काठमाडाैँ । यस वर्षको मनसुन सुरु नहुँदै परेको वर्षाका कारण बागलुङमा करोडौँको क्षति भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन फैलिने क्रममा छ । तर गत मङ्गबारदेखि बागलुङका विभिन्न ठाउँमा भइरहेको भीषण वर्षाका कारण दजनौँ घरपरिवार विस्थापित भएका छन् भने करोडौँ खर्चेर बनेका संरचना क्षत्विक्षत भएका छन् ।

जिल्लाको वर्षापछिको बाढी र पहिराका कारण जिल्लाको गलकोट नगरपालिकामा ३५ घरपरिवार पहिराको जोखिममा परेका छन् भने जैमिनी नगरपालिका–९ र १० मा १९ परिवार पहिराको जोखिममा परेका छन् । बुधबार साँझदेखि बिहीबार बिहानसम्म निरन्तर परेको वर्षाका कारण गलकोट र जैमिनी नगरका विभिन्न क्षेत्रमा रहेका खहरे खोला बढ्दा बाढीसँगै पहिरो चल्न थालेपछि बस्ती जोखिममा परेका हुन् ।

वर्षा सुरु भएसँगै जिल्लाभर त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक क्षत्विक्षत बनाउनुका साथै कैयौँ सडक अवरुद्ध भएका थिए । यस वर्ष पनि जेठको अन्तिम साता परेको वर्षाले गतसाल जस्तै क्षति गर्ने त्रास रहेको जैमिनी–१० का शिव श्रीस मगरले बताए ।

“सडक बनाउँदा गाउँ जोखिममा परेको छ, बस्तीभन्दा तलमाथि दुवैतर्फ सडक छ”, उनले भने, “वर्षा हुँदा बाढी सबै गाउँमा पस्छ, बसिनसक्नुभएको छ गाउँ ।” जैमिनी–१० राङ्खानीको सिप्रिङ र तोरीबारी गाउँका १७ घर परिवार स्थानान्त्रण गर्नुपर्ने अवस्थामा रहेको उनले बताए ।

“तत्कालका लागि तीन घर विस्थापित नै भए, अरु पनि बस्ती सार्नुपर्ने पहिलैदेखि आवाज उठेको हो”,उनले भने, “बलवीर नेपाली, लालबहादुर नेपाली र मनबहादुर नेपालीको परिवार विस्थापित भएका छन् ।” वडा नं ९ पैँयुथन्थापमा पनि बाढी र पहिराका कारण दुई घर जोखिममा रहेका छन् ।

चालू आर्थिक वर्षमा करोडौँ खर्नेर स्तरोन्नति गरिएका गलकोट र जैमिनी नगरपालिकाका सडक पनि सवारी नै नचल्ने गरी बाढीले खोलेको छ । कालोपत्र भएका सडकमा समेत बाढीले ठूलो क्षति पु¥याएको नगरपालिकाको अनुमान छ । सडक निर्माणका क्रममा उचित भल व्यवस्थापन हुन नसक्दा बाढी र पहिराको क्षति व्यहोर्नुपरेको जैमिनी नगरपालिका–१ का टीकाराम शर्माले बताए ।

गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पु¥याएको छ । वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीन वटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन् । स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पु¥याएको छ । साविक वडा नं ३ का अधिकांश घर जोखिममा रहेको, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरो खसेको उनले बताए ।

पहिराका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग बिहीबार दिनभरि अवरुद्ध रह्यो । निरन्तरको प्रयासपछि बिहीबार साँझदेखि सडक खुलेको गलकोट नगरका प्रवक्ता हेमन्त भण्डारीले जानकारी दिउ ।

गलकोट–१ नरेठाँटी बजार र आसपासका ठाउँमा पनि बाढीपहिराका कारण घर जोखिममा छन् । नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा रहेको जनाइएको छ ।

बाढीले स्थानीय महेन्द्र माविको खेल मैदानसमेत पुरिएको छ । वर्षा भइरहँदा स्थानीयले बाढी नतर्काएका भए अझ ठूलो क्षति निम्तने अवस्था रहेको वडा नं २ का वडाध्यक्षसमेत रहेका नगरका प्रवक्ता भण्डारीले बताए ।

वडा नं ३ को हटियाबजार–४ को डाँडाखेतलगायतका ठाउँमा पनि भलबाढीले क्षति पु¥याएको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार