काठमाडौँ- संसदीय समितिले कक्षा १२ का परीक्षार्थीका लागि तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकले कक्षा १२ को परीक्षार्थीका लागि कोरोनाविरुद्धको खोपको तुरुन्त व्यवस्थापन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेकाले सोही खोप कक्षा १२ का परीक्षार्थीहरूलाई उपलब्ध गराउन सुरु गरिसकेको बताए । देशभरका गाउँ तथा शहरका कक्षा १२ का परीक्षार्थीले खोप लगाउन पाउने उनले बताएका छन् ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप खरिदको प्रक्रिया अगाडि बढाएको बताए । उनले हुम्ला, जुम्ला, मुगु, मुस्ताङ, मनाङ जस्ता जनसंख्या कम भएका ग्रामिण भेगमा र काठमाडौं उपत्यका, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर २ लगायतका जनसंख्या बढी भएका स्थानहरूमा खोपको प्राथमिकतामा राखिएको बताए ।
त्यस्तै पोखरा, भैरहवा, लुम्बिनी र चितवनजस्ता पर्यटकीय गन्तव्यमा पनि खोपलाई प्राथमिकता दिइएको उनले बताए । बैठकमा मन्त्री श्रेष्ठले हालसम्म १ करोड ३२ लाख खोप आएको र ९० लाख जनताले खोप पाइसकेको जानकारी दिएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...