'बोतलको पानीले आँखा सन्काइ नानीले
इज्जत गयो पिउने बानीले'
'होस गर है सोल्टिनी तोङ्बा तान्या छु
लाइदेउ माया सुटुक्कै नत्र जान्या छु'
'नखानु पानी तोङ्बाको त्यो पारी भट्टीको
तोङ्बाको पानीले फनन साउनीको नाउ के हो भन न'
'पहिलो गिलास हान्दाखेरी मुखै बिग्रिने
दोस्रो गिलास हान्दाखेरी कुरै बिग्रिने
त्योभन्दा नि बढी भए घरै बिग्रिने'
ठर्रा, सेन्तेरेम, खोया बिर्के, लोकल, तिनपाने इत्यादि, यी सब रक्सीका विकृत नाम हुन् । हामीले सुन्ने गीत, हामीले हेर्ने डिजिटल दृष्य (सिनेमा/म्युजिक भिडियो), पढ्ने किताब, पढाउनेको बोली, हाम्रो वरपर बनेका किस्सा र उखान-टुक्काहरू, यी सबैतिर जताततै रक्सीलाई यति धेरै गाली गरिएको छ, यति धेरै रक्सीको बेइज्जती गरिएको छ कि मानौँ यो रक्सी दुनियाँको सबैभन्दा बदनाम वस्तु हो । हाम्रो समाज पछि पर्नुमा, हामी अविकसित रहनुमा, हामी विश्व समुदायसँग प्रतिस्पर्धा गर्न नसक्नुमा या जे जति कमी कमजोरीहरू हामीसँग छन् ती सबै यही रक्सीकै कारण भएका हुन् । यस्तै मान्यता स्थापित भएको छ हाम्रो सामाजिक चेतनामा । गीतहरू बनाइन्छन्, माथि उल्लेख गरिए जस्ता । सिनेमाहरूमा सिर्फ रक्सी पिएर मात्ने/मात्तिने अनि झै-झगडा गर्ने, गलत प्रवृत्तिको दृष्य मात्रै देखाइन्छ । साहित्यकारहरू त्यही रक्सीको बोतलसँगै राखेर रक्सीकै विरोधमा लेखिरहन्छन् । तर, रक्सीको वास्तविक अर्थ र यसको सांस्कृतिक महत्वतिर कसैले ध्यान दिएको देखिन्न ।
रक्सी खासगरी नेपालका आदिवासी जनजातीहरूले सदियौँदेखि अभ्यास गर्दै आएको एउटा वैज्ञानिक पद्धति हो । संसारमा रहेका विभिन्न यौगिकहरूलाई निश्चित तापमानमा पुर्याउँदा तिनीहरू बाफमा परिणत हुन्छन् र बाफ चिसो वस्तुसँग ठोकिँदा तरल अवस्थामा परिणत हुन्छ भन्ने सिद्धान्तको खोज १९ औँ शताब्दीतिर मात्रै बल्ल भएको हो ।
अल्कोहलको मात्रालाई औषधीय गुणमा प्रयोग गर्न सकिन्छ भन्ने खोज १० औँ शताब्दीतिर भएको देखिन्छ। तर यी दुबै प्रयोग विशेष गरेर किराँत सभ्यतामा हजारौँ वर्ष पहिलेदेखि गरिँदै आइएको थियो। यो सभ्यतामा मर्चाको पहिलो उत्पादन सुम्निमाबाट भएको मिथक पाइन्छ । मर्चा रक्सी उत्पादनको सबैभन्दा प्राथमिक पदार्थ हो । मर्चाले नै पकाइएको अन्नको प्राथमिक स्वरूपलाई बदल्ने काम गर्दछ ।
अहिले पनि परम्परागत रूपले नै रक्सी उत्पादन गर्ने गर्दछन् सम्बन्धित समुदायमा । उनीहरूलाई विज्ञानले अभ्यास गरेको उर्ध्वपातन नामक रासायनिक प्रतिक्रियाको नाम थाहा छैन । न त उनीहरू आधुनिक औषधि विज्ञानमा रक्सीजन्य पदार्थमा पाइने अल्कोहल प्रयोग गरिन्छ भन्ने नै जान्दछन् । रक्सी बनाउने यो सीप हजारौँ वर्षदेखि उस्तै गरी पुस्तान्तरण हुँदै आइरहेको छ। अझै पनि गाउँघरतिर कसै कसैको घरमा ४/५ पुस्ता अघिदेखि रक्सी बनाउन प्रयोग गरिँदै ल्याइएका सामग्रीहरू भेट्न सकिन्छ। तर बिडम्बना! रक्सी बनाउने सीप मात्रै होइन युगौँदेखि रक्सी प्रयोग गर्नुपर्ने संस्कृतिमा बाँचेर आएको समुदाय समेत लगभग किनारामा फालिएको समय हो यो । भौगोलिक एकीकरणको नाममा तत् तत् भूगोलमा आ-आफ्नै भाषा, सभ्यता, रहनसन र संस्कृतिको अभ्यास गरिरहेका समुदायहरूको राजकाज मात्र खोसिएन उनीहरूका सारा मौलिकताहरूमाथि नियन्त्रण गरियो, कतिपयलाई प्रतिबन्धै लगाइयो र प्रशासनिक/भौगोलिक उपनिवेशसँगै साँस्कृतिक उपनिवेशको विधिवत शुरूवात भयो। त्यही बिन्दुबाट आदिवासी जनजातिहरूका भाषा, रैथाने सीप, कला र संस्कृतिहरूको क्षयीकरण तथा रहलपहललाई विद्रुप बनाउने क्रम शुरू भएको मान्न सकिन्छ । एकीकरणले संस्कृतिहरूलाई त बलात् ढंगले हिन्दुकरण गरिदियो भने सिपहरूलाई निष्क्रिय बनाउने, तिनका बारे अनर्गल प्रचार गरिदिने कामहरू भए । जसले गर्दा सम्बन्धित समुदायको नयाँ पुस्ताले आफ्नै संस्कृति, भाषा, परम्परा इत्यादिलाई गिज्याउने अवस्था बन्यो । त्यसबाट आफूलाई टाढै राख्ने र चलिरहेको Trend मा मिसिन लालयित हुन थालेको देखियो । आधुनिकता अनि अनेकतामा एकताको नाममा विविध भाषा, संस्कार, संस्कृतिहरूलाई जबर्जस्ती एउटै मालामा उन्ने कुटिल भाषिक जालोमा बेरेर अझ अल्मल्याउने काम भइरह्यो ।
यस्तै सिलसिलामा किराँत सभ्यताको सबैभन्दा महत्वपूर्ण संस्कृति रक्सी बनाउने सीप र यसको साँस्कृतिक महत्वलाई राज्यका तर्फबाट लामो समयदेखि गलत व्याख्या गराईयो। कानुनी रूपमा रक्सी उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाउने काम भयो। रक्सीलाई नसाको रूपमा मात्रै हेर्ने थिती बस्यो । साहित्यकारहरूले पनि रक्सीलाई मोजमस्तीका लागि प्रयोग हुने वस्तु या विरह र विरक्तिमा पीडा भुलाउने माध्यमका रूपमा मात्रै लेखिरहे । गीतहरूमा रक्सी खाएपछि बेहोस भइजाने वा असामाजिक, अमर्यादित व्यवहार मात्रै गरिरहने ढंगले व्याख्या गरियो । फिल्महरूमा कथाका खलपात्रहरूले मात्रै अनावश्यक रक्सी प्रयोग गरेको दृष्य प्रस्तुत गरी रक्सीप्रतिको नकारात्मक धारणा निर्माणमा टेवा पुर्याइरह्यो । विद्यालयका पाठ्य सामग्रीहरूमा कहीँकतै पनि रक्सीको साँस्कृतिक महत्व तथा यसको रासायनिक स्वरूप एवं रक्सी तयार गर्दा अपनाइने त्यो पुरानो तर वैज्ञानिक प्रविधिका बारे उल्लेख नै गरिएन ।
विशेषगरी नेपालका आदिवासी जनजाती समुदायमा रक्सी महत्वपूर्ण मानिन्छ । जन्मदेखि मृत्युसम्म रक्सीको प्रयोग अनिवार्य गर्नुपर्ने साँस्कृतिक प्रचलनहरू रहेका छन् । किराँत राईहरूको त कुनै पनि बच्चा जन्मिएपछि न्वारनकै दिन मुखमा मर्चा-पानी लगाइदिने संस्कृति छ । मर्चाको प्रयोग गर्नु भनेकै रक्सी हो। यसको आशय परापूर्व कालमा मान्छेले विभिन्न बालीनालीहरूको खोज गर्नुभन्दा पहिला मर्चा अर्थात रक्सी बनाउने सीपको विकास भएको थियो भन्ने दावी गर्न सकिन्छ । जन्मेपछिका हरेक साँस्कृतिक रितहरू रक्सी नभई पूरा हुन सक्दैनन् । छेवर-पास्नी, विवाह, झैँ-झगडा मिलाउने वा मृत्यु संस्कार! यी सबैमा रक्सीको आफ्नै प्रयोजन रहेको छ । अधिकांश जनजाती समुदायमा मागि विवाह र प्रेम विवाह दुबै मान्य हुन्छन र सोही अनुसारको अभ्यास समेत जारी छ । राईहरूमा यदि मागी विवाह गर्नुपरे जोडी चिण्डोमा रक्सी बोकेर केटी माग्न जानुपर्दछ । जसलाई 'चुकुवा लगाउने' भनिन्छ। यदि केटी पक्षबाट स्वीकार्य भएमा अर्कोपटक पनि चिण्डोभरी रक्सी नै बोकेर जानुपर्दछ । तर चिण्डोको संख्या भने बढ्दै जान्छ । माइती पक्षका दर दाजुभाई, कुल-कुटुम्ब, मावली इत्यादिका लागि समेत लमीहरूले शिर उभ्याउने प्रयोजनका लागि छुट्टाछुट्टै चिण्डोमा रक्सी लैजानुपर्ने प्रचलन छ । उक्त चिण्डोको आकार भने एउटै नहुन सक्छ । कुनैमा २ बोतल, कुनैमा ३ बोतल वा तलमाथिको क्षमता हुनसक्दछ । प्रेम विवाह गरेको भए चुकुवा भिजाउने रित बाहेक सम्पूर्ण रितहरु उस्तै गरी बुझाउनुपर्दछ ।
यो समुदायमा कतै आफन्त, छिमेकी वा दाजुभाईमा कुनै पनि निम्तो मान्न जानुपर्दा रक्सी बोक्नैपर्ने प्रचलन छ भने कसैको झगडा पर्दा दुई पक्षलाई मिलाईसकेपछि अन्तिममा रक्सी नै आवश्यक हुन्छ । गल्ती गर्ने मान्छेले आफ्नो गल्ती स्वीकार गरेर पीडितसामु माफी माग्दा बोतलभरि वा चिण्डो भरि वा मटिया (घैलाको स्वरूपमा निर्मित माटोको सानो भाँडो) भरी रक्सी राखेर साइनो अनुसार ढोग गर्नुपर्ने प्रचलन छ। त्यति गरेपछि पीडितले मनमा गुनासो राख्न पाइन्न भन्ने मान्यता छ । चित्त नबुझेको कुरा भए गाउँसमाज भेला भएको सोही कचहरीमा पेट माझामाझ गर्नुपर्छ पिठ्यूँ पछाडि कुरा काट्ने वा अहित चिताउनु हुँदैन भन्ने धारणा रहेको पाइन्छ ।
मान्छेको मृत्युपछि पनि रक्सी उत्तिकै महत्वपूर्ण छ । मृतकको चिहानमा तीन वटा उल्टो चोङ्गे (बाँसलाई छड्के मुख बनाई ताछेको ढुङ्ग्रो) मा रक्सी, पानी र जाँड राखिदिने चलन छ । (जिवितलाई सुल्टो र मृतात्मालाई उल्टो चोङ्गे प्रयोग गर्नुपर्ने मान्यता छ।)
मृतकको काजकिरिया गरिरहेको घरमा आफन्त, दाजुभाई, चेलिबेटी, छरछिमेकी सबैले 'हेर्न जाने' वा साथ दिन जाने चलन छ । त्यसरी जाँदा मृतकको नाममा/सम्झनामा जाँड वा रक्सी लैजानुपर्दछ । प्रत्येकले ल्याइदिएको जाँड वा रक्सीको अंश मृतात्मालाई दिनुपर्ने परम्परा छ । काजकिरियाको अन्तिम दिन पनि मृतकको परिवारका सदस्यहरूलाई धामीले जाँडकै प्रयोग गरेर हात धुलाइदिई नुन छोएर किरियामुक्त गरिदिने संस्कार रहीआएको छ । हरेक उधाैली-उभौलीहरूमा गरिने पितृ तथा प्रकृतिको पूजा रक्सीको प्रयोगबिना गरिने संस्कार छैन । यसरी जन्मेदेखि मृत्युसम्मका हरेक संस्कृतिमा एउटा सगुन वा सौगातका रूपमा प्रयोग गरिने रक्सीजन्य पदार्थको आफ्नै सौन्दर्य छ। यससँग जोडिएका अनेकौँ त्यस्ता सिलसिलाहरू छन् जसलाई समातेर मिहिन ढंगले खोजी गर्न सके हाम्रो सभ्यताका कैयौँ अनुत्तरित सवालहरूको हल हुन सक्दछ । किनभने रक्सीको प्रयोग गरिने संस्कार भर्खर हिजो अस्ति वा केही वर्ष वा केही दशक वा शताब्दीअघि मात्रै शुरू भएको होइन ।
समयक्रमसँगै मानिसहरूको बसासराइँ, देश-परदेश आवतजावतको क्रमले फरक समुदाय, संस्कृति तथा सभ्यताहरूका बिच आदानप्रदान बढ्दै जाँदा रक्सीको संस्कृति कुनै खास समुदायको मात्र रहेन । किराँत सभ्यतामा अत्यन्तै महत्वका साथ सांस्कृतिक कार्यमा प्रयोग गरिने रक्सीलाई अन्य समुदायले केवल एउटा पेय पदार्थका रूपमा मात्रै प्रयोग गर्न थाले । उनीहरूलाई यसको सांस्कृतिक प्रयोग र महत्वसँग के मतलब ? त्यसपछि उनीहरूको जथाभावी प्रयोगले देखाउने शारीरिक असरलाई मात्र समाजले देख्न थाल्यो । त्यही बिन्दुबाट रक्सी एउटा नशालु पदार्थका रूपमा बदनाम हुन थाल्यो सायद । आधुनिक समाज/राज्य निर्माणपछि तिनको नेतृत्वभन्दा निक्कै मुनि थिचिएका आदिवासी/जनजातिहरू भाषिक, सांस्कृतिक दमनमा परे । तिनले आफ्ना मौलिकताहरू खुलेर प्रयोग गर्न पाएनन् । राज्यको एकलौटी उर्दी मानिरहनुपर्यो । कता कतै छलिएर वा जोगिएर सामान्य थिती जोगाउने प्रयास मात्रै गर्न सके । लामो समयसम्मको त्यो निरन्तरताले कैयौँ मौलिक संस्कारहरू हराए, कुनै कथित लिखित कानुनको नजरमा गैरकानुनी दरिए । त्यही चपेटामा रक्सी पनि परेको हो । अझै पनि कानुनी रूपमा स्थानीय रक्सी उत्पादन तथा सार्वजनिक प्रयोगमा निषेध छ । समय समयमा हामी विभिन्न सञ्चारमाध्यमहरूमा प्रहरीद्वारा स्थानीय रक्सी ठूलाठूला ड्रमहरूबाट पोखेर नष्ट गरिरहेको देख्छौँ । तर देशमा खरबौँ मूल्यको विदेशी रक्सी बर्सेनि आयात भइरहेको छ । जनजाती समुदायमा आफ्नो साँस्कृतिक कर्मका लागि रक्सी उत्पादन गर्ने सीप हरेकले घरबाटै सिक्दछन् । हिजोआजका हरेक अवसरहरूमा रक्सीको प्रयोग अनिवार्य भइसकेको छ । यी अवस्थाहरूमा रक्सी प्रयोग गर्नु ठिक कि बेठिक त्यो बहसको छुट्टै विषय बन्ला । तर ती अवसरहरूमा खपत गर्नका लागि गाउँघरमा रक्सी उत्पादन हुने गर्दछ । त्यसले स्थानीयहरूका सामान्य गर्जो टर्ने पनि गर्दछ । तर राज्यले त्यसरी बेचबिखन गर्न दिँदैन । अनेक दुःख-जिलो गरेर उत्पादन गरेको रक्सी नै समाज पछि पर्नु, अविकसित हुनुको कारक देख्छ राज्य र नष्ट गर्न पुलिस खटाउँछ। तर त्यहाँ रक्सी मात्र नष्ट भइरहेको हुँदैन, रक्सी बेचेर पूरा गर्ने तिनका अनेक सपनाहरू पनि नष्ट भइरहेका हुन्छन् । राज्यका लागि त्यो एक ड्रम रक्सी हुनसक्छ, तर उत्पादन गर्नेका लागि त्यो धेरै चीज हो ।
यसरी एउटा विशाल साँस्कृतिक धरोहर बोकेर यहाँसम्म आइपुगेको रक्सीलाई हामीले यतिखेरको सापेक्षतामा मात्रै हेर्यौँ भने निश्चय नै खराब देखिन्छ । तर, यसले मानव सभ्यताको विकाससँगसँगै युगौँदेखि निश्चित समुदायको आस्था, विश्वास र भरोसा बोकेर ल्याएको छ । अझैपनि सो समुदायको सांस्कृतिक जिवनसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ । त्यसकारण रक्सी बनाउने परम्परागत सिपलाई प्रोत्साहन गरेर अझ मजबुत र बिस्तार गर्नुपर्ने हो राज्यका तर्फबाट । तर कहिल्यै पनि त्यतातर्फ ध्यान दिइएको देखिन्न । सार्वजनिक रूपमा रक्सी प्रयोग तथा उत्पादनको कुरालाई कानुनी रुपमै व्यवस्थित रूपमा नियमन गर्ने व्यवस्था गर्न जरुरी छ तर हामीकहाँ त समय समयमा यसलाई प्रतिबन्धित वस्तुका रूपमा व्यवहार गर्ने गरिएको छ । हरेक चीजको अत्यधिक प्रयोगले क्षति नै गर्दछ । चाहे ठोस खानेकुरा होस् वा तरल वा अन्य कुनै । तिनको प्रयोग गर्ने मान्छेमा भर पर्दछ। जुनसुकै चीजलाई एउटा सिमाभित्र रहेर प्रयोग गर्ने हो भने त्यो हानिकारक हुँदैन, जति देखिएको छ।
यो समय दुनियाँका सबै तह र तप्काका मानिसहरू रक्सी पिउँछन् । सामान्य जमघटदेखि लिएर ठूलाठूला समारोहहरूमा 'रक्सी कल्चर' अनिवार्य जस्तै बनिसकेको छ । यस्तो अवस्थामा हामीकहाँ युगौँदेखि अभ्यासमा रहेको स्थानीय सीप र उत्पादनलाई बदनाम गर्दै निरुत्साहित गरेर आयातित विदेशी रक्सीमा आफ्नो वैभव देख्नु दुःखद छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...