हाल कोरोना कोभिड १९ भाइरस वैश्विक महामरीको रूपमा देखिएको छ । चीनबाट सुरु भएको कोभिड १९को इपिडिमिकले विस्तारै महामारीको रूप लियो । आयुर्वेदमा ‘इपिडिमिक’लाई जनपदोध्वंश भनिएको छ । पञ्चभौतिक विश्वमा विकृत वायु (एयर पोलुसन), जल (वाटर पोलुसन), माटो (ल्यान्ड पोलुसन) र काल (मौसम/समय) लाई जनपदोध्वंशको कारण बताइएको छ । जनपदोध्वंशमा पञ्चतत्व (आकाश, वायु, तेज, जल र पृथ्वि) मध्ये कहिले पनि विकृत नहुने आकाश र अग्नि बाहेक अन्य तीन तत्व विकृत हुने हुन्छ ।
यसरी पर्यावरणीय तत्वहरुमा विकृति आएपछी पर्यावरण नयाँ बन्छ । जहाँ नयाँ-नयाँ प्रजातिको जीवाणु (भाइरस, ब्याकटेरिया, आदि) प्रकट हुन्छ, जीवाणु नयाँ उत्पन्न हुने होइन, पहिलेदेखि अस्तित्व रहेको जीवाणु प्रकट मात्र हुने हो । कोभिड १९ पनि यही प्रक्रियाबाट नै प्रकट भएको हो ।
अमेरिकी लेखिका मेरी क्लेर एरियटका अनुसार, पृथ्वीमा अनुमानित पाँच नौ निलियन (३० वटा शून्य) ब्याक्टेरिया छन्, जुन यस ब्रह्माण्डमा भएका ताराहरूको संख्याभन्दा पनि ज्यादा हो । पृथ्वीमा भएका ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा लगायतका सूक्ष्म जीवाणुहरूको तौल संसारभरका सम्पूर्ण वनस्पति, जीवजन्तुको कुल तौलभन्दा बढी छ । आधुनिक सुक्ष्मजीव विज्ञानले अहिले सम्म एक प्रतिशत जीवहरूको बारेमा मात्र पहिचान गर्न सकेको छ । उपयुक्त वातावरण पाउने बित्तिकै नयाँ नयाँ प्रजातिका जीवाणु वायुमण्डलबाट प्रकट हुने हुन्छ र रोग वा महामारी आकर्षित हुन्छ ।
स्तनधारीप्राणी मानवको बायालोजिले केही प्रजातिका जीवाणुलाई सहअस्तित्वमा संरक्षण गरेको हुन्छ, जो मानव स्वास्थका लागि हानिकारक हुँदैनन् । यसैगरी अन्य प्रजातीका प्राणीहरुमा फरक फरक प्रकारको जीवाणु सहअस्तित्वमा बसेको हुन्छ । जब मानवजातिले अन्य प्राणालीलाई भोजनको रूपमा ग्रहण गर्दछ । त्यसपछि त्यो मानवीय बायोलोजीमा प्रवेश पाउँछ । प्रवेश पाएको जीवाणु यदि मानव बायोलोजीमा स्वीकार भए केही हुँदैन तर अस्वीकार गरे त्यो जीवाणुले रोग लगाउँछ र महामारीको रूप लिनसक्छ । कोभिड १९ ले पनि यसरी नै महामारीको स्वरुप प्राप्त गरेको देखिन्छ । विभिन्न माध्यमबाट नयाँ जीवाणुले शरीरमा प्रवेश गर्दछ । शरीर जीवाणु विरुद्ध खरो उत्रिन्छ तर शरीरले जीवाणुलाई परास्त गर्न सक्दैन किन कि शरीरसँग भएको हतियारले नवजीवाणुलाई परास्त गर्न सम्भव हुन्न । शरीरमा नवजीवाणुसँग लड्न एन्टीबडी बनीसकेको हुन्न ।
जनपदध्वंशको कारणमा समय (काल)को विकृति भनेको आजका मानवसमाजको खानपानको शैलीमा आएको विकृति पनि भनिएको हो । १ डिसेम्बर २०१९, चीनको वुहान सहरमा सर्प, चरा, चमेरा, लोखर्के, खरायो लगायतका वन्यजन्तुको मासु वा जिउँदो बेचबिखन हुने बजारमा काम गर्ने कामदारहरुमा निमोनिया जस्तो अज्ञात रोग देखा पर्याे । रुघाखोकी लाग्ने, उच्च ज्वरो आउने, श्वाँस–प्रश्वाँसमा समस्या हुने संक्रमितहरू एक्कासी बढ्न थाले । तीमध्ये केही मरे। पाँच हप्तापछि जनवरी ७ मा उक्त अज्ञात रोगको पहिचान गरियो कोभिड–१९ ।
जंगली मानव जब सभ्य एवं सांस्कृतिक मानव बन्यो त्यसपछी उसको सम्पूर्ण कुरामा परिवर्तन आयो । मानवको बुद्धि वंगारा र भर्मिफिक्स एपेन्डिक्स अवशेषक अंग (भेस्जियल अर्गेन)को रूपमा रुपान्तरित भयो । मानव जातिको एडेप्टिब्टिब्लिटि बदलियो । समग्रमा मानवको जैविक शरीर नै बदलियो । भन्नुको अर्थ सभ्य मानिसले जे पायो त्यही खाँदा पाच्य नहुने खालको जैविक शरीर बन्यो । जे पाए त्यही खाँदा त्यसबाट रोग आमन्त्रित हुन थाल्छ । त्यही रोग महामारीको रूपमा देखापर्न थाल्छ । चिनियाँहरूले खाने गरेको सर्प, चमेरो, लोखर्के, भ्यागुता, सांग्ला, पुतली, रेशम किरा, विच्छी, माहुरी आदि किराहरू आधुनिक मानवको जैविक शरीरको लागि स्वीकार्य भोजन होइन । यसरी जे पाए त्यही खाँदा शरीरमा त्यही अनुसारको वातावरण निमार्ण हुन्छ । जहाँ नयाँ-नयाँ जीवाणु प्रकट हुन्छ । नयाँ-नयाँ रोग देखापर्छ जो महामारीको रूपमा विकास हुनसक्छ । कोभिड १९ पनि यसरी नै आएको देखिन्छ ।
चीनमा माओले रोगव्याधी नियन्त्रण गर्न थुप्रै उपाय अपनाए थिए । उनको सबभन्दा चर्चित र अस्वाभाविक प्रस्ताव ‘चार जीव नियन्त्रण अभियान’ थियो, जसमा माओले रोगव्याधि फैलाउन सक्ने मुसा, झिंगा, लामखुट्टे र भंगेरा समुल नष्ट गर्न आह्वान गरेका थिए । माओको यो अभियानपछि दसौं लाख जीवजन्तु मारिए । यसले चीनको पर्यावरण असन्तुलित बनाएर भयंकर भोकमरी ल्यायो, जसमा दसौं लाख मान्छेको ज्यान गयो । पर्यावरणको असन्तुलन भनेको माटो, पानी र हावामा विकृति ल्याउनु हो । फलतः नयाँ वातावरण निमार्ण हुन्छ जहाँ नयाँ खालको जीवाणु प्रकट हुन्छ र रोग आकर्षित हुन्छ ।
चौधौं शताब्दीमा युरोपभरि फैलिएको ‘ब्ल्याक डेथ’ अर्थात् प्लेग रोगलाई यसैगरी वर्णन गरिन्छ । यो मानव इतिहासकै ठूला महामारीमध्ये एक हो, जसले युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लियो । दुई हजार वर्षको इतिहास हेर्ने हो भने, संसारमा प्लेगका तीन ठूला महामारी फैलिएका छन्, जसले करिब २० करोड मान्छेको ज्यान लिएको थियो । पहिलो महामारी छैठौं शताब्दीमा फैलिएको थियो । त्यति बेला ‘बाइजानटाइन’ भनिने पूर्वी रोमन साम्राज्यमा सम्राट जस्टिनियन प्रथमको शासन थियो । दोस्रो महामारी चौधौं शताब्दीमा एसियाबाट सुरू भएर मध्यकालीन युरोपभरि फैलियो, जसलाई ‘ब्ल्याक डेथ’ का रूपमा चिनिन्छ । र, तेस्रो महामारी उन्नाइसौं शताब्दीमा चीनबाट सुरू भएर एसियाका अन्य भाग र अमेरिकासम्म फैलिएको थियो ।
अतः आजका मानिसलाई प्रविधिको विकासमार्फत संसार जितेको भ्रम छ तर प्रकृति विरुद्धको जीवनशैलीबाट उत्पन्न प्राणघातक र तीव्र फैलावट दुवै भएको एउटै भाइरस मानिस जातिको बर्बादीका लागि काफी हुन्छ । (पण्डित आयुर्वैदिक चिकित्सक हुन् ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...