भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

इ-कोन  नेपाल सिआरएस कम्पनीले वितरण गर्दै आइरहेको इमेर्जेन्सी कन्ट्रासेप्टिक पिल्स हो । यो आलेखमा इ-कोन शब्दले नेपालमा प्रयोग भएका सम्पूर्ण इमेर्जेन्सी कन्ट्रासेप्टिक पिल्सलाई जनाउने छ । नेपालामा आईपिल, ७२ हावरजस्ता थुप्रै कम्पानीका थुप्रै उत्पादनहरू छन् । मेडिकलहलमा सजिलै खरिद गर्न सकिने यस्ता इमेर्जेन्सी कन्ट्रासेप्टिक पिल्सहरू पछिल्लो समय युवा पुस्ताले बढी प्रयोग गरीरहेका छन् । अब कुरा गरौँ के हो इमेर्जेन्सी कन्ट्रासेप्टिक पिल्स ।

के हो इमेर्जेन्सी कन्ट्रासेप्टिक पिल्स ?
असुरक्षित यौन सम्पर्क भए पछि गर्भ नरहोस भनी यौन सम्पर्क भएको ७२/१२० घण्टा भित्र सेवन गर्नु पर्ने गरी निर्माण गरीएको हर्मोनल ट्याब्लेट हो । यसमा ethinyl estradiol plus levonorgestrel ( WHO, 2016) 
को उपस्थिति हुन्छ । जो एक प्रकारको हर्मोन हो । आपतकालीन अवस्थामा गर्भ बस्न रोक्नु यो चक्किको प्रमुख काम हो । यस्ता चक्की मेहिकलहलहरूमा सजिलै प्राप्त गर्न सकिन्छन् ।

इ-कोन प्रयोगको अवस्था कस्तो छ त नेपालमा ?
नेपालमा दैनिक कति इ-कोन खपत हुन्छ यसकाे आधिकारिक तथ्यांक भने छैन । तर पनि मेडिकल सञ्चालकहरूका अनुसार दैनिक औसत ५-७ चक्की इकोन बिक्री हुने गरेको छ । बजार क्षेत्र, बसपार्क, एयरपोर्ट, होटल क्षेत्रका मेडिकलहरूमा भने इ-कोन को बिक्री औसत भन्दा बढी हुने गरेको मेडिकल सञ्चालकहरू बताउँछन् । नेपाल सिआरएस कम्पनीको इ-कोन बेच्दा, बेच्ने मेडिकलले लग बुक भर्नुपर्ने नियम भएता पनि उनीहरूले प्रभावकारी ढङ्गले लगबुक नभर्दा आधिकारिक तथ्यांक भने पाइँदैन । 

मेडिकल सञ्चालकका अनुसार १८-३० वर्ष उमेर समूहकाले सबै भन्दा बढी इ-कोन खरिद गर्छन् । त्यही उमेर समूहमा पनि १८-२५  वर्ष उमेर समूहका युवाहरू ७५ प्रतिसत भन्दा बढिरहेको मान्दछन् । त्यसै गरी विवाहित महिलाहरूमा पनि इ-कोनको प्रयोग बढेको उनीहरूको अनुभव छ । विवाहेत्तर सम्बन्धका कारण इ-कोन प्रयोग विवाहित महिलाहरूमा बढेको अनुमान मेडिकल सञ्चालकहरू गर्छन् भने कलेज पढ्ने विद्यार्थीहरू मा इ-कोन प्रयोग व्यापक देखिन्छ । 

किन प्रयोग बढेको छ त इ-कोन को ?
सुरक्षित यौन सम्पर्कका लागि तथा सम्भावित यौन रोगबाट बच्ने गरी निर्माण गरिएको कण्डम हुँदा पनि किन इ-कोन को प्रयोग बढिरहेको छ यो एक गम्भीर विषय हो । यसरी इ-कोन को प्रयोग बढ्नुका पछाडि विभिन्न कारणहरू हुनसक्छन् तर केही सम्भावित कारणहरू यसरी चर्चा गर्न सकिन्छ ।

कण्डमको प्रयोग नगर्नु, कण्डम प्रयोग विधि प्रभावकारी बनाउन नसक्नु तथा कण्डम किन अप्ठ्याराे तथा लाज मान्नु नै प्रमुख हो । नेपाली समाज यौन उदार समाज होइन । कण्डम किनेको, बोकेको  कसैले देखे के सोच्ला, के भन्ला   जस्ता मानसिक डरले व्यक्ति कण्डम किन्न डराउँछन् । भने अपवाद बाहेकका महिलाहरू मेडिकल हल तथा स्वास्थ संस्था मा गएर कण्डम किन्न र ल्याउन सक्दैनन् । र इ-कोन को प्रयोग गर्छन् ।

दोस्रो कारण हो, कण्डम प्रयोग गरी यौन सम्पर्क गर्दा यौन सुख प्राप्त हुँदैन भन्ने भ्रम हुनु । अधिकांश युवा पुस्ताहरूमा कण्डम प्रयोग गरी यौन सम्पर्क गर्दा प्राकृतिक यौन सुख नै प्राप्त हुँदैन भन्ने विश्वास छ । जसका कारण उनीहरू कण्डण प्रयोग नगरी यौन सम्पर्क गर्छन् र इ-कोनको प्रयोग गर्छन् । 

तेस्रो कारण हो, इ-कोन महिला वा पुरुष जोकोहीले सजिलैसँग किन्न सक्नु । हेर्दा औषधि जस्तो देखिने चक्की अरूले देख्नेले पनि औषधि खरिद गरेकोको ठान्ने हुँदा इ-कोन प्रयोग गर्न ललाहित हुन्छन् ।

अर्को कारण हो, कण्डम फुट्ने डर हुने, वीर्य बाहिर्गमन गर्न असमर्थ हुने, प्राकृति विधि अपनाउन गाह्रो हुने जस्ता झन्झटबाट उन्मुक्ति पाउने सजिलो माध्यम बनेको छ इ-कोन । 

इ-कोन प्रयोगको असरहरू के के हुनसक्छन् ?
इ-कोन भनेको इमेर्जेन्सी कन्ट्रासेप्टिक पिल्स हो । अर्थात् आपतकालीन अवस्थामा मात्र प्रयोग गर्नु पर्ने । कण्डम फुट्ने, एक्कासी यौन सम्पर्क गर्नु परेको खण्डमा, बलात्कार जस्ता अपराधमा गर्भ नरहोस् भनी प्रयोग गर्नुपर्ने चक्की हो इ-कोन । आपतकालीन समयमा प्रयोग गर्नु पर्ने चक्कीको प्रयोग सहज समयमा हुने र बढी हुने भयो भने शरीरमा हर्मनल परिवर्तन हुने, एलर्जी हुने, वाकवाकी लाग्ने वा उल्टी हुने, महिनावारी गडबढी हुने, महिनावारीको समयमा रक्तस्राव बढ्ने, पीडादायी महिनावारी हुने, अनुहारमा चाया बस्ने तथा धेरै इ-कोनको प्रयोग भएको खण्डमा गर्भ बस्न गाह्रो हुने वा नबस्ने जस्ता समस्याले बढवा पाउँछन् । 

इ-कोन को प्रयोग कम गर्न के गर्न सकिन्छ ?
युवा पुस्तालाई स्वास्थ्य शिक्षाको माध्यमबाट सुरक्षित यौन सम्पर्कबारे प्रयाप्त जानकारी दिन जरुरी छ । यौन सम्पर्क स्थापित गर्नुपरेको खण्डमा कण्डमको प्रयोगलाई बढवा दिनु पर्दछ । कण्डम मात्र एक यस्तो साधन हो जस्ले शरीरमा कुनै प्रकारको नकारात्मक परिवर्तन नपारी गर्भ बस्न तथा यौन प्रसारित रोगहरू बाट बचाउँछ । साथै कण्डण प्रयोग झन्झटिलो मान्नेहरूले प्राकृतिक विधिहरू जस्तैः वीर्य बाह्यस्खलन गर्ने, क्यालेन्डर मेथड अपनाउने गर्न सक्दछन् । यसरी सुरक्षित तरवरले स्थापित गरिएको यौन सम्बन्धले यौनसुख प्रदान गर्नुका साथै यौन सम्पर्कपश्चात आउने मानसिक तनाब पनि निर्मुल पार्द छ । आपतकालीन अवस्थामा प्रयोग गर्ने गरी निर्माण गरिएको इमेरजेन्सी कन्ट्रासेप्टिक पिल्सलाई आपतकालीन समय बहेका समयमा यस्को प्रयोग निरुत्साहित गर्न जरुरी छ । सामान्य देखिने औषधिको कालान्तरमा पर्ने ठूलो असरबाट युवा पुस्ताले बच्न जरुरी छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...