Author

कुनै त्यस्तो पुराण छैन, जहाँ जातको कुरा नगरिएको होस् । यी सबै हिन्दू धर्मशास्त्र हुन् । जातव्यवस्था हिन्दुधर्मको अभिन्न हिस्सा हो र अरू कुनै धर्ममा यस किसिमको जातिय विभाजन र विभेद छैन । हिन्दु धर्मसँग जोडिएका अरु कयौँ सकारात्मक कुरा होलान्, तर आफ्नो धर्मलाई महान देखाउन झुटको सहारा लिनु उपयुक्त हुन्न ।

जात–व्यवस्था सम्बन्धी ‘प्रचलित संकथन’ कसले निर्माण गर्याे ? यो महत्वपूर्ण प्रश्न छ । यो विषयमा हामीकहाँ धेरै भ्रामक अवधराणा छन्, जसले कुनै न कुनै रूपमा जात व्यवस्थाको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेको हुन्छ । ती भ्रामक धारणाहरूबाट बेलैमा मुक्त हुनु जरुरी छ । 

यसका लागि हामीले जातव्यवस्थाको वस्तुगत इतिहासमा अझै बढी काम गर्नु जरुरी छ । यहाँ मैले पटकपटक सुनेका, सामाजिक सञ्जालमा देखेका दुई भ्रामक धारणा र त्यस्तो संकथनको राजनीतिबारे छलफल गर्ने प्रयास गरेको छु । 

१. के जातव्यवस्था कामको बाँडफाँडबाट शुरू भएको हो ? जातको विभाजन कामका आधारमा भएको थियो ? 

– जात–व्यवस्था जस्ता संरचना एक दिनमा कुनै एउटा नायक वा खलनायकले सिर्जना गर्ने होइन । यो सयौँ वर्षको अभ्यासबाट बन्ने कुरा हो । त्यसैले जात व्यवस्था खास किसिमको सामाजिक–राजनीतिक अन्तर्संघर्षको उपज हो । 

– मानव इतिहासमा यस्ता संघर्षहरू मुलतः आर्थिक शोषणका निमित्त भएका छन् । जात व्यवस्था पनि यसैगरी अस्तित्वमा आएको हो । यो तत्कालीन समय परिस्थिति अनुसारको वर्गसंघर्ष थियो । जुन वर्गले जित्यो, ऊ जात व्यवस्थाको माथिल्लो तलामा बस्यो र अरूलाई आफूभन्दा तल राख्यो । 

– जात व्यवस्था कामको बाँडफाँड नभएर शोषित समुदाय/समूहका मानिसलाई तोकिएको बाहेक अरू काम गर्न गरिएको निषेधबाट शुरू भएको हो । अर्थात बाध्यकारी श्रम । अर्थात जात व्यवस्थाको उद्गम (बुझ्न सजिलो होस भनेर पश्चिमा दास व्यवस्थासँग तुलना गर्ने हो भने)  दास व्यवस्थाको पूर्वेली स्वरूपका रुपमा भएको हो । 

– यो समाजलाई व्यवस्थित गर्न गरिएको कामको बाँडफाँड होइन, शक्तिशालीले आफ्नो बर्चश्व बलियो बनाउन शोषण र अपमानका आधारमा निर्माण गरेको संरचना हो । 

– जात व्यवस्था कामको बाँडफाँड हो भन्ने संकथन मान्यता १९ औँ–२०औँ शताब्दीमा पश्चिमा शिक्षाबाट प्रभावित सुधारवादी ब्राह्मणहरुले निर्माण गरेका हुन् । उनीहरू छुवाछुत हटाउन चाहन्थे तर जात–व्यवस्था कायमै राखेर । आर्य समाज लगायत त्यसबेलाका सुधारवादी अभियानहरू यही प्रवृत्तिका थिए । गान्धी स्वयं यही विचार राख्थे । 

धर्म–सुत्र र स्मृतिहरु निर्माणको कालखण्डमा आइपुग्दा जात व्यवस्था अत्यन्तै कठोर र अमानवीय बनेको देखिन्छ, मनुस्मृति यसको प्रतिनिधि उदाहरण हो । 

२. हिन्दू धर्म  धर्मशास्त्रमा जातीय विभेदको कुरा छैन ? 

– पटक–पटक भन्ने गरिन्छ– हिन्दू धर्ममा जातका आधारमा विभेद नै छैन, धर्मशास्त्रले विभेद गर्नु भनेकै छैन । यो धर्मको कुरा नभएर संस्कृतिको कुरा हो । झट्ट सुन्दा हामीलाई राम्रो लाग्छ– जातीय विभेदको विरुद्धमा कुरा गरेको जस्तो लाग्छ । तर यो त देखादेखि झुट कुरा भयो । 

– जातबारे (त्यसबेला वर्ण–व्यवस्थाका रूपमा) पहिलो लिखित साहित्य त ऋगवेदमा छ । ऋगवेदको पुरुष सुक्तमा वर्णन भएको सृष्टिकथामा विराट पुरुषको मुखबाट ब्राह्मण, पाखुराबाट क्षत्रीय, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्र उत्पन्न भए भनिएको छ । यहीँ वर्णहरूको उचनीच छिनोफानो गरिएको छ । यसपछि उपनिषद्हरूमा पनि विभिन्न रूपमा वर्णव्यवस्थाको चर्चा गरिएको छ । धर्म–सुत्र र स्मृतिहरू निर्माणको कालखण्डमा आइपुग्दा जात व्यवस्था अत्यन्तै कठोर र अमानवीय बनेको देखिन्छ, मनुस्मृति यसको प्रतिनिधि उदाहरण हो । 

– सबै धर्म शुत्र र स्मृतिहरूमा शुद्र र पञ्चम वर्णलाई दासका रूपमा चित्रित गरिएको छ । सुद्रलाई वेद सुन्न र वाचन गर्न निषेध गरिएको छ, सुनेमा कानमा तातो झीर कोचिदिनु र उच्चारण गरेमा जिब्रो थुतिदिनु भनिएको छ । उसलाई सम्पत्ति राख्न निषेध गरिएको छ र कथंकदाचित सुद्रसँग सम्पत्ति भएमा ब्राह्मणले लुटेर लिन पाउने भनिएको छ ।यसपछि कुनै त्यस्तो पुराण छैन, जहाँ जातको कुरा नगरिएको होस् । यी सबै हिन्दू धर्मशास्त्र हुन् । जातव्यवस्था हिन्दुधर्मको अभिन्न हिस्सा हो र अरू कुनै धर्ममा यसकिसिमको जातीय विभाजन र विभेद छैन । 

– हिन्दु धर्मसँग जोडिएका अरू कयौं सकारात्मक कुरा होलान्, तर आफ्नो धर्मलाई महान देखाउन झुटको सहारा लिनु उपयुक्त हुन्न । यो तर्कले जातव्यवस्थाको वास्तविकतालाई अस्वीकार गर्छ, र मानिसहरुलाई वास्तविक कुरा बुझ्नबाट बञ्चित गर्छ । प्रकारान्तमा यो जातव्यवस्थाको पक्षपोषण हो ।

खतिवडाको फेसबुक पेजबाट
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

रोहेज खतिवडा

लेखकबाट थप...