सामाजिक सञ्जालमा अहिले जुठे नाम गरेको टेलिशृङ्खलामाथि बहस चुलिएको छ । दलित पात्र र विषयवस्तुमाथि बनेको यो टेलिशृङ्खला एक युट्युब च्यानलमार्फत प्रशारित भइरहेको छ । गम्भीर विषयवस्तु नउठाएका र विशेषतः सतही मनोरञ्जनात्मक कमेडी पस्किने गरेको निर्माण समूहले प्रस्तुत गरेको यो टेलिफिल्ममाथि अहिले दलित समुदायमाथि नै मजाक गरिएको आरोप लागेको छ । समय परिवेशमाथिको अध्ययनको सीमितता तथा सतही चेतनाको शिकार भएको एवं परम्परागत गैर-दलित भाष्यको पृष्ठपोषण गरेको यस सिरियललाई आरोप लागेको हाे ।



त्यसो त जातीय विभेदमाथि टेलिफिल्म बनाइँदै गर्दा सम्बन्धित वर्ग र समुदायबाट एकजना पनि निर्माण टिममा नरहनु, यस विषयका कुनै विज्ञ सल्लाहकारसम्म पनि नरहनुले पनि यसको कमजोरीहरू देखिएका हुन सक्छन् । यसको सौन्दर्य चेतमा नै खडेरी परेको हुनसक्छ । त्यसैले यसले दलितको विषयवस्तु उठाउँदै गर्दा गैर-दलित भाष्यको पृष्ठपोषण गरेको आरोप सर्वप्रथम मनिषा विश्वकर्माले सामाजिक सञ्जालमा राखेकी थिइन् । उनी लेख्छिन्ः 

ओके, राजेश हमालले होस्ट गरेर सञ्चालनमा आएको कार्यक्रम ‘जातको प्रश्न’ चाहिँ १२ वटा एपिसोड नपुग्दै बन्द गरियो। जसले समाजमा हुँदै आएको जातीय भेदभाव र यसबाट शोषणमा परेका दलित वर्गको न्यायका लागि वकालत गर्दै थियो, लुकेका घटना मिडियामा आउँदै थिए ।

गैर–दलित एकजनाले दलितको हकहितका लागि, समाजबाट भेदभावपूर्ण सिस्टम उन्मुलन गर्ने हेतु यस्तो कार्यक्रम चलाउँदा सबैलाई असह्य भयो, राजेश हमालको कैयौँ आलोचनाकाे शिकार भए र अन्ततः ‘जातको प्रश्न’ नै बन्द गराइएको छ । तर, एउटा युट्युब च्यानलबाट प्रशारित नेपाली सिरियल ‘जुठे’मा तीन चार दशक पहिला हुने दलित वर्गले भोग्दै आएको विभेदलाई केही महान व्यक्तित्वको लेखन र निर्देशनमा अतिरञ्जन ग्लोरिफाई गरिँदै आएको रहेछ। दलितका पीडा बुझ्न, समाजबाट यस्तो भेदभाव हट्नुपर्छ भनेर बनाइएको सिरियल त यो हुँदै होइन, किनभने न यो कुनै दलितद्वारा लेखिएको हो, न यसमा कलाकारहरू दलित छन् ।


मनिषा विश्वकर्मा


हेय भाव अनि समाजमा दलितहरूलाई गरिने व्यवहार जसरी देखाइन्छ नि यो सिरियलमा यस्तो लाग्छ, समाजका कथित वर्गहरू गिज्जाइरहेछन् हामीलाई, विचरा तिमीहरू दलितहरू । तिमीहरूका कथा हामीले लेख्छम्, हामी प्ले गर्छम्, तिमीहरूको पात्र पर्दामा, तिमी दलितको पहुँचका बात होइनन् यी । तिमीहरू त खिसिक्क हाँस्दै गर आफ्नो अवस्था हेरेर । कति रहर हो एउटा मानव भएर अर्को मानवलाई हेप्न ? भन्न त भन्छन् नि छुवाछूत हटिसक्यो, मानसिकताबाट कहिले हटाउने हो ?

****

त्यसो त मनिषाले आफ्नो अभिव्यक्तिको अन्त्यमा ‘नोमरस्याभरन्यासप्लानिङ’ र ‘स्टपहाइज्याकिङआवरन्यारेटिभ’ भन्ने ह्यासट्याग पनि उल्लेख गरेकी छन् । मनिषा विश्वकर्माले छेडेको बहसलाई अझ सशक्त ढंगबाट मनोज विश्वकर्माले उठाएका छन् । उनका विचारमा यस्तो सतही ज्ञान र सौन्दर्य चेतका आधारमा दलित समुदायमाथि गरिने भद्दा मनोरञ्जन तुरुन्त बन्द गर्न पर्छ । मनोजले लेखेका छन्ः

‘जुठे’ टेलिशृङ्खलाबारे

‘जुठे’ नामको टेलिशृङ्खला बन्द हुनु पर्ने टेलिशृङ्खला हो । यसले न दलितको मुद्दालाई उठाएको छ, न त्यो सिरियल बनाउनेको गिदीभित्र त्यति बुद्धि छ । दलित पात्रलाई सिर्फ मजाकको विषय बनाइएको छ । दलित पात्रलाई मूल पात्र बनाएपछि पात्रगत ज्ञान लिनु, कथा कुन समयको हो, त्यसको ऐतिहासिकता अध्ययन गर्नु अनि न गतिलो सिरियल बन्छ। तर त्यो सब केही छैन ‘जुठे’ टिमसँग । अरू त अरू आफ्नो विधागत आधारभूत ज्ञानसम्म रै'नछ सिङ्गो टिमसँग। दलित पात्र केन्द्रित यसको कथा ‘नाटककै हो नौट्ङकी नै हो’ भन्दा ज्यादा छैन । विचरा पात्रहरू न्याउरो मुख पारेर टिलपिलाउन र अकारण मुठ्ठी सुर्काउनबाहेक सक्दैनन् । बनावटी कथालाई जबर्जस्ती सिरियलमा रूपान्तरण गर्दा न पात्रको आँसुले छुन्छ, न खुसीले । सामाजिक विषयवस्तु त्यसमा पनि अझ जातीय विभेदलाई लिएर यस्तो शृङ्खला बन्नु दुखद हो ।

सिरियलको पात्र हेरौँ, एउटा जिम्दार छ । जो कुनै कोणबाट जिम्दार लाग्दैन । न उसमा आजभन्दा ३–४ दशक अघिको सामन्तीपनको सुहाउँदो झलक छ न पुरूष हुनुको अहम् (बरू जिम्दार्नीले बुहारी र छोरीलाई गरेको कडाईबाट ‘महिलाको शत्रु महिला नै हुन’ भन्ने देखाउन अस्वाभाविक प्रयास गरेको छ ।  जिम्दार नोकरचाकरविहीन छ । उसको छोरोसमेत गाँउमा हैकम जताउन छाडेर परदेश पुगेको छ । उ सिर्फ नाम मात्रको जिम्दार हो । अर्को पात्र छ चाउरे । उ ‘तल्लो जात’को हो । उसको छोरी बलात्कृत हुन्छे, जिम्दारको पाहुनाबाट । यस्तो अवस्थामा त्यो पात्र बाउ हो कि बलात्कारी कतैबाट फरक देखिँदैन । यो कस्तो पात्र चित्रण हो ?


मनाेज विश्वकर्मा 


बलात्कृत चाउरेकी छोरी केही समय अघि जिम्दारको बुहारीसँग ‘हात हालाहाल’ गर्न पुग्छे । केही समयपछि आफू बलात्कृत भएको समेत भन्न नसक्ने स्थितिमा हुन्छे । जातीय विभेदले जर्जर भएको ठाँउमा जिम्दारको बुहारीसँग भिड्न तयार ऊ आफू बलात्कृत भएको चै बोल्न सक्दिन । यो कस्तो पात्र चित्रण/प्रवृति हो ? कसै गरी हजम हुँदैन । झन बलात्कारी पत्ता लगाउने अभिभारा ‘गु न गोबर’को पात्र गोथेलाई छाडिएको छ । यो गोथे पात्र त्यही हो; जसले यो सिरियलको निर्देशन र कथा लेखन गरेका हुन् । जुन बिलकुल ‘गोथे’ जस्तै बनेको छ ।

पात्र चित्रण र प्रवृति त ‘मजाक’ भन्दा ज्यादा त छैन नै । कथा पनि त्यस्तै खेदजनक छ । कथा रूपान्तरण त झन तमासा सिवाय केही छैन । यति लथालिङ्ग, यति ‘पुङ्ग न पुच्छर’को सिरियललाई युट्युब च्यानलको कमेन्ट सेक्सनभरि ‘वाह! वाह ! दामी’ भनिएको छ । हामी मानसिक रूपमा यति दरिद्र कसरी भयौँ ? 

केही दर्शकलाई लाग्दो रहेछ ‘यसले पुरानो समय देखायो’ ! अलि अलि ‘कमन सेन्स’ हुनेले यसमा ऐतिहासिकता भेट्न सक्दैन । बरू जातीय अहमको ‘नन–सेन्स’ चै छ्यालब्याल भएको पाइन्छ । ‘गोथे’ दाइ दलित मुद्दाप्रति बेखबर जमातको ‘माइण्ड सेमिङ्ग’ गर्दै  ‘वाह ! वाह !! क्या दामी !’  बटुल्न बन्द गर्नुस् ।

सिरियलको पहिलो अङ्कमा जुठे भन्ने पात्रले असिँया अर्जाप्छ तर बिँड नफुकाली बिँड नफुकाली अर्जाप्दा बिँड डढ्छ भन्ने पात्रगत सामान्य ज्ञान पनि ‘गोथे’ दाईसँग छैन । जुठे ‘जिम्दारको छोरी’सँग प्रेम गर्ने उमेरको छ । प्रेममा पर्ने त्यो ‘बूढो’ पात्र गर्धनमा गुलेली झुण्ड्याएर हिँड्छ ! के विधि मजाक गरेको ‘गोथे’ दाइ ? ‘गोथे’ दाइले पहिलो अङ्कमै चाउरे भन्ने अर्को पात्रलाई पनि अनावश्यक रूपले ‘साइड ब्याग’ भिराउनु भएको छ । गोथे दाइले पहिलो अङ्कमै ‘सुयोमा धागो छिराउन’ नसक्ने चाउरेलाई ‘दाउरा राम्ररी चिर्न सक्ने’ बनाउनु भाछ । गोथे दाइ के गरेको यस्तो यार ??

सिरियल बनाउने, लेख्ने थोरै पनि ज्ञान छैन भने सामाजिक इस्युमा यति असामाजिक काम नगर्नु क्या ! ‘गोथे’ दाइ दलित मुद्दाप्रति बेखबर जमातको ‘माइण्ड सेमिङ्ग’ गर्दै  ‘वाह ! वाह !! क्या दामी !’  बटुल्न बन्द गर्नुस् । मेरो भन्नु यति छ कि यसको थप इपिसोड निकाल्न बन्द गर्नुस् !!

मैले तेह्र शृङ्खलामध्ये सात शृङ्खलासम्म ‘जुठे’ हेरेँ । यसको टिमलाई मेरो समय सत्यानाश गरेकोमा अश्लील गाली गर्न मन छ । त्यति ‘भावानात्मक उत्तेजना’मा नआइकन भन्दा कम्तीमा यो भद्दा मनोरञ्जन बन्द गर्नुस् ।

****

त्यसैगरी, जुठे भावुक आदर्शवादी कथा भएको र यसले उपल्ला जातिको शोषण मात्र देखाएको तथा दलितहरूले  गर्ने प्रतिकारलाई छोपिदिएको आरोप रसुवाली कविले पनि लगाएका छन् । जुठेप्रति तुलनात्मक रूपमा नरम देखिएका कविले पनि यस्ता समस्या अन्य ठाउँ र विधाका साहित्यमा पनि हुने गरेको उल्लेख गरेका छन् । यो परम्परागत सौन्दर्यशास्त्रको परिणाम भएको पनि उनले भनेका छन् । उनी लेख्छन्ः

आदर्शवादी जुठे

टेलिसिरियल मार्फत चिनिएका कलाकारद्वय राजु मास्टर र बल्छी धुर्बेको कथा र निर्देशनमा बनिरहेको जुठे सिरियल अहिले प्रसारण भैरहेको छ । दलित आन्दोलनसँग सरोकार राख्ने व्यक्तिहरू र केही बौद्धिकहरूले समेत जुठे सिरियलको विषयमा आफ्नो धारण राखिरहेका  छन् । जुठे सिरियलका पछिल्ला अंक हेरेपछि लागेको केही कुरा भन्न जरुरी ठाने,

– सामाजिक कथा त्यहाँमाथि विभेदको कथालाई पर्दामा ल्याउनु भएकोमा निर्देशन र कलाकारहरूलाई सर्वप्रथम धन्यवाद । निरन्तरताको कामना पनि गर्छु ।

– तपाईंहरूले भनिरहेको कथा परम्परागत सौन्दर्यशास्त्रले  निर्धारण गरिएको मापदण्डमा अटाउँछ । जस्तो दलितहरूलाई करुणाको पात्र बनाइनु, सामान्तीहरूलाई शक्तिशाली बनाइनु, पुराना लुगा लगाएपछि दलित हुनु, दलितलाई गाली गर्नेबितिकै ऊ ठूलाको पाउ पर्नु आदिलाई जुठेले स्थान दिएको छ । यो समस्या हाम्रो कला साहित्यले भोगिरहेको साझा समस्या हो । म जुठे टिमलाई मात्र दोष दिन्न ।  प्रगतिशील साहित्यमा समेत यस्तै कथा भन्ने थिती बसेको छ । यसलाई फरक ढंगले भन्न सकिन्छ भन्ने चेत हामीमा हुन जरुरी छ ।

– विश्वभरिका फिल्महरू यस्तै समस्या छ । अमेरिकामा  काला जातिको कथा भन्दा गोरा जातिलाई शक्तिशाली देखाइन्छ, देखाइएको छ । हामी सिमान्तकृत पिडालाइ हेर्न एलिटहरुको चस्मा प्रयोग गरिरहेका छौँ  । जुठे र अरु कला साहित्यमा यस्तो हुनुलाई अस्वाभाविक कसरी मान्नु ।

– प्रसिद्ध लेखक खगेन्द्र संग्रौलाको उपन्यास जुनकीरीको संगीतमा लनयले दलित मुक्तिलाई सघाउँछ भन्नेखालको भाव आएपछि त्यसको आलोचना भएको थियोे । अहिले पनि आलोचना गरिन्छ । राजेश हमालद्वारा सञ्चालित जातको प्रश्नको समस्या पनि त्यही थियो सिमान्तकृतहरुलाइ हेर्न एलिट चस्माको प्रयोग ।


रसुवाली कवि 


– जुठे भावुक आदर्शवादी कथा हो । उपल्ला जातीको शोषण मात्र देखाउनु  र दलितहरुले  गर्ने प्रतिकारलाई छोपिदिनु यस्ता भावुक कथाहरुको विशेषता हुने गर्छ ।  जस्तो जुठेकी प्रेमिका जुनकीरी जुठेलाई तँ भन्छिन्, जुठे जुनकीरीलाई तिमी भन्छ ।  जुठे हरबखत डराउछ, काजीसँग बन्दुकको ध्वाँस र रवाफ छ । उनको साथमा एकजना पण्डित छन् । पण्डित र काजीको दोस्ती छ ।  पण्डित काजीसँग थुरथुर छन् । यस्तो कथा नेपाली सिनेमा धेरै देखाइएको छ  । 

– हामीले कला साहित्यमा धेरै प्रयोग गरिरहेका  छौं –भावुक आदर्शवाद । दलितहरुको बारे लेख्दा वा  पर्दामा देखाउँदा एउटै कथा पटकपटक दोहोरिन्छ । कुनै एउटा पात्र दलितहरुलाई साह्रै हेला गर्छ । आफ्नु छोराले दलितको छोरीसँगको  प्रेमगरेको  देख्दा  कुटपिट समेत गरेको हुन्छ । यस्तो अबस्थामा उ बिरामी पर्छ रगत अभाव हुन्छ । रगत दलितकै मिल्छ । रगत पाएर बाचेपछि उसमा एकाएक छुवाछूत बिरोधी सोचमा परिवर्तन हुन्छ । दक्षिणपन्थी मनुवा प्रगतिशील बन्न बिस मिनेट पनि लाग्दैन । यस्तो भावुकताभन्दा धेरै अगाडि छ जुठे । सामाजिक यथार्थवादको नजिक रहेको जुठेमा प्रगतिशील चेतनाको कमी छ ।

– जुठे टिमले यी कुरा मध्यनजर गरे ठिकै हुन्थ्यो कि ?

****

यस्ता तमाम प्रतिक्रियाबाट यो स्पष्ट हुन्छ कि टेली चलचित्र जुठे अब विवादबाट मुक्त भने छैन । त्यसो भए यसको समस्या कहाँनेर छ त ? के गैर–दलितले दलितमाथि बनाएको टेलिचलचित्र भएकै कारण जुठे विवादित भएको हो त  ? सम्भवतः समस्या कसले यसको निर्माण गर्यो भन्नेमा हुँदै होइन, समस्या विषयवस्तुलाई कसरी उठायो, प्रस्तुत गर्यो र के देखायो भन्नेमा नै हो । निर्माण कर्ताको जातिय र नश्लीय आधारमा विवादित हुने भए एक दशक अघि निर्मित टेलिचलचित्र दलनमा पनि विवाद आउनुपर्ने हो । यही कुरालाई मध्यनजर गर्दै महावीर विश्वकर्माले पनि जुठेको निर्माण समूहमाथि टिप्पणी दिएका छन् । उनी लेख्छन्ः 

जुठे नामको यो टेलिफिल्म गैरदलितले बनाएर के गल्ती गरे त ? यो विषय त समाजकै समस्या हो । यसमा सबैले काम गर्नु त झन् ठीक कुरा हो नि । काम गर्न अघि सरेकालाई यसरी नचाहिँदो तर्क गरेर हतोत्साही गर्नु वाहियात काम हो । कन्टेन्टमा समस्या छ भने त्यसलाई उठाउनुपर्यो तर कलाकार, मेकर दलित छैनन् भन्ने जस्तो आधारमा विरोध गर्नु बेतुकको काम हो ।

त्यसैले यो प्रष्ट छ कि निर्माण तथा कलाकार पक्ष गैर–दलित भएकै कारण जुठे आलोचित भएको होइन । बरू दलित सौन्दर्यचेत तथा परम्परागत गैर–दलित भाष्यको दास बनेकै कारण यो टेलिफिल्म चिप्लिएको हो । त्यसैले अब यो कुनै पनि दृष्टिकोणबाट कलाको विदा अन्तरगत पर्न सक्दैन, दलित साहित्यको कोटीमा त सरासर यसलाई राख्न मिल्दैन ।
दलित साहित्य हुनमा कम्तिमा त्यो समुदायको आवाज मुखरित गर्न भने सक्नुपर्छ । भारतको दलित ब्ल्याक प्यान्थर अभियानका अभियन्ता अर्जुन डाङ्लेका अनुसार, दलित साहित्य भन्नाले कथित उपल्लो जातबाट ‘अछुत’ भनिएका वा ‘तल्लो जात’ करार गरिएका समुदायबाट आएका साहित्य हो जसले जात, जातिय विभेद र दलितको जनजीवन र अनुभव उजागर गर्छ । अर्थात् यस्तो साहित्यले दलितको दृष्टिकोणबाट जनजीवनलाई हेर्छ ।


महावीर विश्वकर्मा 


हो, परम्परागत दलित साहित्यकारहरु विशेषत दलितले लेखेको साहित्यलाई मात्र दलित साहित्यको रुपमा लिन्थे । मराठी लेखक नरेन्दर जादव भन्छन्, ‘दलित र गैरदलितले लेखेको दलित साहित्यबीच आमा र धाइआमाले गर्ने प्रेमवत्तिकै फरक हुन्छ’ । यसो हुनुको पछि अर्का तमिल दलित लेखक सिभकामी भन्छन्, ‘गैर दलित लेखकहरु आफ्नै कुलिन दम्भसहित लेख्छन् र तिनले दलितको बारेमा सतही तवरले बुझ्छन्’ । यसको अर्थ तिनको लागि दलित विषय बन्दैन वस्तु मात्र बन्छ । 

सिभकामीको अनुभूति ठ्याक्कै परम्परागत उच्च जातिको भाष्य बोक्दै गैर–दलितले निर्माण गरेको जुठेमा मेल खान्छ । जुठेको लागि दलित टेलिफिल्मको विषय होइन, वस्तु मात्र हो । कास, विषय हुन्थ्यो भने यसले केही यसमा अध्ययन गथ्र्यो, सुझबुझ राख्थ्यो ।

तर दलितको विषयवस्तुलाई गैर–दलितले पनि मज्जाले उठाउन मिल्छ । त्यस्तो साहित्य पनि दलित साहित्यमा दरिन्छ। सबै जात व्यवस्था विरुद्ध लेखिएको साहित्यनै दलित साहित्य हो । तर यसको लागि दलित जीवन र अनुभुतिलाई स–सम्मान प्रथामिकतामा राख्नुपर्छ । जातिय विभेदपूर्ण सामाजिक संरचनामाथि प्रहार गर्नु नै दलित साहित्यको प्रमुख पाटो हो ।  दलित साहित्य उत्पिडनको अनुभव मात्रै होइन,  विभेदप्रतिको विद्रोह पनि हो । 

दलित साहित्य दमितमा आएको चेतना तथा जागरण हो । विभेदकारी राजनीतिक, सामाजिक तथा सांस्कृतिक संरचनाप्रतिको चुनौति हो । दलित सौन्दर्यका यि तमाम पाटोहरूमा जुठे नराम्ररी चरकेको छ । यसले त ठीक विपरित यो गम्भिर विषयवस्तुलाई सतही ढंगले सम्बन्धित समुदायलाई नै भद्दा मजाक बनाएर बस्तुकरण र बजारीकरण गरेको छ । त्यसैले त मनिषा विश्वकर्माले भनेकी छिन्, ‘हाम्रो भाष्यलाई लुट्न बन्द गर !’  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...