आज विश्वमा हामीले जस्तो खानेकुरा खान्छौँ, पशुपंक्षीलाई पनि त्यही खुवाउनुपर्छ भन्ने मान्यता स्थापित भैसकेको छ । त्यसैले पशुपंक्षीलाई पनि मासु तथा हड्डीजन्य आहारा मिट एण्ड बोन मिल– एमबिएम वा प्रोसेस एनिमल प्रोटिन –पिपिए खुवाउने प्रचलन बढेको छ । त्यसैले आज पशु आहारमा मिट एण्ड बोन मिल (एमबिएम) वा प्रोसेस एनिमल प्रोटिन (पिपिए)को प्रयोग जायज कि नाजायज भने प्रश्न टड्कारोसँग उठेको छ । संसारभरि यस विषयमा धेरै बहसहरु भएका छन् । तर नेपालको सन्दर्भमा भन्नुपर्दा यसको बारेमा केहिपनि बहस सुनुवाई नभएको र यो निर्वाध रुपमा प्रयोग हुँदै आएको छ । बिशेषतः युरोपबाट एमबिएम नेपालको कच्चा पर्दाथको रुपमा आयात हुँदै प्रयोग हुने गर्छ । ९९ प्रतिशत एमबिएम युरोपबाट आयात भएको पाइन्छ । सन् २००० मा युरोपमा म्याडकाउ डिजिज संक्रमण बढेपछि २००२ बाट युरोपियन युनियनको निर्णय अनुसार एमबिएमलाई फुड चेनबाट हटाउने निर्णय गरी यसलाई पशु आहारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध हालसम्म पनि कायम नै छ । म्याडकाउ डिजिज वा बिएसइको संक्रमित सानो कोषपनि कुनै जनवारमा छ भने त्यो विशेषतः मस्तिष्क तथा मेरुदण्डमा रहेको हुन्छ । कुनै पनि मेडिकल परिक्षणमा यो सजिलो पत्ता लाग्न सक्दैन । त्यसैलेनै मानिसले खानामा उपयोग गर्नको लागि मारिएका जीवजन्तुको मासुमा म्याडकाउ डिजिज नदेखिएपनि त्यसको अंश रहने कारणले यसलाई अझै प्रयोगमा बञ्चित गरिएकोछ ।
दोस्रो कुरा ठुलो मात्रामा उत्पादन हुने मासु उद्योगको रद्दीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि युरोपमा टड्कारोसँग उठेको छ । यसको सन्दर्भमा उनीहरूले यसलाई तुरुन्त छुट्याउँदै व्यवस्थापन गर्ने प्रणाली बसाइसकेको छ । जसअनुसार रोगबाट संक्रमित पशुको रद्दीलाइ सुकाई इन्धनको रुपमा बाल्नु भन्दा अन्य कुनै विकल्प छैन । त्यस्तै मासुजन्य प्रयोजनका लागि काटिएका जनवारको रद्दी व्यवस्थापन गर्नको लागि एउटा नियन्त्रित प्रणाली बनाई फर्टिलाइजरको रुपमा रुपान्तरित गरिन्छ । यसरी बनाइएको फर्टिलाइजरलाई पशुपंक्षी चरन क्षेत्रबाहेक प्रयोग गर्ने नीति लिइएको छ । यसको ओसारपोसार तथा व्यापारका लागि भेटनेरी सर्टिफिकेट लगायत अन्य सरकारद्वारा जारी भएका कागजपत्रहरु अनिवार्य रुपमा आवश्यक पर्छ । अर्को कुरा यसलाई युरोपभन्दा बाहिर निर्यात गर्न पाईँदैन ।
एमबिएम के हो र यो कसरि बन्छ ?
संसारभर मृत जनावरको सिनो व्यवस्थान गर्न त्यसलाई सुकाएर धुलो बनाई अन्यत्र प्रयोग गर्ने प्रचलन छ । बिशेष यो तीन प्रकारको मृत जनवारबाट उत्पन्न हुन्छ ।
क) कुनै क्षेत्रमा पशुजन्य रोग पत्ता लागेमा त्यस निश्चित क्षेत्रका सम्पूर्ण जनवार मारिन्छ ताकि यो रोग नियन्त्रण गर्न सकियोस् । त्यसको सिनोलाई सुकाइ धुलो बनाएपछि यसको प्रयोग भट्टीमा इन्धनको रुपमामात्र गर्नुपर्ने हुन्छ । यसभन्दा बाहेक यसको प्रयोग गर्नु कानुनअनुसार दण्डनिय अपराध हो ।
ख) कुनै ज्ञात कारणबिना जनवार मरेमा (जस्तो ढुवानी गर्दा आदी) त्यस्ता जनावरको धुलो दोश्रो श्रेणीमा पर्दछ । यसलाई पनि जलाउन र खाल्डो खनेर पुर्न मात्र पाइन्छ ।
ग) यस श्रेणीमा मानव खपतको लागि बध गरिएको जनवारको बाँकी रद्दीलाई प्रशोधन गरि बनाइएको धुलो पर्छ । अन्य महादेशहरुमा यस श्रेणीको उत्पादन पशु आहारमा प्रयोग गर्ने अनुमति भएपनि युरोपमा भने,एमबिएम पूर्णत निषेध छ । यसको प्रयोग चरनक्षेत्र बाहेकका जमिनमा मलको रुपमा मात्र गर्न पाइन्छ । हाल नेपालमा आयात हुने ९९ प्रतिशत एमबिएम युरोपबाट आउने गरेको छ ।
कुनैपनि एमबिएम चाहे अमेरिकन होस् वा युरोपियन कठोर सर्त पुरागरि मात्र निर्यात गर्न पाइन्छ । कुनैपनि एमबिएम मानव सम्पर्कभन्दा टाढा राख्नुपर्छ । तर नेपालमा आउँदा यो कन्टेनरमा लुज लोडभै आएको हुन्छ । यसलाई बेल्चाले निकालिन्छ भने दाना उद्योगमा मानिसले नै मेसिनमा लोड गर्ने गरिन्छ । त्यस्तै किसानकोमा त दानाको सिरानी हालेर सुत्नेसम्मको काम हुन्छ । जहाँ एमबिएम प्रयोग गर्न पाइन्छ त्यहाँ पनि यसको अवधि तीन महिनाको मात्र हुने मान्यता छ । तर नेपाल आउने एमबिएम कम्तिमा तीन महिनामा मात्रै कुनै दाना उद्योगमा पुग्छ । तीन महिना पश्चात् यसलाई टाइम बम जत्तिकै खतरनाक मानिन्छ । किनकी मासुको सुख्खा धुलोमा ब्याक्टेरियल र फङ्स ग्रोथ सारै धेरै हुन्छ । यो मानव स्वास्थ्यको लागि कुनै जैविक हतियार जत्तिकै खतरनाक हुन्छ । नेपालमा विगत चार दशकदेखि लाखौँ मेट्रिक टन एमबिएम वार्षिक रुपमा आयात हुँदै आएको छ । यसमा न कुनै भेटनरी प्रमाणपत्र जारि हुन्छ, न निर्यात इजाजत नै । यसको निर्यात् अवैध रुपमा युरोपबाट तस्करी भइआएको जगजाहेर छ । यो विषय युरोपियन सरकारहरुलाई थाहा भएपनि तिनले समेत आँखा चिम्लिरहेका छन् । यसैले यो तस्करीलाई झन् बल पुगेको छ । संसारको कुनै पनि मुलुकमा यस्तो बायोलोजिकल उत्पादन आयात गर्दा त्यहाँको सरकारी संयन्त्रबाट एकदमै कडा अनुगमन तथा नियम पालना गर्नुपर्छ । निश्चित मापदण्ड पुरा गरेर मात्रै आयात गर्न पाइन्छ । तर नेपालमा न यसको भेटेनरी सर्टिफिकेटको खोजीनीति हुन्छ न निर्यात प्रमाणपत्रको नै आवश्यकता पर्छ । निश्चित मापदण्ड बिना नै एमबिएम खुलेआम नेपाल भित्रिरहेको छ ।
त्यसैगरि युरोपमा जतिपनि मासुको लागि प्रयोग हुने जनवारहरू हुन्छन्, त्यसमा ७० देखि ८० प्रतिशत हिस्सा गाईगोरुको हुने गर्छ । २० देखि २५ प्रतिशत बङ्गुरको र बाँकी अन्य जनावरको हुन्छ । यि सबैको प्रशोधन संयुक्त रुपमै गरिन्छ । यस हिसाबले नेपालमा हुने सम्पूर्ण एमबिएममा गाईगोरुको अंश ७० देखि ८० प्रतिशत रहन्छ ।
बिशेषतः कुखुराको दानामा प्रयोग हुने यो कच्चापदार्थ किसानको घरघरमा पुग्छ । कुखुराले यसलाई खाए पछि त्यसको डिएनए कुखुराको डीएनए सँग मिल्न जान्छ । जाँते, कलेजो तथा आन्द्राभुडी जस्ता कुखुरामा पाचन प्रणालीका अंगहरु नेपालमा प्रयोग हुने चलनचल्ति छ । यि अंगमा दानाको कन्ट्यामिनेसन भैहाल्छ । यस हिसाबले यी तन्तुहरुमा मासुको अंश स्वास्थ्यका रुपमा पनि उत्तिकै हानिकारक रहेको छ ।
वातावरणीय प्रभाव
यसरी खाद्य श्रृंखलाबाट निकालिएको यस्तो घोषित पदार्थलाई पैठारी गरी खाद्य श्रृंखलामा भित्र्याउँदा यसले अकल्पिनिय परिणामहरू निम्त्याउँछ । रोगबाट संक्रमित कोषको सानो परिणाम एमबिएममा रहेको खण्डमा त्यो सिधै किसानको घरदैलोमा पुग्न जान्छ । हाम्रो कुखुरा पालन प्रविधि त्यति धेरै उन्नत पनि छैन र किसानहरु दैनिक रुपमा तिनको सम्पर्कमा पुग्छन् । यसैले पनि तिनको स्वास्थ्यमा जोखिम देखिन्छ । साथसाथै यो खेतबारीमा छरिनु पनि स्वभाविकै हो । यसले अन्य घर पालुवा जनवारहरूमा समेत संक्रमण फैलाउन सक्दछ । हाम्रो देशमा विभिन्न समयमा गाईवस्तुमा विभिन्न अनौठा रोगब्याध देखिने प्रक्रिया यही एमबिएमको त होइन भन्ने शंका गर्ने प्रशस्त ठाउँ छ । यसैबाट गाईवस्तु म्याडकाउ डिजिज संक्रमित भएको खण्डमा यसको भयावह परिणाम कल्पनाभन्दा बाहिरको कुरा हुन जान्छ । यसको गाम्भिर्यतालाई ध्यानमा राख्दै युरोपियन कांग्रेसले रेडियोएक्टिभ वस्तु जत्तिकै होसियारी साथ यसको व्यवस्थापन गर्ने निर्देशिका जारी गरेको छ । बर्डफ्लुले किसानको अर्थ व्यवस्था पटक–पटक धरासायी पार्ने गरेको छ । त्यस्तै विगत एक वर्षदेखि कोरोना भाइरसको संक्रमणले जनजिविका नै उथलपुथल भइरहेको अवस्थामा एमबिएम आयात गर्न दिएर म्याडकाउ डिजिज र स्वाइन फ्लू जस्तो थप नयाँ संक्रमणको फैलावट भएमा के यसको व्यवस्थापन हाम्रो क्षमताले भ्याउला रु
(लेखत दत्त मौलिकताको रक्षा, समाजबाट नियन्त्रित सानो घरेलु उद्योग र कृषि आत्मनिर्भरताले देश समृद्धि हुने वकालत गर्छन् _
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...