लेखन स्वतन्त्र विषय हो । एउटा लेखकलाई पढ्नु भनेको उसको सिर्जना र उसको व्यक्तित्व दुवैलाई पढ्नु हो । अलि पहिले चाहिँ मलाई लाग्थ्यो, ‘लेखकका सिर्जना पढौँ, पुगिहाल्यो नि । एउटा सर्जक उसको सिर्जनाले बाँच्छ ।’ तर आजभोली सम्भव भएसम्म आफ्नो प्रिय लेखकका बानी, स्वभाव, आदत या विचार एकांगी निर्माणको समयकाल पनि पढौँ भन्ने लाग्छ । यस्तो लाग्नुको एउटा कारण के भने, लेखकको व्यक्तित्वलाई चिन्न खोज्दा लेखकको सिर्जना अझ बढी चिँनिदो रहेछ । लेखनमा व्यक्तिको जिन्दगी र उसको विचारको पूर्ण वा आंशिक प्रभाव परेको हुन्छ । तर, सम्भवतः हरेक रचनामा त्यो प्रभाव नदेखिन पनि सक्छ । 

मिथक पुरुषहरूको प्रिय खुराकी मदिरा, सूर्ती, चुरोट, चिया र कफी भएको मेरो व्यक्तिगत अनुभव हो । यी खुराकले उनीहरूलाई अल्पआयुमा लग्यो तर उनीहरूका खानपिनसम्बन्धी स्वभावजन्य कुराहरू अग्रजले सुनाइरहँदा म कौतुहलतापूर्वक ती कुराहरू सुनिरहेको हुन्छु । नेपाली साहित्यकै सन्दर्भमा ‘हरिभक्त कटुवाल, नारायण गोपाल, भूपी शेरचन र रक्सी’,  ‘महाकवि र फूलमार चुरोट’ जस्ता विम्बहरू झन्डै एकअर्काका पर्याय जस्तै स्थापित छन् । तर एउटा प्रश्न - के यी सर्जकहरूलाई हाम्रो पुस्ताले जँड्याहाको रूपमा मात्र बुझ्दा उनीमाथि न्याय होला ? यी सर्जंकहरूलाई ‘चेन स्मोकर’को रुपमा मात्रै बुझ्दा उनीहरूमाथि अन्याय हुँदैन ? एउटा सर्जकले आफ्नो जीवनकालमा कालजयी सृजना रचना गर्दछ तर त्यसको कम चर्चा र उसको लत (कु)का बेसी चर्चा हुँदा ऊ अन्यायमा परिरहेको त छैन ? यस्ता धेरै मिथक पुरुषहरू छन्, जसका किस्साहरू प्रचलित र स्थापित छन् । त्यसको तथ्यजाँच हुनुपर्दछ, हुँदै जाला पनि । 

किस्साको नामको बढाइचढाइ गर्ने वा अतिरन्जना फैलाउने काम पनि भइरहेको/हुनेगरेको मेरो व्यक्तिगत अनुभवको सार हो । कुनै पनि बिम्बहरू तबसम्म स्थापित भइरहन्छन् जबसम्म ती कुराहरूलाई लिएर नयाँ खोजअनुसन्धान हुँदैन  वादविवाद सुरु हुँदैन । सुरु भएको खण्डमा या स्थापित मानक ढलेको या पुनर्निमाण भएको खण्डमा यसको फाइदा सबैलाई नै छ । यहि अभिप्रायले लोभिएर यो शृंखला सुरु गरेका हौँ । यो पहिलो शृंखला हो ।

हरिभक्त कटुवालसँग मेरो भेट भइरहन्छ । गीतहरूमार्फत, कविताहरूमार्फत र उनका किस्साहरूमार्फत । उनका गीत, कविता एवं कथाकै कारण उनको एउटा छवी निर्माण गरेको छु, जसलाई कहीँकतै उनका किस्साहरूले अझ मलजल गरेको पनि होला । ४५ वर्षमा नै बितेका यी महान कवि एवं गीतकारको मृत्युअघि नै देश, प्रवास, समाज र मित्रप्रतिको मोहभङ्ग भएको उनका रचनाहरूमार्फत नै देखिन्छ । ‘मन त फलामकै भए असल हुन्छ’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लगायत कविताहरू मेरो सर्वाधिक प्रिय कविताहरू हुन् ।

हामीसँग उनका रचनाहरू छन्, फोटोहरू छन् तर उनको व्यक्तित्त्वका टुक्रातुक्रीहरू छन् । ‘च्याट्ट टुट्न सक्छ यो जिन्दगी’ भनेर हाकाहाकी बोल्ने आँट बटुल्ने कवि हरिभक्त कटुवाल कस्ता थिए होलान् ? उनको हिडाई, बोलाइ, लवाइ-खुवाई र सामान्य दैनिकी कस्तो रहन्थ्यो होला ? यिनै प्रश्नहरू उत्तर खोज्ने मेसोमा यो सामाग्री तयार भएको हो ।

कवि हरिभक्त कटुवालबारे केही किस्सा:

१) बुवा (हरिभक्त कटुवाल)सँगको पुतलीसडकको बसाइँलाई यसरी सम्झन्छिन् कान्छी छोरी कल्पना 'म कीर्तिपुरको ल्याब्रेटोरी स्कुलमा पढ्थेँ । आमा र भाइ आसाम फर्किसकेका थिए । एक दिन स्कुलबाट डेरामा आइपुग्दा बुवा केही लेख्दै हुनुहुन्थ्यो । बुवाले मलाई भन्नुभयो- छोरी, तिमी एकछिन तल खेल्दै गर । म यति लेखिसक्छु । मलाई त्यो सानो उमेरमा पनि यत्ति कुराको हेक्का थियो, बुवा लेख्न बस्नुभएको छ, मैले डिस्टर्ब गर्नु हुँदैन । म बुवालाई 'हस्' भनेर तल झरेँ । सोचेँ, लेखिसकेपछि बुवा मलाई लिन तल झर्नुहुनेछ । मिनेट बित्यो । घन्टा बित्यो । साँझ ढल्यो । रात छिप्पिँदै गयो । सिंगो सहर निदायो । थाहा छैन, म कति बेला सिँढीमै निदाएछु । सायद बुवा रातभरि लेखिरहनुभयो । बिहान भएपछि बुवालाई पत्तो भएछ र मलाई खोज्दै आउनुभयो । रातभरिको चिसो बुवाको काख पाएपछि मैले सबै बिर्सिएँ । बुवा मेरो खुट्टा ढोग्दै, माफी माग्दै बुवा निकै बेर रोइरहनुभयो । म पनि रोएँ ।'

२. अन्तिम अवस्थामा रहेका हरिभक्तलाई अस्पतालकै शय्यामा भेटेका विजय ढुंगेल सम्झन्छन्, 'हरिभक्त कटुवाललाई मेडिकल वार्डको ८ नं. बेडमा राखिएको रहेछ ।

म मेडिकल वार्डमा छिरेर हेर्दै गएँ । ८ नं.मा कुनै एउटा बालक सुतिरहेजस्तो लाग्यो । फर्किन खोज्दा पछाडिबाट आवाज आयो— ए विजय । मैले जुन बालक सुतिरहेको सम्झेको थिएँ त्यो बालक नभएर हरिभक्त कटुवाल रहेछन् । उनले मलाई भने— विजय तिम्ले मेरो घर गएर भन्नु है— फूलहरूमा पानी हालिदिनू, लहराहरू नकाटिदिनू । अस्पतालबाट पेङरीस्थित कटुवालको घर फर्कंदै गर्दा मेरो मनमा एउटै कुरा खेलिरह्यो— हरिभक्त कस्ता मान्छे होलान्, आफू मृत्युसँग पौंठेजोरी खेलिरहँदा समेत आफूले रोपेका फूलहरूको चिन्तामा छन् । मलाई लाग्छ, हरिभक्तलाई सच्चा सम्मान गर्ने हो भने उनको श्रद्धाञ्जलिमा प्रत्येक वर्ष दुईदुईवटा फूल रोपिदिए पनि पुग्छ ।' (राजिन पनेरु, पुरु लम्साल, फुर्सद)

३. त्यति बेला अविनाश श्रेष्ठ ब्याचलरमा पढ्थे । साहित्यकार लीलबहादुर क्षेत्रीको घरमा बसेर हरिभक्त कटुवालले विद्यालयको पाठ्यक्रम लेख्दैरहेछन् । त्यसका लागि अविनाशले पनि सहयोग गर्नुपर्ने भएछ । प्रिन्ट नभएको ऊ जमानामा चाहिने जति कपी हातैले सार्नु पर्थ्यो । उनले पनि एउटै कुरा ८ पटकसम्म सारेको बताए  । 

हरिभक्त कटुवाल रक्सी धेरै खान्थे । उनी भन्छन्, ‘त्यति बेला पनि खाए ।’ भट्टी पसल कछारी भन्ने ठाउँमा थियो । हामी त्यहीँ थियौँ । त्यहाँ रेडियो नेपालबाट उनले लेखेको गीत बज्यो । उनले मैले लेखेको गीत बज्यो भनेर हल्ला गर्न थाले, कसैले पताएन । उल्टो केटाहरुको कुटाइ खाए, यस्तो जँड्याहाको यत्रो फूर्ती भनेर कुट्नु कुटे ।’ त्यसपछि श्रेष्ठलाई भगाएर लीलबहादुरको घरमा ल्याएछन् । 

अर्काे किस्सा पनि छ कटुवालसँग, श्रेष्ठले भने, ‘म त्यतिबेला हरिभक्त कटुवाल बसेको घरमा गएको थिएँ । उहाँ त एउटा हातमा सल्किएको चुरोट लिएर निदाइरहनुभएको रहेछ । सल्किएको चुरोटबाट सिरानी पूरै डढेको रहेछ । उहाँको त कपाल पनि लामो थियो पछाडिको आधी भाग जलेछ म पुगेपछि उहालाई ब्युँझाएँ । र दुर्घटना हुनबाट बचाएँ ।' (प्रजु पन्त, नागरिक)

४. हरिभक्त कटुवाल त एक समय अभिव्यक्तिका सम्पादक नै भए । तलबी होइन, विज्ञापन खोजेर खाने सम्पादक । खासमा कटुवाल प्राज्ञ बन्न चाहन्थे । तर, केदारमान व्यथितले ‘क्लर्क’ बनाइदिए । कटुवालका आँखा रक्सी नपिउँदा पनि मात्तिएका जस्ता देखिन्थे । “वास्तवमा कटुवाल मैले जति पनि रक्सी खान्थेन, उसलाई एकै गिलासले लाग्थ्यो,” उनी भन्छन्, “खाएभन्दा बढी सो गर्दा डाक्टरसमेत झुक्किए ।” एक दिन पिउँदापिउँदै कोमामा गएका हरिभक्तलाई बोक्न ट्याक्सीवालाले मानेन ।

‘पोखिएर घामको झुल्का...’ लेख्ने यिनै हुन् भनेपछि बिनापैसा लगिदिएको उनी (नगेन्द्रराज शर्मा) सुनाउँछन् । (राजकुमार बानियाँ, नेपाल म्यागजिन)

५.“आसाम, ब्रह्मपुत्रको पल्लो किनारमा हरिभक्त कटुवाल दाइ ब्रह्मलीन हुनुभयो, वल्लो किनारमा म जन्मिएँ,” उनी (प्रमोद खरेल) भन्दै थिए, “उहाँले संसार छाडेको वर्ष म जन्मिएँ त्यसैले पनि होला— कताकता उहाँसँग म गाँसिएझैं लाग्छ

हरिभक्त दिवंगत भएकै साल धर्तीमा पदार्पण भएका प्रमोद खरेलले आफ्नो सांगीतिक जीवनको पोयो फुकाउँदै गर्दा मस्तिष्कको कुना–कन्दरामा कताकता झंकृत हुन्छ ‘मलाई नसोध कहाँ दुख्छ घाउ ।’ ( तिलस्मी प्रमोद, नेपाल दृष्टि)

६. कटुवालको शवयात्रामा मलामीको संख्या जम्मा १३ जना थियो भन्ने उनीमाथि बनेको उक्त वृत्तचित्रमा समेत देख्न पाइन्छ । राजा महेन्द्रले 'केही जग्गा दिन्छु, त्यसैमा बस' भन्दा 'होइन हजुर, म साहित्यको खेती गर्ने मान्छे हुँ । मलाई यो जग्गाको के काम ?' भन्न सक्ने मान्छे हुन् कटुवाल । कटुवाल र अभाव पनि पर्यायवाची शब्द बन्न पुगे । प्रज्ञाप्रतिष्ठानबाट अनेक जालसाजी गरेर कटुवाललाई निकालिनु नै नेपाली साहित्यको महाभूल ठान्छन् नगेन्द्रराज शर्मा ।

आफ्नो स्वाभिमान र इमान्दारीबाट नचुकेका कटुवालले मलामीसमेत कमाएनन् अन्तत: । के कारण थियो त उनको मलामी जम्मा १३ जना हुनुमा ? लम्साल (पुरु) गम्भीर हुँदै भन्छन्, 'किनकि उनी क्षयरोग र अल्सरबाट ग्रस्त थिए एकातिर भने आफ्नो ऊर्जाशील समय नेपाली भूमिमा बिताएका हुनाले आसाममा उनका साथी भएनन् ।' क्षयरोग आफैँमा सरुवा रोग भएकाले पनि धेरै मान्छे उनका नजिक जान डराएको उनी बताउँछन् । बजारमा रक्सीका कारण धेरै मान्छेसँग झगडा गरेर व्यक्तिगत सम्बन्ध बिगारेको आरोप पनि उनीमाथि लाग्दै आएको छ । लम्साल भन्छन्, 'सम्बन्ध बिगारेको आरोपचाहिँ नीच र कुण्ठितहरूको अभिव्यक्ति हो, यसमा कुनै विश्वसनीयता छैन ।' (राजु पौडेल, थाहा खबर)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...