रिमा केसी

रिमा केसी नेपाली कविताकी उदीयमान प्रतिभा हुन् । प्युठानमा जन्मेकी केसीको "यात्रामा अक्षर" कविता सङ्ग्रह प्रकाशित छ ।

अमृता प्रीतमकाे प्रस्तुत कविता कवि रिमा केसीले नेपालीमा अनुवाद गरेकी हुन् । 

म चुप, शान्त र अटल उभिएकी  थिएँ
सिर्फ, नजिकै बगिरहेको समुद्रमा तुफान थियो
खोइ,  समुद्रलाई भगवान जाने के विचार आयो 
उसले तुफानको एउटा थैलो बनायो 
मेरो हातमा थमाइदियो 
अनि  हाँसेर टाढा भैदियो
अचम्मित थिएँ !
तर उसकाे चमत्कार लिइसकेँ
थाहा थियो यसप्रकारको घटना 
कयौं शताब्दीमा हुन्छ
लाखौं ख्याल  आए
शिरमा झिलमिलाए
तर, उभिइरहें
याे सफाई लिएर अब मेरो शहर कसरी जाउँ ?
मेरो शहरको हर गल्ली साँगुरो,
मेरो शहरको हर छत होंचो,
मेरो शहरको हर भित्तो तीखो,
सोंचे 
यदि तिमी कतै भेटिन्थ्यौ भने
समुद्रले जसै गरी यसलाई छातीमा राखेर
हामी दुई किनारा जस्तै हाँसिरहन्थ्यौँ
अनि 
होंचा छतहरू र साँगुरा गल्लीहरूको शहरमा बस्न सक्थ्यौँ
तर 
पूरै दिनभरि तिमीलाई खोज्दैमा बित्यो
अनि आफ्नो आगोको अन्तिम घुट पिएँ
म एक्लो किनारा, 
किनारालाई छोडिदिएँ
अनि जब दिन ढल्दै थियो
समुद्रको तुफान समुद्रलाई नै फिर्ता गर्दिएँ
जब रात पर्न थाल्यो तिमी भेटियौ
तिमी पनि उदास, चुप, शान्त र अटल
म पनि उदास, चुप, शान्त र अटल
सिर्फ, टाढा बगिरहेको समुद्रमा तुफान छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

रिमा केसी

लेखकबाट थप...

सम्बन्धित समाचार