Author
....र फेरी पनि इजरायलले प्यालेस्टाइनलाई आक्रमण गरेको छ । अरुबेलाजस्तै यो पटक पनि यि हमलाहरुको नतिजा भयावह छ । विश्लेषकहरु आजपनि चेतावनी दिरहेका छन् कि यो द्वन्द युद्वमा परिणत हुन सक्छ । तर प्यालेस्टाइनमा ध्वस्त भएका घरका धुलोझैँ हावामा मडारिरहेको मुल प्रश्न युद्व हुन्छ या हुँदैन भन्ने कदापी होइन । यतार्थको तराजुमा जोखे यसको महत्व गौण हुन पुग्छ । मुख्य प्रश्न त इजरायलले ताकिरहेको भिमकाय मिसाएलझैं हामीतिर सोझिएको छ । त्यो हो–प्यालेस्टाइनी जनताको मुक्ति कसरी हुन्छ ?
चाहे त्यो इराक माथि कथित जनसंहार गर्ने हतियार निर्माण गरेको आरोपमा आक्रमण होस् या सिरियामा आफ्नो लामो बसाँइ, यो प्रष्ट बुझिन्छ कि अमेरिका अरबको प्राकृतिक स्रोतको अधिकतम दोहन गर्ने मानसिकतामा छ ।
प्यालेस्टाइनी जनताको मुक्तिको प्रश्न इजरायलबाट मुक्तिसँगमात्र जोडिएको छैन । यसलाई त्यतिमा मात्र सामान्यकृत गर्नुको अर्थ बृहत सामाजिक–आर्थिक आयामलाई नजरअन्दाज गर्नु हो । प्यालेस्टाइनीहरुले उत्पिडन विद्यमान प्यालेस्टाइनी सत्ताको अन्त्य गरेर समाजवादी सत्ताको स्थापना नभएको दिनसम्म यथावत रहने छ ।
प्रायसः मानिसहरु सबै प्यालेस्टाइनीहरुलाई समान बुझ्ने गर्दछन् ।
सामान्य बुझाई के छ भने उपनिवेशवादको शिकार भएका कारणले सबैले एउटै उत्पिडन त भोगिरहेका छन् होला । सर्वत्र उपलब्ध यस भाष्यले प्यालेस्टाइनमा भएको वर्गिय विभाजनलाई नजरअन्दाज गरिदिन्छ । तर सबै प्यालेस्टाइनीहरुको उत्पिडन एउटै हुनै सक्दैन । दास युग देखि यताका हरेक समाजझैं प्यालेस्टाइन पनि उत्पिडित र उत्पिडकमा विभाजित भएको छ । ओस्लो सहमति पश्चात बिना रोकटोक प्रवेश गरेको नवउदारवादी नीतिले यो खाडललाई झनै फराकिलो बनाएको छ ।
‘प्यालेस्टाइन इन द मिडल इस्ट–अपोजिङ्ग नियोलिबरालिजम एन्ड युएस पावर (भाग १)’ लेखक एडम हानिएका अनुसार २००८मा निर्माण गरिएको ‘प्यालिस्टाइन रिर्फम एन्ड डेभेलोप्मेन्ट प्लान’ यस तथ्यका लागि गतिलो उदाहरण हुन सक्छ । सन् १९९४को आफ्नो स्थापनाकालदेखि नै नवउदारवादीहरुको सेवामा लागेको प्यालेस्टाइनी संस्थापन सत्ताले कार्यन्यवनमा लगेको यस योजनाले विदेशी लगानीमा आधारित निजी क्षेत्रबाट सन्चालित अर्थप्रणालीको निर्माण गर्ने नीति अपनाएको थियो ।
त्यसो त प्यालेस्टाइनी कानुनको धारा २१ले भन्छ, ‘प्यालेस्टाइनी अर्थ–व्यवस्था खुला बजारमा आधारित हुनेछ ।’ घोषणाले नैै प्यालेस्टाइनी समाज पँुजिवादी समाज हो भन्ने कुरालाई प्रमाणित गर्छ । थप प्रमाणका रुपमा हामी तारिक डानाको ‘द प्यालिस्टाइनीयन क्यापिटालिस्ट ह्याभ गन टु फार’मा दिएको तथ्यलाई हेर्न सक्छौं । उनका अनुसार, प्यालेस्टाइनी संस्थापन सत्ताले प्यालेस्टानमा आयात हुने मुख्य २५ ओटा सामानमा निजी कम्पनीहरुको एकाधिकार निर्माण गरिदिएको छ । यो एकाधिकारले विभेदको खाडललाई झनै गहिरो बनाउन सहयोग गरेको छ ।
प्रस्तुत तथ्यहरु प्यालिस्टाइन वर्गिय समाज हो भन्ने तिर नै सोझिन्छन् । र यदि कुनै समाजमा वर्गको उपस्थिती छ भने त्यहाँ हामी कुनै पनि हालतमा वर्ग संघर्षलाई निषेध गर्न सक्दैनौं । हुन त केहीका लागि वर्ग संघर्ष उदारवादले इतिहासको अन्त्य समयमा बितिसकेको समयको अनावश्यक विचार हुन सक्छ । तर यर्थाथमा यदि केहीको इतिहास अन्त्य भएको छ भने त्यो मानवताको हो ।
‘फुकुयामा सहि थिएः उदारवादले साँच्चै नै इतिहासको अन्त्य गरेको छ । महाप्रलयले मानवतको हत्या गरेको छ ।’
सामिर आमिन पुर्ण रुपमा सहि थिए जब उनले भनेका थिए– ‘फुकुयामा सहि थिएः उदारवादले साँच्चै नै इतिहासको अन्त्य गरेको छ । महाप्रलयले मानवतको हत्या गरेको छ ।’ वर्ग संघर्ष त्यो दिनसम्म जिवित रहने छ जुन दिन सम्म समाजमा वर्गहरु विद्यमान रहने छन् । यो नै सत्य हो र प्यालेस्टाइन पनि यसको अपवाद रहन सक्दैन ।
तर के अहिलेको प्यालिस्टाइनी आन्दोलन राष्ट्रिय मुक्तिको हुनु पर्दैन र ? वर्ग संघर्षले त त्यहाँको आन्दोलनलाई खण्डित गर्न सक्छ । हामीले यो कुरा बुझ्न जरुरी छ कि राष्ट्रिय मुक्ति–आन्दोलन र वर्ग संघर्षलाई एक अर्काबाट पृथक सोँच्नु गलत हो । राष्ट्रिय मुक्तिले पुर्ण स्वतन्त्रता नदिलाए पनि उपनिवेशवादको चपेटामा रहेका श्रमिक वर्गले त्यसबाट आफुलाई मुक्त गर्नै पर्छ । यति गरेर मात्रै उनीहरु श्रमिक वर्गको राज्य स्थापना हेतु लडन् सक्ने छन् वा समाजवादी क्रान्तीको कार्यभार पुरा गर्न सक्नेछन् । यद्यपि यो आन्दोलनको अग्रदस्तामा श्रमिक वर्ग अनिवार्य रहनु पर्ने हुन्छ ।
कुल जनसंख्याको ५३ प्रतिशत गरिबीको रेखा मुनि रहेको प्यालिस्टाइनमा यसको सम्भाव्यता प्रबल छ । र जहाँसम्म आन्दोलनलाई कमजोर पार्ने प्रश्न छ, यदि राष्ट्रिय मुक्ति आन्दोलनमा बहुसंख्यक तल्लो वर्ग जोडिए के त्यो आफैँमा वर्ग संघर्षको हिस्सामा परिणत हुँदैन र ? स्वभाविक रुपमा प्यालिस्टाइनको वर्ग संघर्ष बुझ्न हामीले त्यहाँका क्रान्तिकारी शक्ति र शत्रुहरुको पहिचान गर्नु पर्ने हुन्छ । मित्र र शत्रुलाई ठिक तवरमा निक्र्यौल गर्नुको पछाडिको महत्व दर्शाउन माओ भन्छन्, ‘हाम्रा शत्रुहरु को हुन् ? हाम्रा मित्रहरु को हुन् ? यो प्रश्न क्रान्तिका लागि सर्वाधिक महत्वका हुन्छन् ।’
माथि उल्लेख गरिसकिएको छ कि इजरायल मात्र प्यालेस्टाइनी जनताको दुश्मन होइन । यदि मिहिन अनुसन्धान गर्ने हो भने इजरायल त शत्रुहरु मध्येको एउटा पात्र मात्रै हो । हामी प्रष्ट देख्न सक्छौं कि प्यालेस्टाइनको मुख्य शत्रु विश्व साम्राज्यवाद हो । विशेषत पेट्रोलियममा धनी अरब विश्व अन्य प्राकृतिक स्रोतसाधनले पनि भरिपुर्ण छ । आफ्नो विशेषता अनुरुप अमेरिकाको नेतृत्वमा रहेको विश्व साम्रज्यवाद त्यहाँको पेट्रोलियम स्रोतलाई आफ्नो अधिनस्थ गर्न चाहन्छ ।
चाहे त्यो इराक माथि कथित जनसंहार गर्ने हतियार निर्माण गरेको आरोपमा आक्रमण होस् या सिरियामा आफ्नो लामो बसाँइ, यो प्रष्ट बुझिन्छ कि अमेरिका अरबको प्राकृतिक स्रोतको अधिकतम दोहन गर्ने मानसिकतामा छ । र यहि कार्यमा सघाउन इजरायलको भुमिका छ । इजरायलका मार्फत साम्राज्यवादीहरु आफ्ना कुकार्यलाई वैधानिकता दिने गर्छन् । निसर्त आफु अनुकुल काम गर्नका लागि उनीहरुले बलियो आधार पाएका छन् । उनीहरु विरुद्व हुने हरेक प्रतिरोध सजिलैसँग इजरायलले दबाउन सक्छ ।
२०२०मा मात्र अमेरिकाले इजरायललाई सुरक्षाका लागि भन्दै ३.३ बिलियन डलर अनुदान दिएको थियो । र यसबाहेक उसले इजरायललाई अमेरिका–इजरायल मिसायल परियोजनाका लागि थप ५०० मिलियन डलर पनि उपलब्ध गराएको थियो । यि दृष्टान्तले अरबको निरन्तर शोषणका लागि साम्राज्यवादीहरु माझ इजरायलको अस्तित्वको महत्व दर्शाउँछ ।
तर साम्राज्यवादीहरु एक्लै भने पक्कै छैनन् । उनीहरुसँग अरबका प्रतिक्रियावादीहरुको साथ छ । युएइ २०२०मा इजरायललाई वैधानिक रुपमा स्विकार्दै इजिप्ट र जोर्डनपछि साम्राज्यवादीहरुलाई सहयोग गर्ने अरब विश्वको तेस्रो मुलुक बन्यो । अरु मुलुकहरु पनि छिट्टै यो लिस्टमा सामेल हुनेमा कुनै दुईमत छैन । अहिलेसम्म साम्राज्यवादलाई नसघाएका प्रतिक्रियावादीहरु पनि प्यालेस्टाइनमा सच्चा जनसंघर्ष सुरु हुने बित्तिकै आफ्नो कित्ता फेर्ने छन् । उनीहरुलाई यो डर हुने छ कि यस आन्दोलनले उनीहरुको मुलुकमा पनि आन्दोलनको सिर्जना गर्नेछ । त्यसर्थ प्यालेस्टानी जनताको मुख्य शत्रु अरबका प्रतिक्रियावादको सहयोग पाएको र इजरायलको अस्तित्वको स्रोत रहेको विश्व साम्राज्यवाद नै हो ।
शत्रु र क्रान्तिकारी शक्तिहरुको पहिचान गरिरहँदा हामी प्यालेस्टाइनी बुजुर्वा वर्गको भुमिकाबारे प्रष्ट हुन आवश्यक हुन्छ । यो वर्ग आफैँमा न त बलियो नै छ, न त मुक्ति आन्दोलनमा भाग लिन क्रान्तिकारी नै । यसको शक्ति राष्ट्रिय मुक्ति आन्दोलन पश्चात् बढ्न सक्ने छ किनकी त्यतिबेला यसको पक्षमा वस्तुगत परस्थितीको निर्माण हुन सक्छ । तर त्यसपुर्व यसलाई बलियो शत्रुका रुपमा चित्रण गर्नुको कुनै तुक छैन । तथापि यसको मतलब यो होइन कि यसलाई खुल्ला छाड्नु पर्छ । शत्रुले यस वर्गलाई प्रयोग गर्दै आन्दोलनलाई निस्तेज पार्न सक्ने खतरा हुन्छ । त्यसैले यस वर्गलाई आवश्यक ध्यान दिनु नै पर्ने हुन्छ ।
प्यालिस्टाइनका जनताको मुक्तिका बाधकको वर्गिकरण पश्चात क्रान्तिकारी शक्तिहरु पनि पहिचान गर्नु पर्ने हुन्छ । प्यालेस्टाइनको मुक्तिको लागि लडिरहेको पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन (पिएफएलपि) ले सन् १९६९मा किसान र मजदुरहरुलाई क्रान्तिकारी शक्तिको रुपमा घोषणा गरेको थियो ।
प्यालिस्टाइनका जनताको मुक्तिका बाधकको वर्गिकरण पश्चात क्रान्तिकारी शक्तिहरु पनि पहिचान गर्नु पर्ने हुन्छ । प्यालेस्टाइनको मुक्तिको लागि लडिरहेको पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन (पिएफएलपि) ले सन् १९६९मा किसान र मजदुरहरुलाई क्रान्तिकारी शक्तिको रुपमा घोषणा गरेको थियो । उनीहरुले त्यहाँका निम्न पुँजिपति वर्गलाई पार्टीभित्र बलियो शक्ति हुन नदिने पुर्वसावधानी सहित पनि सहयोगी शक्तिका रुपमा घोषणा गरेको थियो ।
तर पिएफएलपिले एउटा बलियो शक्ति बारे भने यथोचित्त ध्यान पुर्याउन सकेन र त्यो हो इजरायलको श्रमिक वर्ग । यो वर्ग यस कारणले महत्वपर्ण छ कि यसले आफ्नो वर्ग चरित्र अनुरुप त आफ्ना प्यालेस्टाइनी श्रमिक वर्गलाई साथ दिनु पर्ने हो । तर यसले त्यसो गरिरहेको छैन । किन ? डाफना थिएरका अनुसार सामान्य बुझाइको श्रमिक वर्ग भन्दा इजरायली श्रमिक वर्ग भिन्न छ । उनीहरुको वस्तुगत परिस्थितीको निर्माण इजरायलको भिन्न उपनिवेशवादी चरित्रले गरेको छ । त्यसकारण आफ्ना हकहितका लागि राज्यसँग लडेतापनि उनीहरु प्यालेस्टाइनी मुक्ति आन्दोलनको विषयमा कि त शान्त बस्छन् कि त राज्यसँग मिलेर त्यसलाई दबाउन तम्सिन्छन् । क्रान्तिको सहयात्री बनाउन उनीहरुमाझ गएर उनीहरुलाई उपनिवेशवादी जियोनिस्टहरुको दबदबाबाट छुटाउन् निक्कै महत्वपुर्ण छ ।
क्रान्तिकारी शक्तिहरुको एकत्व र आफ्नो वस्तुगत परिस्थिती अनुसार वर्ग संघर्षको प्रयोग गरेमात्र प्यालेस्टाइनीहरु साँचो अर्थमा मुक्त हुनेछन् । उनीहरुले समाजवादी सत्ताको निर्माण गर्नु पर्ने छ जहाँ यहुदी र अरबहरु एकसाथ बस्न सक्ने छन् । यो गरे मात्र वर्षौंदेखि प्यालेस्टाइनीहरुले खोजिरहेको शान्ति अनुभुत गर्नेछन् । यस साथसाथै इजरायल–प्यालेस्टाइन द्वन्दको निराकरणका लागि यो एक मात्र व्यवहारीक बाटो हो ।
प्यालेस्टाइनको मुक्तिको सवाल प्यालेस्टाइनी जनतालाई मात्रै छाड्नु हुँदैन । उनीहरुलाई आफ्नो भविष्यको बाटो कोर्ने अधिकार भएता पनि नेपाल जस्तो उत्पिडित देशका मानिसले पनि आफूले सक्ने जति उनीहरुको आन्दोलनमा चासो र समर्थन जनाउनु पर्छ । उनीहरुको मुक्ति आन्दोलन नेपाली श्रमिक वर्गको पनि आन्दोलन हो । त्यहाँ फरफराउने क्रान्तिको झण्डा हाम्रो पनि हो । जोर्ज हबास भन्छन्, ‘आजको विश्वमा कोही पनि निर्दोष छैन, कोहि पनि तटस्थ छैन । मानिस कि त उत्पिडितसँग उभिएको छ कि त उत्पिडकसँग । जसले राजनीतिमा चासो राख्दैन, उसले शासक र उत्पिडकलाई बलियो बनाइरहेको छ ।’ आज हामीलाई प्यालेस्टाइनीहरुमाथि निरन्तर दमन हुँदै गर्दा यि शब्दहरुले चुनौति दिरहेका छन् ।
(हिमांशु समाजवादी दृष्टिकोणबाट बिचार तथा विश्लेषण गर्ने गर्छन् । प्रस्तुत लेख उनको व्यक्तिगत बिचार हो ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...