युको दिन बुबाले अँगालो नहालेको समेत उल्लेख गरेका छन्। उनले लेखेका छन्, “वर्ष १९९७ मा आमाको मृत्यु हुँदा म १२ वर्षको थिएँ, त्यसदिन बुबाले मलाई निद्राबाट उठाएर आमा दुर्घटनामा परेको बताउनुभयो तर, यस्तो कठिन समयमा पनि उहाँले मलाई अँगाल्नुभएन।”

त्यस्तै, उनले आमाको निधनले सिर्जित दुःखबाट अझै उम्किन नसकेको समेत उल्लेख गरेका छन्।

हजुरआमाको मृत्युको खबर समाचारबाट पाएँ
आत्मकथामा ह्यारीले उनकी हजुरआमा अर्थात् महारानी एलिजाबेथको निधनको खबर आफूलाई परिवारका तर्फबाट नदिइएको बताएका छन्। उनले आफूले उक्त खबर मिडिया रिपोर्टहरूबाट थाहा पाएको उल्लेख गरेका हुन्। उनी लन्डनमा भएता पनि बाँकी सबै परिवार उनलाई छोडेर एकसाथ स्कटल्यान्ड गएका थिए। ह्यारीका अनुसार त्यसपछि उनी एक्लै स्कटल्यान्ड पुगेका थिए।

आत्मकथाबारे कसले के भने?
आत्मकथा प्रकाशित भएपछि ह्यारी ‘मानव बम’ बनेको टिप्पणी हुन थालेको छ। खासगरी बेलायती राजघरानाले अख्तियार गरेको ‘गुनासो नगर्ने तथा सफाई पनि नदिने’ नीतिसमेत ह्यारीको खुलासापछि संकटमा छ। 

द प्यालेस पेपर्स: इनसाइड द हाउस अफ विन्डसरका लेखक टीना ब्राउनलाई उद्धृत गर्दै बीबीसीले भनेको छ, “राजकुमार ह्यारी 'मानव बम' बनिसकेका छन्। यो दुखद हो।” त्यस्तै, ह्यारीको हर्कतले राजपरिवार अहिले द्विविधामा रहेको समेत उनको भनाइ छ। 

यद्यपि शाही परिवारबाट हालसम्म ‘स्पेयर’बारे कुनै औपचारिक टिप्पणी सार्वजनिक भएको छैन। बेलायती प्रधानमन्त्री ऋषि सुनकले पनि पुस्तकबारे टिप्पणी नगर्ने बताएका छन्। 

ब्रिटिस सेनाका एक निवृत्त उच्चअधिकारी कर्णेल टिम कलिन्स आत्मकथा लज्जास्पद भएको बताउँछन्। उनले भनेका छन्, “जुन परिवारमा ह्यारीको जन्म भयो त्यो परिवारप्रति उनले गरेको निन्दाका कारण अर्को परिवार अर्थात् सेनाका लागि पनि उनी धुर-विरोधी बनेका छन्।”

त्यस्तै, बेलायती राजशाही परिवारका समर्थकहरू ह्यारीलाई जेल पठाउन माग गरिरहेका छन्। 

राजकुमार ह्यारीले भने आफ्नो आत्मकथाको बचाउ गर्दै त्यो आफ्नो कथाव्यथा व्यक्त गर्ने इमानदार प्रयास भएको बताएका छन्। उनले भनेका छन्, “३८ वर्षसम्म अरूले तोडमोड गरेर प्रस्तुत गरेको मेरो कथा म आफैँले भन्ने प्रयास गरेको हुँ।”

पेन्गुइन रेन्डम हाउसबाट प्रकाशित स्पेयरका लागि ह्यारीले झण्डै एक सय ६५ करोड रुपैयाँ पेस्की लिएका छन्। त्यस्तै, पुस्तकबाट संकलित रोयल्टीको केही हिस्सा एड्स पीडित बच्चाहरूका लागि खर्च गरिने पेन्गुइनले जनाएको छ। 

स्पेयरको अर्थ जगेडा भन्ने हुन्छ। स्पेयरका माध्यमबाट उनले आफूलाई जगेडा राजकुमारका रूपमा प्रस्तुत गरेका हुन्।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...