यी फार्स पात्रसँग मुलुक, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र आम नागरिकप्रति शून्य उत्तरदायित्व छ । फार्स राजनीतिको मञ्चन गरेर सत्तामा टिकिरहनु तथा श्रोत, साधन र शक्तिको दुरुपयोग गरेर दलाल तथा आसेपासे पोसिरहनु, अनि संविधान तथा सशस्त्र युद्ध तथा जनआन्दोलनको जगमा प्राप्त तमाम उपलब्धीहरू धुलिसात पार्नु नै यिनको प्रमुख ध्येय छ ।

- युवराज भट्टराई 

फार्स एउटा हास्यरसप्रधान नाट्य विधा हो । हास्यास्पद गतिविधि सहित बेतुकका संवाद र हाउभाउ देखाएर दर्शक हसाउनु यसको विशेषता हो । सामान्य विषयलाई अतिरञ्जित गर्दै व्यक्ति या समाजको चरित्रलाई व्यङ्ग्य गर्नु यसको मुख्य ध्येय हो ।

श्रुतिकथन परम्पराबाट जन्मिएको फार्सको शुरूवात कहिले भयो ठ्याक्कै भन्न सकिन्न । तर फ्रेन्च भाषामा १२ औं शताब्दीमा लेखिएको ‘द ब्वाइ एण्ड द ब्लाइन्ड म्यान’लाई सबैभन्दा पुरानो लिखित फार्स मानिन्छ ।

यस फार्समा एक दृष्टिविहीन भिखारी र अर्को उसको नोकर गरि दुई चण्डालहरू छन् । भिखारी यति धुर्त छ कि उसले काम माग्ने गर्छ तर पैसाको थुप्रो खुसुक्क लुकाएर राखेको हुन्छ । त्यो पैसा भिखारीबाट कसरी हत्याउने भन्ने ध्याउन्नेमा नोकर हुन्छ । नभन्दै मालिक भिखारीलाई पाटपिट पारेर एकदिन उसले पैसा लुट्छ । ‘चोर माथि चण्डाल’ भन्ने थिममा आधारित यो फार्स हाम्रो समाजमा मात्रै होइन राजनीतिमा पनि दुरुस्त मिल्छ ।

त्यसो त अहिले फार्स सडक र डबली प्रहसनमा मात्रै सिमित छैन । केही वर्ष अघि फार्स विधामा बनेको सिनेमा जोकरले एकेडेमी अवार्डमा तहल्का पिटेको थियो । र, आज आएर फार्स नाटक या सिनेमामा मात्रै सीमित छैन । यसले नछोएको कुनै विधा र क्षेत्र पनि छैन ।

फुटबलमा त ‘फार्स–फुटबल’ भन्ने एउटा पदावली नै छ । यसका गतिलो उदाहरण हुन् कार्लोस हेन्रिक राम्पोसो । फुटबल छुन पनि डराउने यिनले महान खेलाडी भएको ढोंग रचीरहे । अनेकौँ तिग्डमबाजी गरेर क्लबहरूलाई झुक्याउँदै एउटै खेल नखेली दुई दशक भन्दा बढी व्यावसायिक फुटबलर बनिरहे । 

झुक्याउनु र छक्याउनु मात्रै फार्सभित्र पर्दैन । रमिता बन्नु पनि आफैँमा फार्स हो । एकदमै झरेर–गिरेर हाँसो र मजाकको वस्तु बन्नु पनि फार्स बन्नु हो । वाह्य परिस्थिति वा आफ्नै प्रवृतिका कारण वरिष्ठ र सम्मानीतहरू पनि रातारात ‘फार्स’मा रूपान्तरित हुन सक्छन् । 

अर्का फुटबलर रोनाल्डिन्होलाई नै हेरौँ न । कुनै समयका सबैभन्दा उत्कृष्ट उनी कुनै दिन विहानको अभ्यासमा हेलिकप्टर लिएर जाने गर्थे । रामरौस र मोजमस्तीका कारण यिनी खच्कदै गए । टाट उल्टन पुगे । हिरासतमा पर्दा मेसीले जरिमाना तिरिदिने सम्मका दिन आए । आफ्नै एटिट्युडका कारण अर्का एकदमै दक्ष खेलाडी बालाटोली पनि हेर्दाहेर्दै फार्समा बदलिए । 

कुनै मुक–अमुक आम व्यक्ति आफ्नै प्रवृतिका कारण अधोगतिमा लाग्नु वा पतन हुनु भनेको दुनियाँको नजरमा रमिता बन्नु हो । फार्समा रूपान्तरित हुनु हो । यसले केही खास असर पनि राख्दैन । 

यो रमितालाई हामी ट्राजेडी भन्न सक्दैनौँ । वास्तवमा संसारमा ट्राजेडीको त्यस्तो छुट्टै अस्तित्व हुँदैन । फार्स बिग्रिएर या विकसित भएर चै ट्राजेडी बन्न सक्छ । ह्याम्लेटलाई नै हेरौँ न उ यति सोच्छ कि सोचेको सोच्यै, सोचेको सोच्यै, सोचेको सोच्यै बदला लिन नै भ्याउँदैन । नायकको यस्तो प्रवृति आफैँमा कुनै फार्सभन्दा कम छैन । यसैले अन्ततः ट्राजेडी निम्त्याउँछ । 

ओडिपसलाई हेरौं । उ आमासँग संसर्ग हुने त्रासका कारण मुलुक छोडेर हिँड्छ । फेरि आमाकै उमेरकी महिलासँग विहे गर्छ । ओडिपसको अधैर्यता र विवेकशून्यता त भविष्यवक्तासँगको उसको संवादमा पनि हामी पर्याप्त देख्न सक्छौँ । शासकको विवेकशून्यता पनि आफैँमा एउटा फार्स हो । यसैले अन्ततः वियोगान्त सिर्जन्छ । 

फार्स आफैँमा नराम्रो होइन, यो मनोरञ्जन गर्ने कलाको अद्भूत विधा हो, एक रस हो । हामीमा फार्स कलामा मात्रै सीमित छैन, सयौँ वर्षदेखि संस्कृतिकै अभिन्न पाटो बनिसकेको छ । दुःखमा पनि मानिस हासुन् र रमाउन् भनेर नै वार्षिक तालिकामा पनि हामीसँग गाईजात्रा छ, त्यो पनि विशिष्ट संकृतिको रूपमा । यो हामीसँग भएको फार्सको एतिहासिक र सांस्कृतिक पाटो हो । 

नाटक फार्स हेर्नको लागि बनेको एक सुन्दर कला हो । ‘फार्स फुटबल’ र ‘फार्स क्यक्तित्व’ हेर्न र सुन्नको लागि रमिता हो । आम मानिसले आफ्नो व्यक्तिगत जीवनमा फार्स मञ्चन गर्छ भने यसको नियति उ आफैँ भोग्छ । तर, राज्यको जिम्मेवार तहमा विराजमान व्यक्तिले फार्स देखाउने हो भने के होला ? अझ राष्ट्रपति र प्रधानमन्त्रीले सिलसिलेवारसँग वर्षौ फार्स मञ्चन गरिरहने हो भने के होला ? 

‘फार्स राजनीति’ र ‘फार्स राजनीतिज्ञ’ भनेको मुलुक र जनताकै पीडाको विषय हो, दुखान्त हो, वियोगान्त हो, ट्राजेडी हो।

हाम्रोमा फार्स पोलिटिक्सको इतिहास लामै छ । तर, पछिल्लो राजनीतिक फार्सको प्रहसन यसरी गरियो कि यो मूक–अमूक सबैले सजिलै बुझ्न सक्ने गरी सतहमा देखियो । र, यसको शुरूवात प्रधानमन्त्रीको राष्ट्रवादी लिलाबाट भएको थियो । अनि यही मञ्चनबाट उनी राजनीतिको केन्द्रमा स्थापित भएका थिए । तर शक्ति आर्जन गर्न यति मात्रै पर्याप्त थिएन । त्यसैले चुनावी पूर्व सन्ध्यामा अर्को तेस्रो ठूलो दलसँग कथित एकताको नौंटङ्गी गरियो । ‘गोबरको घिउमा भक्किउँलाको तरबार’ साटेजस्तो यो सौदाबाजी आफैमा एउटा फार्स थियो । गुट र उपगुटमा बिभाजित समुहहरू एक–अर्कालाई सकेजति खुइलाउन लागिपरेको दृश्य कुनै फार्सभन्दा कम थिएन । 

फार्सका खास–खास दृश्यहरू त मुलुकले त्यतिबेलाबाट देख्न पायो जतिबेला स्वयम् फार्स ब्यक्तिले शासनको बागडोर सम्हाले र सत्ताको कुर्सीमा बसेर रमिता मात्रै पस्किरहे । मेगालोमानियाबाट ग्रसित यिनले रेल र पानीजहाजका फुईमात्रै पस्केनन् । मुलुकलाई सुरुङमार्गमै धकेलिदिए । घरघरमा ग्याँस पाइप बिछ्याए । नीतिगत भ्रष्टाचारमा चुर्लुमम ढुबेर स्वसासनको रटान लगाइरहे । बोल्न सम्म झुटो बोले । 

उनको फार्स पर्सनालिटी बोलिमा मात्रै झल्किएन । यसबीच आफू जिम्मेबार पदमा छु भन्ने बिर्सदै उनले आफ्ना बिभिन्न स्वरूपहरू प्रस्तुत गरिरहे । यिनी कवि–गीतकार भए, इतिहासविद भए, संस्कृतिविद भए । मार्कोपोलोले उत्तरी ध्रुव पत्तालाए जस्तो नयाँ अयोध्यापुरी पत्ता लगाउन समेत पछि परेनन् । यिनी कहिले भाइरोलोजिस्ट, कहिले चिकित्सक त कहिले वैज्ञानिकको रुपमा प्रश्तुत हुन पनि पछि परेनन् । सबैभन्दा दुःखको कुरा उनी इतिहासकै खराब शासक भए । यो आफैँमा हामीले अरुचिपूर्णसँग झेलिरहेको फार्स थियो। 

झुटको पुलिन्दा फलाक्ने सर्वज्ञानी अहमताबाट ग्रसित यि खास फार्स पात्रलाई जोसुकैलाई जहाँ पायो त्यही छुद्र वचन फलाक्न कहिल्यै कुनै लाज सरम भन्ने लागेन । यो नकच्चरो प्रवृति आफैँमा कुनै फार्स पात्रको भन्दा कम थिएन । 

त्यतिमात्रै होइन, नैतिकतालाई तिलाञ्जली दिँदै सत्तामा जसरी पनि टिक्न उनले गरेका हर्कत र तिगडमहरूले संसारकै सबैभन्दा चण्डाल फार्स पात्रलाई माथ खुवाइदिएको छ । जब जब आफ्नै कुशासनका कारण आफ्नै दलभित्रबाट उनको सरकारलाई संकट आइलाग्यो, कहिले राष्ट्रियताको, कहिले लोभलालचको त कहिले धम्कीका अनेकौँ तुरुपहरू यिनले तेर्स्याए । अझ अचम्म चैँ यो भयो कि यत्रो समयसम्म यि ट्रिकिस्टरको छललाई परास्त गर्ने अर्को कुनै माइकालाल निस्केन । यो दृश्यपनि फार्सभन्दा कम थिएन ।

फार्स यत्तिमा मात्रै सीमित भएन । फार्स त्यतिबेला क्लाइमेक्समा आइपुग्यो जब पुष ५ गते प्रधानमन्त्री सँगसँगै राष्ट्रपति पनि फार्सको स्टेज सेयर गर्न आइपुगिन् । जब एक पात्र अविश्वासको प्रश्ताव सहित सत्ताबाट बाहिरिने स्थिति आउन लाग्यो । अर्कीले रातारात संविधानकै अपव्याख्या गर्दै संसद विघठन गरिदिइन् । न्यायालयले पछि संसद पुनःस्थापना त गरिदियो, तर यसले फार्स राजनीतिको सिलसिला भने रोक्न सकेन । 

राष्ट्रपति र प्रधानमन्त्री मात्र होइन, यो परिदृश्यमा अरू सहायक फार्स पात्रहरूपनि जोडिन आइपुगे । सत्ताधारी दलका दुई गुटबीचका बार्ता, खिचातानी, बाझाबाझ, गाँड कोराकोर तथा पटक–पटक दोहोरिरहने मिलन–विछोडको नौटङ्गी आफैमा राजनीतिक फार्सका अन्य सहायक परिदृश्यहरू थिए । यो अझै सकिएको छैन ।

यो बीचमा कहीँ केहीको चर्चा चल्यो भने यही फार्स राजनीतिको चल्यो । कतिसम्म भने कोभिड महामारी समेत छाँयामा परेको थियो । र, यि राजनीतिक फार्सहरूको लागि कोभिड संकट कुनै महत्वको विषय हुन पाएन ।
सत्तासिनहरूको फार्सलाई लम्ब्याउने काममा अदालतले पनि अलिकति भूमिका खेलिदियो । अदालती निर्णयकै भरमा उसले पार्टी विभाजन गरिदियो । यसकै कारण सानो समूहलाई दुईचार दिन भएपनि घुमाउन फार्सका प्रमुख कलाकारलाई सहज भयो । र, फार्स प्रहसन केही लम्बिन पुग्यो ।

अहिले सर्वोच्च अदालतले तोकेरै नयाँ प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष परमादेश जारी गरिसकेको अवस्था छ । यसले सिलसिलेवर फार्सलाई रोक्छ कि रोक्दैन त्यो हेर्न बाँकी नै छ । अझै सत्तासिनहरूको फार्स प्रहसन जारी राखेमा निश्चयनै मुलुक थप ट्राजेडीतिर धकेलिने छ ।

फार्स प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन सकेनन् । बहुमत संसदको समर्थनमा जोसुकैले पनि प्रधानमन्त्री दावी गर्न सक्ने भयो । अघिल्लो दिन फार्स प्रधानमन्त्रीले भन्न भ्याए कि उनको प्रधानमन्त्रीमा दावी सकियो । तर भोलिपल्ट प्रतिपक्षी गठबन्धनले नयाँ प्रधानमन्त्रीको लागि बहुमत हस्ताक्षर लिएर राष्ट्रपति समक्ष पुग्दा, ट्रिकिस्टर ओलीले पहिल्यै फर्जी हस्ताक्षर सहित दावी गर्न भ्याइसकेका थिए । यति सम्मको निर्लज्जता प्रस्तुति वास्तविक फार्सको पात्रले मात्रै गर्न सक्नुपर्ने हो । यतिसम्मको हर्कत मुलुकको प्रधानमन्त्रीले गर्न सक्नु भनेकै फार्सको पराकाष्टा हो ।

अनि जसरी पनि संविधानमाथि पटक–पटक कुठाराधात गर्दै यिनै फार्स प्रधानमन्त्रीलाई कायमै राखिराख्न राष्ट्रपतिले चालेका कदम र रचेका तिगडमहरूले भन्छ – संसारकै सबैभन्दा फार्स राजनीतिक पात्र भनेका यही मुलुकका वर्तमान राष्ट्रपति र प्रधानमन्त्री हुन् । जसले सत्तामा टिकिरहन जस्तोसुकै तुच्छ हर्कतपनि देखाउन सक्छन् । 

यी फार्स पात्रसँग मुलुक, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र आम नागरिकप्रति शून्य उत्तरदायित्व छ । फार्स राजनीतिको मञ्चन गरेर सत्तामा टिकिरहनु तथा श्रोत, साधन र शक्तिको दुरुपयोग गरेर दलाल तथा आसेपासे पोसिरहनु, अनि संविधान तथा सशस्त्र युद्ध तथा जनआन्दोलनको जगमा प्राप्त तमाम उपलब्धीहरू धुलिसात पार्नु नै यिनको प्रमुख ध्येय छ ।

त्यसैले नै यिनले पटक–पटक संसद र संविधानमाथि निर्मम प्रहार गरिरहेका छन् । संसदहरू खल्तीमा नागरिकता बोकेर प्रधानमन्त्री चुनिदिन अदालतमा गुहार माग्न पुग्नुपरेको छ । संसदले होइन अदालतले बनाइदिन परेको छ सरकार । मुलुकको लागि यो भन्दा ठूलो ट्राजेडी अरू के हुन सक्छ । अनि यो वियोगान्तको मूल चुरो भनेको मुलुकको फार्स प्रधानमन्त्रीको सिलसिलेवर फार्स प्रहसन नै हो । 

आधुनिक युगमा किन महान वियोगान्तक नाटकहरू जन्मिएनन् भनेर फ्रेडरिक नित्सेले घतलाग्दो तर्क दिएका छन् । उनका अनुसार, नसा र उल्लासको सुरमा नायकले गल्ती गर्थ्याे, होसमा आएपछि पश्चाताप गर्याे र ट्राजेडी बन्थ्यो । नित्सेले भनेको नसा र उल्लास आफैमा फार्सकै तत्व हो । 

अहिले सर्वोच्च अदालतले तोकेरै नयाँ प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष परमादेश जारी गरिसकेको अवस्था छ । यसले सिलसिलेवर फार्सलाई रोक्छ कि रोक्दैन त्यो हेर्न बाँकी नै छ । अझै सत्तासिनहरूको फार्स प्रहसन जारी राखेमा निश्चयनै मुलुक थप ट्राजेडीतिर धकेलिने छ । तर, त्यो ट्राजेडी लामो समय भने रहिरहने छैन । खासमा ‘फार्स’को बिगबिगी नै भइसकेको यो युगमा ट्राजेडी मरिसकेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...