नेचुरल्ली दीपक

 
कोकाकोला र पेप्सिको साथमा म:म  खाँदै गरेको कुनै नेपाली पूर्ण अङ्ग्रेजीमा, स्पेनिस वा फ्रेन्चमा बोल्दै जिन्समा सजिएर वसन्तपुर डबलीमा देखिइनुमात्र विश्वव्यापीकरण हो भने यो शब्दांशलाई शब्दकोषको लागि भार मात्र हो भनेर बुझ्दा केही फरक नपर्ला । अथवा सगरमाथा 'माउण्ट एभरेष्ट' को रुपमा विश्वभर परिचित हुनु र नेपालीहरु वीर गोर्खा बनिनू र बनाइनुलाई पो मान्ने कि विश्वव्यापीकरण ?

आज हाम्रो पसिना कहाँ चुहिएको छैन ?  कतारको आलिशान स्टेडियमदेखि कोरियाको चिसो हिउँहरुमा हाम्रो पसिनाको बुँद तप्पतप्प झरिरहेछन् । त्यसैले त,पि.आर र डिभीको  रनाहकमा हरिबाट ह्यारि अनि रिताबाट रिटा बन्न लालायित छन् पछिल्लो पुस्ता ।  अनि तामाङको  लवजमा नेपाली बोल्दा हेपिने डरले म्हेन्दो बरु आङ्ल भाषामा बोल्न रुचाउँछ । उसरी नै सलहेश पनि मधेशी मृदुतालाई त्यागेर आजकाल हिराकानाको अक्षर घोकिरहेको हामी देख्न विवश छौँ । सायद यी म्हेन्दो र सलहेशहरू नै पो विश्वव्यापिकरणको सम्वाहक हुन् कि ।

आज हामी यति विवश भैसकेको छौँ कि, युरोप वा अमेरिकाको भिसा लाग्ने बित्तिकै कसैको पनि भविष्य सुन्दर मात्र हैन उच्चस्तरको पो भैगएको मान्न थाल्छौँ । हतार-हतार उतैको पर्मानेण्ट रेसिडेण्ट बन्न सके त जीवन उत्सवमय भैहाल्छ हामीलाई । विश्वको छत सगरमाथा हाम्रो हो भनेर गर्व गर्ने हामी सोलुखुम्बुमा बस्छु भन्दा वा संसारकै ज्योती  बुद्ध जन्मिएको लुम्बिनीको कुनै देहातमा बस्दा हामी हीनताबोध गर्छौं। सोलुखुम्बु र लुम्बिनीको देहातलाई २१ अौँ  शताब्दिसम्म पनि अटाउन नसकेको विश्वव्यापीकरण कतिको विश्वसनीय हो र ?

शताब्दियौँबाट (सन् १६२० बाट नेपालीहरू प्रवेश गरि बस्न लागेको) भुटानमा बसिरहेका करिब १ लाख नेपालीभाषीहरु सन् १९९० भन्दा अघिबाटै लखेटिन विवश भए र आज सदियौँबाट (ईश्विको १४ शताब्दि ) म्यानमार  बस्दै आएका रोहिन्ज्याहरु त्यहाँको बहुसङ्ख्यक  नागरिकहरूबाट प्रताडित भएर भाग्न विवश भैरहेको हामी देखिरहेछौँ । यी दुई त उदाहरणहरु मात्र हुन् र लखेटिनु वा सताईनुको मूल कारण  विदेशी भइनु र बनाइनु नै रहेको हो । आज पनि विश्वको अनेक देशहरुबाट कैयन् मानिसहरु विभिन्न कारणमा लखेटिन विवश भैरहेछन् ।
हिजोको स्लेभ-ट्रेड ट्र्याङ्लको पुनरावृत्ति नै त हो कि आजको विश्वव्यापीकरण  । अफ्रिकी  भूमिबाट जबर्जस्ती  लगि कृषि लगायत अनेक श्रममा युरोपियनहरुले हिजो दास बनाएजसरी आज अनेक कारणले(आर्थिक, सामाजिक, राजनैतिक) युवाहरु विदेशिन बाध्य छन् । हेर्दा श्वेस्च्छिक लाग्ला तर हामीले आज भोगिरहेको एकप्रकार यो बसाइँ-सराई हाम्रो युगको नव आर्थिक उपनिवेशको एक भयानक रोगको रुपमा विकसित नहोला भन्न सकिन्न । मानौँ विश्वलाई यदि युद्ध, आतङ्क वा भयावह रोगव्याधिले आक्रमण गरेको खण्डमा कुनै पनि देशमा आश्रित विदेशी वा नव-नागरिकले संरक्षण पाउने र समान सुविधा अनि अधिकारको अवस्था के होला ? २० अौँ शताब्दि वा त्योभन्दा अगाडिको उग्र-राष्ट्रवाद फेरि मौलाए ती नव-नागरिकको हक,अधिकारको संरक्षण गर्न संयुक्त राष्ट्रसङ्घ लगायत अन्य मानवीय सङ्घ,संस्थाहरुले कतिको सबल भएर कार्य गर्न सक्षम रहला ? आज पनि विश्वमा उग्रवादी वा आतङ्कवादीहरुले बाह्य मूलका नागरिकहरु अनेक प्रताडना दिन छोडेका छैन । घृणा र हत्याको बर्बर घटनाहरु घटिरहेको आजको यो समयमा पनि धेरै युवाहरु सकारात्मक भएर विदेशिन बाध्य छन् । यस मानेमा नेपाली युवाहरु पनि विश्वको हरेक कुनामा ज्ञान र सीप बाँड्न र बेच्न छरिएका छन् । यसरी विदेशिनुलाई पो मान्ने हो कि विश्वव्यापीकरण ?

तथापि गहिरिएर हेर्दा आर्थिक रुपमा बलियो राष्ट्रहरुको कलादेखि पोशाक र खाना अनि गानासम्म कमजोर राष्ट्रहरुमा खुल्लमखुल्ला भित्रिरहेको हामी देख्न सक्छौँ ।यसैको दुष्परिणाम नै त हो आज हामी नेपालीहरु अङ्ग्रेजी बोल्न सक्नुलाई शिक्षासँग जोडेर हेर्छौं ।  अनि सभ्यतासँग तुलना गर्छौं । विश्वव्यापीकरण सही अर्थमा लागू हुने हो भने त न्युयोर्कमा ढीँडो र गुन्द्रुक सर्वशुलभ रुपमा यहाँ बर्गर र पिज्जा पाएसरी बेचिनुपर्ने हैन र ? कोट सुटमा गर्व गरेजस्तै हाम्रो नेपाली मौलिक पोशाकहरु पनि ती देशहरुमा गर्व गर्न लायक हुनुपर्ने हैन र ? तर अहँ भएकै छैन, उसो भए विश्वव्यापीकरण साँच्चै  सुरु भैसकेको हो ? तर उत्तर सहज छैन देश र जनता हेरेर आज पनि धेरै देशहरुमा फरक व्यवहार गरिन्छ । जस्तो कि, कुनै पनि आर्थिक सम्पन्न देशमा गरिब भनिएको  देशहरुको नागरिकले पाउने तलब सुविधालाई नै लिन सकिन्छ । अझ अरु मानविय सेवा र सुविधामा के कति भिन्नता होला भन्ने अनुमान मात्र गरे पनि यसको जवाफ सहजै पाउन सकिन्छ ।
भर्खरैको कोरोना सङ्कटले धेरै आप्रवासी  कामदारले दुःख पाए । कतिले रोजगार गुमाए त कति स्वदेश फर्कन बाध्य भए । यो सङ्कटलाई भयावह भएता पनि बिस्तारै नियन्त्रण गरिँदै लगिएको छ । यदि यो सङ्कट, मान्नुस १० गुणा बढि भइदिएको भए ती आप्रवासीहरुको अवस्था के हुन्थ्यो होलार ? उत्तर अनुमान लगाउन सकिन्छ । के त्यो सङ्कटलाई विश्वव्यापीकरणले सम्बोधन गर्न सक्छ होला र ?
आधुनिक विश्वमा प्रविधिको विकासले दुनियाँ सहजरुपमा जोडिन सफल भएता पनि कुनै पनि युरोपेलीले नेपालको भिसा जति सहज रुपमा पाउन सक्छ उति सहज रुपमा नेपालीले पाउन नसक्नु विश्वव्यापीकरण विरुद्धको उपहास हैन र ? हिजो उपनिवेश कालमा गरिब देशहरुमा सिधा हमला गरेर प्राकृतिक स्रोत साधनको दोहन गरिए जसरी आज हाम्रो युवाहरु श्रम र सीप बेच्न विवश हुनु र विशाल व्यापारिक सञ्जाल विस्तार गरेर संसारभर आफ्नो उत्पादन बेचेर एकात्मक व्यापार गरिनु मात्र विश्वव्यापीकरण हो भने हामी सायद ठगिदै छौँ । र, यस्तै हो भने विश्वव्यापीकरण २१ अौँ शताब्दिको उपनिवेशवाद बाहेक अरु केही होईन । अन्ततः हामी हाम्रो मौलिकतालाई बिर्सेर उनीहरु जस्तो बन्न विवश हुनेछौँ । परिणाम स्वरुप हामी बाघको छालामा गधा सिमित नरहौँला र ?

 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...