पृष्ठभूमिः
आफ्नै भाषा, संस्कृति, चालचलन, चाडवाड, धर्म र संस्कार भएको थारू जाति नेपालको भूमिपुत्रका रूपमा चिनिन्छ । आदिमकालदेखि बसोबास गर्दै आएका हुनाले यो जातीलाई आदिवासीकाे संज्ञा दिइएको हो । पुर्खा जातिको रूपमा चिनिने यो जातिको आफ्नै विशेष किसिमको मौलिकता र पहिचान रहेको छ ।
भाषा संस्कृतिका धनी यो जाती परम्परागतरूपमा परापूर्वकालदेखि आफ्नै समाज र परिवेशमा रमाउने तथा मनोरञ्जन गर्ने गर्दछ । शिकार गर्ने, नाचगान गर्ने तथा खेतीपातीमा विशेष गरी आवद्ध यी जातिको विशेष किसिमको आफ्नै अस्तित्व तथा मौलिकता रहेको छ । मतवाली जातिको रूपमा समेत परिचित यो जाति आफ्नै घरमा बनाई परिकार खाने र पाहुना सत्कारमा रमाउने गर्दछ । मनोरञ्जनका लागि विशेष किसिमले आफ्नै गाउँघर समाजमा नाचकोर गर्ने र मनोरञ्जन लिने प्रचलन छ । नेपालमा बसोबास गर्ने करिब एक सय तेइस जातजातिमध्ये भाषा, संस्कृतिको धनी मानिने थारू जातिको मनोरञ्जनका साधन तथा संस्कृतिको बारेमा सामान्य चर्चा यहाँ गरिएको छ ।
१. झुम्रा नाच:
झुम्रा नाच थारू जातिमा प्रचलित एक लोकनृत्य हो । यो नाँच खासगरी दशैं तिहारको बेला नाचिन्छ । तर आवश्यकता अनुसार सभा समारोह र विशेष कार्यक्रममा यसको प्रयोग जतिबेला पनि गर्न सकिन्छ । यस नाचमा एकजना मादले, दुईजना नाच्ने महिला र एकजना नक्कलकर्ता (जोकर) रहेको हुन्छ । यो नाच खासगरी कै लाली, कञ्चनपुर, बर्दिया र देउखुरीमा बढी प्रचलनमा छ । यो नाचलाई स्थानको भिन्नता अनुसार भुमरी, झुमरा, झुमर, घुमर र धुमरा आदिले चिनिन्छ । यो नाचमा दुई तर्फबाट आलोपालो गरी गीत पनि गाइन्छ । महिला महिलाको बीचमा र पुरुष पुरुषको बीचमा पनि यो नांच नाचिने प्रचलन छ । मादले, नाच्नेमहिला र जोकरको प्रमुख भूमिका रहन्छ ।
२. सखिया नाचः
खासगरी पश्चिमा थारूहरूमा सबभन्दा वढी प्रचलनमा रहेको नाच हो, 'सखिया' । यो नाच दशैं र तिहारमा मात्रै नाचिए तापनि आवश्यक परेको बेला सभा समारोह र उत्सवमा मनोरञ्जनको लागि नाचिन्छ । यो नाचको थालनी कृष्ण जन्माष्टमीको दिनदेखि हुन्छ । यो नाचमा पूर्णतया कृष्ण लीला सम्बन्धी गीत गाइने गरिन्छ । केटा र केटी दुवै मिली गरिने यस नाचमा दुष्टात्माको भवितव्यबाट बचाउनको लागि एकजना गुरुवाको व्यवस्था समेत गरिएको हुन्छ । गीत सिकाउने एकजना मुख्य गुरु (जसलाई थारु भाषामा 'मोहिन्या' भनिन्छ) को व्यवस्था गरिएको हुन्छ । गुरुले उठाएको गीतलाई अर्को पंक्तिमा सिकाउने एक जना 'पछगोहिया' अर्थात् सहायक गुरुको व्यवस्था पनि गरिएको हुन्छ । मादल बजाउने मध्ये एकजनालाई ‘अगुवा मदरिया’ (अगुवा मादले) र एकजना 'पछुवा मदरिया' (पछाडिको मादले) को व्यवस्था समेत गरिएको हुन्छ । यो नाचको अभ्यास खासगरी साँझको बेला खाना खाइसकेपछि गरिन्छ । शुरूको दिन फर्सीको पात हातमा लिएर नाचिन्छ भने दोश्रो दिनदेखि करिब एक हप्तादेखि पन्ध्रदिनसम्म सनपाटको फुर्का बनाई नाचिन्छ । त्यसपछि साना खाले मन्जिरा (भाल) बजाउँदै नाचिन्छ । यस नाचमा कृष्ण लीलाको गीत गाइन्छ भने मनोरञ्जनको लागि पैंया (पैधार) अनुसार नाच्ने गरिन्छ । यो नाच एक साल नाचेपछि कम्तीमा तीन/पाँचसालसम्म लगातार नाच्नु पर्ने हुन्छ ।
३. लठ्ठहवा नाचः
दुबै हातमा एक वा दुईटा लठ्ठी लिएर मादलको तालमा नाचिने नाचलाई लठ्ठहवा नाच भनिन्छ । नाच थारू समुदायको एकदम प्रचलित नाच हो । दुई वा चारजना मादले तथा जोडादार संख्यामा नाच्नेहरू रहने गर्दछन् । पहिले पहिले केटाहरू मात्र नाच्दै आएको यस नाच आजभोलि अविवाहित केटीहरू पनि नाच्न थालेका छन् । यस नाचमा गीत हुँदैन, मात्र मादलको तालमा हातमा लठ्ठी लिएर आकर्षक ढंगले नाचिन्छ । यो नाच पनि दशैंको बेला नाच्ने गरिए तापनि विशेष उत्सव समारोह अघिपछि पनि नाचिन्छ । यस नाचका लागि नाच मण्डलीको एक जना अगुवा र एक जना पछुवा रहने गर्दछन् । साथै नाच टोलीका सदस्यहरूलाई नराम्रो हुनबाट जोगाउनका लागि एकजना गुरुवा (मन्त्र जान्ने व्यक्ति) को व्यवस्था गरिएको हुन्छ । यो नाच पनि सखिया जस्तै शुरू गरेपछि कम्तीमा पनि तीन साल नाच्नुपर्ने हुन्छ ।
४. मुङ्ग्रहवा नाचः
दशैं आउनु भन्दा करिब एक महिना अघिदेखि अभ्यास गर्दै नाचिने नाच र हातमा काठको मुङ्ग्रा (लठ्ठी) लिएर नाचिने हुनाले यसलाई मुङ्ग्रहवा नाच भनिएको हो । यस नाचमा दुई देखि माथि जोडा संख्यामा मादलेहरू रहने गर्दछन् । त्यस्तै हातमा मुङ्ग्रा लिई नाच्नेहरू पनि जोडा संख्यामा दुई भन्दा माथि रहने गर्दछन् । मादले र नाच्नेहरूको अधिकतम् संख्या तोकिएको हुँदैन । तर जोडा संख्यामा हुनु जरुरी हुन्छ । मादले र नाच्नेहरू पिठ्यूमा मयुरको प्वाँख, जिउमा रंगीविरंगी बुशर्ट वा कमिज, दुबै काखीमा रातो सप्की, टाउकोमा फुन्ना लगाइएको टोपी, नाडीमा फुन्ना लगाइएको कन्ठी, घाँटीमा फुन्ना लगाइएको गन्याला, कम्मरमा छोटोखाले धोती, कम्मरमा ठूलो खाले पेटीमा उनेको घुंघरु र गहनाहरू लगाएका हुन्छन् ।
यस नाचलाई व्यवस्थित र मर्यादित बनाउनका लागि एक जना नाच टोली प्रमुख र एक जना सहायक हुने गर्दछन् । उनीहरू नाचटोली सदस्यहरूको रेखदेख गर्ने गर्दछन् । नाच टिमलाई दुष्टात्माबाट बचाउनका लागि कम्तीमा एकजना गुरुवाको व्यवस्था समेत गरिएको हुन्छ गुरुवाले नाच्ने टिमलाई मन्त्रले साजेको ल्वाङ, जल खान दिने गर्दछन् । यो नाच पनि सखियाजस्तै गरेपछि कम्तीमा तीन साल नाच्नु पर्ने हुन्छ तर विजोड वर्षमा यो नाचिन्छ । नाच शुरू गर्नुभन्दा पहिले गुरुवाले दुष्टात्मा तथा देवी देवतालाई यति वर्ष नाच्ने भनेर वचनवद्धता गरेको हुन्छ । वचनवद्धता अनुसार नाच्न नसकेमा भूत पिसाच र दैवी लाग्दछ भन्ने मान्यता रही आएको छ ।
५. हुर्दवा नाचः
एकदम जोशिलो भएर कोलाहलपूर्वक गीत र नृत्यको तालमा मनोरञ्जनार्थ नाचिने एक विशेष थारू लोक नृत्यलाई हुर्दवा नाच भनिन्छ । यस नाचमा एकजना नाच्ने, एक जना मादले र एकजना हास्य कलाकार (सोङ्या) रहने व्यवस्था छ । यस नाचमा आलोपालो दुई टोली बीच गीत गाईन्छ । एक पक्ष गीत सुरुवात (उठान) गर्ने हुन्छ भने अर्को पक्ष उसले उठाएको गीतलाई दोहोन्याएर गाउने गरिन्छ । यस नाचमा उफ्री उफ्री नर्तकहरू नाच्दछन् । यस नाचमा भगवान् श्री रामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा भव्यरूपमा देवताको सचित्र वर्णन गरी नाचको कर्म गरिन्छ । प्रायः सबै थारू समुदायमा यसको लोकप्रियता भए तापनि विशेष बाँके, बर्दिया र कैलालीमा यसको प्रचलन छ ।
६. मघौटा (माघी) नाचः
थारूहरूको सबैभन्दा ठूलो चाड तथा नयाँ वर्षको रूपमा रहेको माघे संक्रान्तिमा यो नाच गरिन्छ । यस नाच युवा युवतीहरू संयुक्त रूपमा गर्ने गर्दछन् । यस नाचमा एकजना मादले र दुई जनासम्म नाच्ने (नर्तकी) रहन्छन् । यसमा केटा र केटीको दुई पक्ष हुन्छ र गीतको दोहोरी चल्ने गर्दछ । मघौटा नाच बरघरियाको घरबाट शुरू भएर गाउँका सबै किसानको घरमा नाचिन्छ । नाचेबापत नाच टोलीले प्रत्येक घरबाट चामल, खानेकुरा र दक्षिणा लिने गर्दछन् । यस नाचमा गाइने गीतमा खास गरी केटा र केटी बीचको माया प्रीतिको संवाद रहेको हुन्छ । यस नाचमा केटीहरू एकै ड्रेसमा रहन्छन् भने केटाहरू पनि भरसक एक ड्रेसमा आउने गर्दछन् प्राय: आजकल केटाहरू ड्रेसमा नभए पनि केटीहरू चाहिँ अनिवार्य रूपमा ड्रेसमा हुन्छन् । यो नाच दिउँसो र साँझकाे बेला नाचिन्छ । एउटै गाउँमा विभिन्न समूह बनाई यो नाच नाचिन्छ । बुढापाकाहरू समेत आफ्नो समूह बनाई नाचेर मनोरञ्जन गर्ने गर्दछन् ।
७. बर्का नाचः
थारू समुदायमा ऐतिहासिक महत्व राख्ने यस नाचमा महाभारतको कथा वस्तुलाई समेटेर नाचिने गरिन्छ । अन्य नाचको तुलनामा यस नाच टोलीमा सबैभन्दा बढी सदस्यहरू रहने गर्दछन् । सबैजना पुरुष मात्र रहने यस नाच टोलीमा सय भन्दा बढी वा सो को हाराहारीमा नाच्नेहरू रहने गर्दछन् । यो नाच धेरै दिनसम्म नाचिन्छ । त्यसैले पनि यसलाई वर्का नाच भनिएको हो। यो नाच पनि विशेष गरी दशैंको बेला नै गरिन्छ ।
यो नाच सबै गाउँमा सजिलै गर्ने हिम्मत गरिँदैन । यस नाच गर्नका लागि आर्थिक भार बढी, तन्त्र मन्त्रको प्रशस्त ज्ञान, धेरै सदस्य र प्रतिबद्धताको जरूरत पर्दछ । साथै थारू महाभारत कथाको ज्ञान हुनु पनि जरूरी हुन्छ । यस नाच सम्पन्न गर्नका लागि प्रमुख गुरुवा (मुख्य) मन्त्र गर्ने व्यक्ति) र सहायक गुरुवा (सहायक टुनामुना जान्ने व्यक्ति) को व्यवस्था गरिएको हुन्छ । मादलेहरू एकजना अगुवा, एकजना पछुवा हुनुका साथै अन्य धेरै सहायक मादले पनि हुन्छन् । नाच्नेहरू पनि पुरुष र महिलाको पहिरनमा दुई थरिका हुन्छन् । यस नाचमा महिला पक्षले द्रोपदीको भूमिका निभाउँछन् । नाच्ने क्रममा सबभन्दा वढी जोखिम पनि यसै पक्षलाई रहेको हुन्छ । नाच्ने क्रममा दुष्टात्माले सबभन्दा पहिले यसै पक्षलाई आक्रमण गर्दछ । यस नाच नाच्ने क्रममा लामो ठूलो बाँसको खाँबो ठड्याई त्यसमाथि लोहोटा झुण्ड्याइएको हुन्छ । यो नाँच थारू समुदायबाट विस्तारै लोप हुँदै गइरहेको छ ।
यस नाचमा कम्तीमा दुई बढीमा चार जनासम्म मादले अनिवार्य हुन्छ । यस नाच सागसँगै थारू गुरुवाहरूले रोग भोग र भूत पिशाचले ग्रस्त विमारीहरूलाई झारफाक गर्ने र पेट, टाउको, कम्मर, मृगी, ज्वरो लगायतका रोगहरूलाई निको पार्ने गर्दछन् । नाच सागसागै उपचार गराउनेको पनि यसमा भीडभाड रहन्छ । दाङको नारायणपुर, जल्हौवा गाउँमा मात्र सीमित रहेको यस नाच एकदम लोपको नजिक पुगेको छ। पहिले प्रायःजसो बारु बसोबास भएको जिल्लामा यस नाच नाचिने भए पनि अहिले एउटा मात्रै गाउँमा सीमित हुन पुगेको छ ।
उहिले एकजना थारू व्यक्ति जंगलमा दाउरा गर्न गएको बेला पाण्डवहरूलाई नाचेको देखेर पछि सिको गर्दै थारु गाउँमा नाचिने चलन चलेको दाङ घर भएका बर्का नाचका संयोजक चन्द्रप्रकाश थारु बताउँछन् । पाण्डवहरूकै नाचको सिको मानिने हुनाले यस नाचमा मुख्य पात्रकारूपमा पाँच पाण्डव, भीम, अर्जुन, द्रोपदी, कुरुक्षेत्र लगायतलाई बनाइने गरिन्छ ।
८. कठघोरी नाँच:
थारू समुदायको विचित्र नाचको रूपमा पहिचान कायम गरेको यस नाचमा बाँसको घोडाको आकार बनाई त्यसलाई नर्तकहरूले आफ्नो काँधमा भिरेर मादलको तालमा नाच्ने गर्दछन् । यो नाच शुरू गर्नुभन्दा पहिले गुरुवाहरू विभिन्न थरिका पूजापाठ गरी बली चढाउने गर्दछन् । साथै यस नाचमा नाच टोली जता जता जान्छ उसको पछाडि पछाडि गुरुवा अनिवार्य रूपमा हिँड्नु पर्ने हुन्छ । थारू जातिमा निकै प्रचलित अवस्थामा रहेको यो नाचको उद्भव भारतको मद्रासको तंजौर जिल्लाबाट भएको मानिन्छ । यो नाच पनि खास गरी दशैंको बेला नाचिन्छ । आवश्यकता अनुसार सभा समारोह र उत्सवमा पनि नाचिने गरिन्छ । नाच टोलीमा दुई वा चार जना मादले र छ या आठको संख्यामा नाच्नेहरू हुन्छन् । यस नाचमा सबै मादले र नाच्नेहरू पुरुष रहेका हुन्छन् । यसमा महिलाको सहभागिता रहँदैन । हाल यो नाच पनि विस्तारै लोप हुने अवस्थातिर छ ।
टुंग्याउनीः
भाषा संस्कृतिका धनी मानिने थारू जातिको यी संस्कारहरू विस्तारै लोपको बाटोमा लम्केको देखिन्छ । पुर्खाहरूले चलाउँदै आएको चलन र परम्परालाई आजका युवा पुस्ताले खासै ध्यान नदिँदा थारू संस्कृति संकटमा परेको हो । पढे लेखेका शिक्षित युवाहरू आफ्नो संस्कृतिको जगेर्ना गर्नु भन्दा पनि पश्चिमा संस्कृतिलाई बढी अंगालेकाले थारूको संस्कृति संकटमा परेको मान्न सकिन्छ । आफ्नो पहिचान, अस्तित्व र अधिकारको संरक्षण तथा जगेर्ना गर्नु पुर्खाको मात्र हैन युवा पुस्तको पनि दायित्व र कर्तव्य हो । आजका युवा वर्ग यसप्रति सचेत नभए थारुको पहिचान संकटमा पर्ने निश्चित छ ।
लेखक सञ्चारकर्मी तथा प्रथम थारू भाषा दैनिक ‘हमार पहुरा’का सम्पादक/प्रकाशक हुन । प्रस्तुत लेख सदूरपश्चिमाञ्चल पत्रिकाबाट साभार गरिएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...