विसं १९८४ चैत ५ गते काठमाडाैँमा जन्मिएका शंकर लामिछाने नेपाली निबन्धका शीर्ष व्यक्ति मानिन्छन् । चेतनप्रवाह शैलीलाई नेपाली निबन्धमा भित्र्याएका लामिछाने नेपाली साहित्यमा आलोचना, प्रशंसा एवं चर्चाको केन्द्रक बनिरहे । लामिछानेका 'गौंथलीको गुँड' (२०२५), 'बिम्ब प्रतिबिम्ब' (२०२८), 'गोधूलि संसार' (२०२७), ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ (२०२४) र 'शङ्कर लामिछाने' (२०३२) लगायतका निबन्धकृति प्रकाशित छन् । उनले एब्स्ट्रयाक्ट चिन्तन प्याजका लागि २०२४ मा मदन पुरस्कार पाएका छन् । 


मेरो छोरा !
एकदिन तैँले मसँग
वा मेरो मृत्यु भएमा
स्वयंसँग
एक प्रश्‍न गर्ने छस् ।
मेरो छोरा !
मसँग प्रश्‍नको केही उत्तर छैन !
सिर्फ छ, एक सन्तुष्टि
बल्ल मेरो परम्पराले थिचेका
प्रश्‍नहरू
तेरो मुखबाट निस्कन सके ।
मेरो छोरा !
तेरो युगको प्रभातमा
मेरो अन्धकार
मेरो मृत्युसँगै मरिसकेका हुनेछन् ।
र तैँले बुझ्ने छैनस्
तेरो पितालाई स्वयम्‌को अस्तित्त्वसँग पनि शङ्का उठेको थियो ।
तँलाई पत्यार पार्न सक्ने छैन त्यसबेला
म कस्तो उत्तेजनाहीन
निस्क्रिय र निर्बल थिएँ ।
तैँले सायद कहिल्यै पनि बुझ्ने छैनस् होला
कि संघर्षको सिर्जन निम्ति
शरीरका रगतका अन्तिम बूँद पनि भुल्किनुपर्छ-
केन्द्रित हुनुपर्छ - प्रत्येक क्रिया
एक लक्ष्यमा ।
म त झण्डै लक्ष्यहीन थिएँ
सिवाय एक प्रयासको ।
मैले तँलाई जन्माउने प्रयास गरिनँ;
र लुकाइराखेँ आफैँमा
एक अज्ञात अपरिचित अनिश्‍चित अवसरको निम्ति ।
म भन्न सक्दिनँ, म बिल्कुलै असमर्थ छु -
तँलाई जन्म लिनु दिन ढिला गरेर
मैले, आफैँसँग
वा तैँसँग
वा तेरापछि आइरहने कैयन् - कैयन् वंशसँग
नजन्मेको मेरो छोरा !
तेरो जन्मभन्दा
कति अघि
कति अघिदेखिन्
तेरो प्रश्‍न
मकहाँ आएर फर्केको छैन।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

शङ्कर लामिछाने

लेखकबाट थप...

सम्बन्धित समाचार