विषय प्रवेश :
याक्थुङ् जातिका महिलाहरुको मागी विवाहको विवाह सम्पन्न पश्चात वेहुलीको घरमा बेहुलाघरबाट लोकन्दिसहित केहि रकम कलमसँगै रीत ल्याउने, बुझाउने र खुवाउने सँस्कारलाई इङ्मे कलिया/कल्या भनिन्छ । इङ्मेलाई विवाहकै अन्तिम सँस्कारको रुपमा वेहुलीको घरमा टुङ्गिन्छ । चारकलम/ दुरन वा हःक्तबा रित भने मागीविहा, तानीविहा, भागीविहा, प्रेमविहा सबैमा केटाकेटि, सरदार, भरिया सहित केटिको घरमा जाने सँस्कारलाई भनिन्छ । यसलाई हःक्तबा धेरैले भन्ने गर्छ । यो चारकलम रित विवाहसँग जोडिएको हुँदैन । अचेल इङ्मे र चारकलमको चलन, रित र यसबारे गरिने विधिहरु याक्थुङ परिवारमा हराउँदै गएको छ ।
आधार क्षेत्र :
यो लिम्बुवान भरी नभएर पाँचथर जिल्लाको याम्बोङ् गाउँभित्र रहेका चेलीहरुको विवाह प्रकृयामाथि खोज गरिएको छ । यो वि.सं. २०४९ सालदेखि यत्ता हालसम्म निरन्तर खोजगरी प्राप्त गरेको अनुभवको दस्ता हुन् । यस गाउँको बुडापाका तुम्यहाङहरु र केहि पुस्तकहरु स्रोत सामग्रीको रुपमा प्रयोग छन् ।
इङ्मे र चारकलमको अर्थ र चलन :
इङ्मे (कलिया/कल्या) भन्नाले विहा भन्ने हुँदैन । इङ्मे विहाभन्दा भिन्न साँस्कारिक चलन तर हजुराविहाको अन्तिम पुरक हुन् । चलकुटुम्बले चेलीलाई मागीविहे (हजुरा)मा लोकन्दि सहित पठाएर इङ्मिबा (सरदार) फर्केर आउने रितलाई इङ्मे भनिन्छ, तुम्म्याहाङ्हरु बताउछन् । इङ्मे रितमा ज्वाईँछोरी हुँदैनन् । इङ्मेमा लोकन्दिको रित, सेप्माङ्बा रित र घरको मूठ (विविध रित)हरु बाहेक कुनै हुँदैन र इङ्मे तीन दिन पनि चल्दैन । तुम्याहाङको अनुसार बेलुका वेहुलीका घरमा लोकन्दिहरु (वेहुली हुँदिनन्), सरदार, लोकन्दे र केहि भरीयाहरुसँग आई पुग्छन् । राति सेप्माङ्दङ्बा खुवाउँछन् । लोकन्दिको कोशेलीहरु बाँड्न लगाउँछन् । विहान चारपसिङ् आठपुङ्लाको उपस्थितिमा इङ्मेको सगुनपानी तरकारी वितरण हुन्छ र इङ्मिबालाई मेजमान खुवाउँछन् र त्यहि दिन लोकन्दे, सरदार र भरौटेहरु फर्किन्छन् । विहा घरमा के–कस्तो मेजमान, सोतरित, व्यवहार तथा मान-सम्मान गरेका थिए । लोकन्दिहरुले तुरुन्त सम्मानपुर्वक इङ्मेको मेजमानमा फर्काउँछन्, टिट फर ट्याट । यो इङ्मे संस्कार मागीविहा वाहेक अन्य विहाहरुमा हुँदैन ।
बुडापाका तुम्म्याहाङ्हरुले चारकलम/दुरनलाई हःक्तबा भन्दछन् भने चारकलमलाई इङ्मे भन्दैनन् । चारकलम भनेको चारवटा रितहरु राखेर वा ल्याएर बुझाउने सँस्कारलाई चारकलम भनिएको हो । केटाले ससुरालीमा पहिलोपटक गई बुझाउने सोतरित नै चारकलम हो । चारकलममा केटिको सबै नातागोताहरुलाई केटा (ज्वाई)ले ढोगभेट गर्ने, कोशेली दिने र नाता घरसँग सम्बन्ध राख्ने पहिलो परिचयात्मक सँस्कार हो । चारकलम बुझाउनुपर्दा केटिको घरमा पुग्ने वित्तिक्कै सरदारले बातचित रित, बासमाग्ने रित, सुभा खानगि रित र कुटुनी रित गरी चाररित राख्ने गर्दछ । अनिमात्र वातचित अगाडि बड्छ । त्यसपछि विभिन्न कोशेलीहरु केटीको घरमा तर्फ्याउनु पर्दछ । साडेअठार रित चाहिं मागीविहा (हजुरा)मा राख्नुहुँदैन अथवा राखिन्न । राखेमा त्यसको ऐतिहासिक विधी र चलन विग्रेर जान्छ । साडेअठार रित पनि चारवटै विधिहरु हुन्छन् । खाम्बुअङ्मा (छानाउघारी) रित, फित्ताचिरी रित, तुराइःम्मा रित र फर्सुत रित पर्दछन् । यो चाररितमा कण्डि रकम हिसाबगरी साडेअठार रुपैयाँ पुर्याएर मात्र समात्ने गर्नुपर्दछ । बुडापाका तुम्म्याहाङ्हरु अनुसार साडेअठारको चार रितलाई हजुराविहा वाहेक अन्य विहाको चारकलममा राखिनुपर्दछ । तसर्थ यसलाई चारकलम भनिएको हो । केहि बुडापाकाहरुले ‘पेको साःमा वा सामा’को विस्तृत रुपको रित हो भनी मान्दछन् ।
चारकलम र इङ्मे सँस्कार, विधि र रित छुट्टाछुट्टै नै हुन् । इङ्मे केटाको विहा मितिसँगै गाँसिएको हुन्छ, भने चारकलम विहाको केहि महिना पश्चात केटाकेटि, सरदार र भरियाहरुबाट ससुरालीमा पहिलो पटक ढोगभेट गर्नजाने सँस्कारलाई भनिन्छ अथवा दुरन । पहिले-पहिले चारकलम तीन वर्षमा तीनै पटक ससुरालीमा बुझाउनु पर्दथ्यो । अचेल तीनवर्षको तीनपटक नलगी एकपटकमै सकिन्छ ।
इङ्मे र चारकलमको वर्तमान अवस्था :
यो पुस्ताभित्र दुईखाले इङ्मे चलन भोगिँदैछ । याक्थुङ् समाजले नयाँ-नयाँ रितहरु गाँसेर या त कसैको सापट लिएर इङ्मे सँस्कार प्रयोग गरिरहँदा टुलुटुलु हेर्नु वाहेक अरु छैन । इङ्मेलाई विहा बनाएर खर्चिलो तवरले धुमधामसँग गरिने चलन बसाए । अचेल इङ्मे सँस्कार हुनेगरी विहे हुँदैन । चेलीहरु मनपर्ने केटासँग मनपराई भागेर विहा गर्दछन् । यसरी भागेर आफु खुशीमा विहा गरेर माइतिघर आउदा इङ्मे हुँदैन । त्यो दुरन अथवा चारकलम सँस्कार मात्र हुन्छ । चारकलम सँस्कारमा विहा नै हुँदैन । यो भनेको चारपसिङ्, आठपुङ्ला, नौपदाङ्लासंगै नाता–गोता, सिम्बोकाइ, फेम्बोकाइ आदिको चिनापर्चि, ढोगभेट, मेजमानी, चिनजानीको प्रथम श्रृङ्खला हो, तर अचेल इङ्मे र चारकलम हराएर गए भने चेलीको धुमधामसँग विहा गर्ने नयाँ चलन बसाए । इङ्मे र चारकलम दुवै सँस्कारमा चेलीको विहे गर्ने प्रचलन बसाए । याक्थुङ् परम्परामा चेलीको विहाका लगन, चेली र ज्वाइँसँगै बसेको हेर्नुहुन्न, सो भन्ने लोकविश्वास छ, तर के मतलव अचेलको चेली-माइतीमा । सो भन्ने लोकविश्वास गुमेर गएको छ । अझै चेली-माइतिहरु टाँसिएर सँगै बस्छन्, एकै बसाईमा र मोबाइल हेर्ने नाममा । लाग्छ, सो? परम्परा भत्काउनु नै महिलाको अधिकार होकि ? यसरी चेलीमाइति टाँसिएर बस्ने प्रचलनले चेलीको लगन हेर्न माइतिले कुनै असहज भएन नै ।
यसरी महिला अधिकारको नाममा विकृत सँस्कारहरु छोडिदिएर पुरै चलन, सँस्कार, रितहरु नै अर्कै दिशामा लानदिनु, याक्थुङ् सँस्कार पटक्कै हुँदैन । अचेलका चेलीको विहा त खसआर्यहरुको सँस्कार मात्रै समातेको बुडापाकाहरु बताउँछन् । तसर्थ याक्थुङ् चेलीको विहा भन्नु कि खसआर्यको ? यत्तिमात्र होइन कि छोरीको विहामा चुलेनिम्तो समेत बोलाउन भ्याउछन् । तसर्थ चुलेनिम्तो याक्थुङ् सँस्कार बनाउने नव-याक्थुङ्हरुको सङ्ख्या दिनानुदिन बढ्दै छ । यो चुलेनिम्तो याक्थुङ्बाको हो होइन, अचम्म लाग्छ । छोरीहरुको विहामा सघाउनीसँगै तोहफाहरु (गोड्द्वारहरु) चढाउन थालेका छन्, खै खसआर्य भन्नुकि याक्थुङ्बा ? चेलीको अनुहार हेर्दा पट्याक्थुङ्मा देखिन्छिन्, सँस्कार ठ्याक्कै खसआर्यको । चेली ज्वाइँसँगै बसेको हेर्नुहुँदैन भन्ने विश्वास छ तर गाउँमा चेलीज्वाइँको मञ्च बनाएर पुरै टिकाटालो लगाउने, तोहफा (गोड्द्वार) दिने, लोकन्दे लोकन्दि राखेर पैसा दिने, चेली–माइति र ज्वाइँसँगैको फोटो खिच्ने चलन आएको छ । के यो याक्थुङ् चलन हो त ? यो त खसआर्यको जस्तो, गोराको जस्तो कत्ता–कत्ता देखिँदैन ? चेलीको विहामा भक्कु च्याब्रुङ् बजाउने, केसाम् गाउने, चेलीज्वाइँलाई आशिर्वाद दिने, नौमति बाजा बजाउने, विहाका रितहरु सबै चलाउने आदि हेर्नु हो भने यो नयाँ सँस्कार स्थापित गरेको हुनुपर्दछ । जुन मुन्धुम वर्णनसँग मिल्दैन र याक्थुङ् सँस्कार भने विल्कुलै होइन ।
वि. सं. २०४१ तिर मेरो गाउँको सुरीखावा बस्ने बुड्यौली एक्ले बुद्धिबल नेम्बाङ्ले छोरी कान्छिको मागीविहा भए । उनको इङ्मेमा गाउँकै पहिलोपटक चारपसिङ्, आठपुङ्ला र नौपदाङ्ला सबैलाई खाना पकाएर खुवाए । गाउँले बुडापाकाहरुले विरोध गरे तर बुढ्यौलीले टेरेनन्, किनभने गाउँकै महाजन, धनी र सुनचाँदी जगरे व्यापारी थिए, उनी । हरेक समस्यामा उनकै घरमा ‘हजुर’ भन्न जानैपर्ने भएकाले यो विरोध पनि गौण रह्यो, महादेवको तीननेत्र जस्तै । उनको छोरी कान्छिको इङ्मेदेखि खाना पकाएर बाँड्ने चलन बसे, खोजीमिली भएर पनि । अहिले समयकाल महङ्गी बढ्दै जाँदा छोरी चेलीको कृतिम र विकृति विहाले आर्थिक रुपमा जटिल बनेर गए भने यत्ता छोरा माइतिपक्षको विहा पनि परम्परागत सँस्कार जिउँदो नै छ ।
आयातीत (ताश्वा) सँस्कार ग्रहण :
पञ्चायतकाल भरी इङ्मे र चारकलम चलन जिउँदो थियो । प्रजातन्त्रको पुनर्वहालीपछि याक्थुङ् सँस्कारलाई राजनैतिक चेतले रुढिबादी र परम्परावादी बनाएर नयाँ मानसिक रशायन तयार गरिदिए, समाजको । राजनैतिक आमूल परिवर्तनको नाममा । वास्तवमा चलन सजिलै हराउँछ भन्ने चिन्ता थिएन, ति दलका गाउँले कार्यकर्ताहरुसँग यात पुरै हराइदिनु पर्छ भन्ने मानसिक चेत नै । राजनीतिमा आमूल परिवर्तनको नयाँ राजनैतिक चेतले चेलीहरुको विहा सँस्कारमा खसआर्यको सँस्कार छिराए, अन्जानवश या जानाजान । धाननाच पञ्चायत छउञ्जेल त बलियै थियो । तत्पश्चात राजनैतिक चेतका नवयुवाहरुले धाननाच्न छोड्ने वा नाचे पनि ‘नेपाली गीत’ गाउँदै पालाम बनाउने जस्तो कृतिम पालामले पालाम परम्परालाई ध्वस्त पारिदिए । विद्वान लेखक श्री तेजमान आङ्देम्बेको ‘भाषिक जनहत्या र मुर्कुट्टे धाननाच’ लेख लेखेजस्तै । पालाम लामो समयसम्म चारान-चारानमा गाउँनु र दिनरात गाएर समय विताउनु राजनैतिक चेतमा झन्झट मात्र बनाएनन्, परम्परागत रुढिवादी नै बनाए र त्यागे पालाम परम्पराहरु । लिए लैवरी भाकाका गीतहरु । हात समाउन भने व्यक्ति सम्पर्ककालागि लिईरहे । अब हात समाउँदैमा धाननाच हुँदैन र लैबरी भाकाका गीत गाउँदैमा पालाम हुँदैन । यहि चलन मान्ने हो भने वर्तमान धाननाच र पालाम त देउडा सँष्कारमा पर्न सक्छ है, याक्थुङ्बा साथि हो ?
परम्परागत इङ्मे र चारकलमका केहि दस्तावेजहरु :
आउने दुईपुस्ता वा पचास वर्षपछि सायद इङ्मे र चारकलम भन्ने सँस्कार हराएर खसआर्यको सँस्कारमा चेलीको विहा हुन्छ । यस्तो सँस्कारलाई थाम्ने याक्थुङ् बौद्धिकहरु शहर केन्द्रित भएर सँस्कारसहित फँसेर गए । गाउँका लठेब्राहरुले समाज काँ थाम्न सक्दो रहेछ र ? यत्तिमात्र काँ हो र ? आफ्नै युगीन-युगीन परम्परा भई आएका सँस्कारहरुको इतिहास खोज्न वैदेशिक विद्वानको सहारा लिनुपर्ने अवस्था छ । नेपाली साहित्यको सर्वोच्च सम्मानित व्यक्तित्व कुलपति श्री वैरागी काइँला, सँस्कारविद श्री येहाङ् लाओति लगायत मुर्धुन्य स्रष्टाहरु समेतले वैदेशिक लेखकहरुको सहारा लिन्छन् । गाउँमै बसेर गाउँका वुडापाका तुम्म्याहाङहरुसँग लिएको ज्ञान तथा अनुभवहरु नक्कली हुनपुगे, याक्थुङ् विद्वत्त वर्गमा । कुलपति श्री वैरागी काइँलाले ‘माध्यमिक कालको लिम्बू विहेको दस्तुर’ समन्वेषण (२०७५) को पेज १२५-१३४ मा विदेशी नागरिक श्री हड्सन साहेबले संकलनगरी व्रिटिस लाइब्रेरीमा राखेको संस्कारलाई साभार लिएका छन् । कत्तिपय मिल्छ तर धेरैपय मिल्न नसक्नेहरु छन् । गाउँले ज्ञान र अनुभवभन्दा हड्सन साहेबको सक्कली हुनसक्छ जस्तो । तेहाँ इङ्मे वा ईङ्मी (कलिया) मा रु ३ भनी दस्तुर लेखिएको छ । रु. ३ ले आजभन्दा सयवर्ष अगावै इङ्मेका चिजविजहरु किनेर चल्दथे होला तर इङ्मी (इङ्मे) भनेको नगद दस्तुर राखेर गरिने सँष्कार र रित पटक्कै होइन । काइँलाले इङ्मे संस्कार रकम दस्तुर हो वा होइन भन्ने ज्ञात नभएको व्यक्तित्व पनि हुनुहुन्न । त्यसको खण्डन गर्नसक्ने समुदाय त वहाँ आफैं नै हुन् । अब कसरी इङ्मे संस्कार बचाउने ? विद्वान तथा बौद्धिक वर्गहरुको लेखको आधारमा जाने हो भने ‘काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर’ भनेझैं होला नि त ।
संस्कारविद येहाङ् लाओतीले पनि ‘लिम्बूजातिको परम्परागत संस्कारहरु’ समन्वेषण (२०७५)कोे पेज ३२२–३४४ मा याक्थुङ् संस्कार नभएर लिम्बू संस्कार भनि लेखेका छन् । सायद यो याक्थुङ् संस्कार होइन नै होला । त्यहाँ हःक्तबा वा इङ्मे शिर्षकमा इङ्मेको बेलिविस्तार गर्नु भएको छ । कत्तिपय खसआर्यको संस्कारलाई रुपान्तरण गरेजस्तो देखिन्छ, जस्तै, नारामप्मा, चाङ्वाःत् लेक्मा, पाङ्लीहुक्वा । वास्तवमा बच्चा जन्मेर याङ्दाङ्फोङ्मा कार्य सकेपछि नारामप्मा (मुहार हेर्ने) त्यहि हुन्छ । चाङ्वाःत् लेक्मा (वस्त्र दिने चलन) पनि उमेर पुग्दै गएपछि कान, नाकहरु छेँड्दै लुगाहरु साटिँदै जान्छ । पाङ्ली हुक्वा चैं खसआर्यको वहु-भतेरको रुपान्तरण नै हो । याक्थुङ् परम्परामा पाङ्लीहुक्वा (वहु–भतेर) नभएर वाःक्थि (जुन पाहुना विदाको वेलामा मात्र) वितरण हुन्छ । यसलाई पाङ्ली हुक्वा भन्नु मिल्दैन । यात रुन्चे फिला ल्याएर बाँड्ने चलनलाई भन्न खोज्नु भएको होकि ? संस्कार अन्यान्तर भएको होकि ? उल्लेख गरेको इङ्मे वा हःक्तबा एकै ठाउँमा राखेर गोलमाल गर्नु भएको छ उक्त लेखमा । अर्को गाँवै पिच्छे चलन फरकताले पनि यस्तो बनाउँन सक्छ । किनभने इङ्मे भनेको हजुराविहा पश्चात तुरुन्त लोकन्दिसँगै सरदार फर्केर आउने रीतलाई जनाउँछ । यसमा सुभाजा (सुब्बा खानगी), सेवामःमा (ढोगौली) हुँदैन बरु सुङ्याङ् पठाइएको हुन्छ र सुङ्याङ् साइनो अनुसारको रकम हुन्छ तर बेहुला र बेहुली तेहाँ हुनुहुँदैन । ढोगभेट हुँदैन । ढोगभेट भनेको हःक्तबा चारकलम (दुरान)मा ताजेङ्गि (बातचित), सुभाजा (सुब्बा खानगी), साङ्गा नाःक्मा (बासमगनि) र कुटुनी रित हुन्छ र चोरी, भागी र प्रेमविहा अन्तर्गतको चारकलम हो भने साडेअठार रित पनि हुन्छ । चारवटा रितको चार पेरेङ्गो मासु, चारबोत्तल रक्सि र नगद दस्तुर हुन्छ । संस्कारविदको आधारमा जाने हो भने कुन इङ्मे र कुन हःक्तबा भन्ने नै छुट्याउन गारो भएकोछ । हुनसक्छ ‘खुकुरी भन्दा कर्द लाग्ने’ या ‘उम्रँदै तीनपात’ । मेरो ‘याक्थुङ्बा (लिम्बू) जातिका कर्मकाण्डको मौखिक शाष्त्र’ नामक पुस्तक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशित गरे । त्यस पुस्तकको पेज नं. २१ मा मेःक्सानी (कल्या) नोःक्मा पेलाम् अथवा इङ्मे अन्तर्गत यसको विवरण दिइएको छ भने साडेअठारको पनि विस्तृत प्रस्तुत त्यहाँ छ । आ-आफ्नै च्याब्रुङ्को ताल बजाएर, अरुले लेखेको सामग्रीलाई उपयोग गरेर संस्कार मात्र होइन, शैली, चलन र रित नै फरक हुँदै अब आउने दुईपुस्ता पछिका याक्थुङ् समाजले के संस्कार पछ्याउला र ? चिन्ता र चासो संस्कारको हो । यहाँ ताश्वा संस्कार पछ्याउने र आफ्नो संस्कारको खिसिटिउरी गर्ने समयानुचित होला नै । इङ्मेलाई विहाकै रुप दिएपछि हामी कुन दिशातिर जाँदैछौं ? हिन्दुहरुको कश्यप गोत्रीय खसभित्र पानीचल शुद्र नै सावित भइएला र वाँकि रहन्छ, केटीको बुवाले केशमुण्डन गरी सोनेत् बारेर गोडाको पानी खाँदै ‘मारे पाप, पाले पुण्य’ भनी ज्वाइँको हातमा छोरी सुम्पने संस्कार ।
इङ्मे र चारकलम रित :
इङ्मे र चारकलम संस्कारमा गाउँपिच्छे वेग्लावेग्लै रहेतापनि याम्बोङ् गाउँमा रहेको रितहरु यहाँ उल्लेखित छ । इङ्मेमा चाहिने रितहरु यस प्रकार छ । (१) मेःक्सानी रितमा एउटा राँगाको फिला (कुनै खाद्यवस्तु), एकगाग्रो रक्सि (कुनेै खाद्यवस्तु) र मेःक्सानी दस्तुर नगद, (२) सेÞप्माङ्दङ्बा रितमा एउटा राँगाको फिला (कुनै खाद्यवस्तु) र एकगाग्रो रक्सि (कुनै खाद्यवस्तु) र (३) घरको मुठ रितमा कम्तिमा एउटा राँगाको फिला (कुनै खाद्यवस्तु) र कम्तिमा एकगाग्रो रक्सि (कुनै खाद्यवस्तु) र केहि कोशेलीहरु सहित सुङ्याङ् दस्तुर हुन्छ । यहाँ चारपसिङ् आठपुङ्लाको रित तथा दस्तुरहरु कुनै पनि हुँदैन । घरको मुठ रितका कोशेलीहरु चारपसिङ् आठपुङ्ला दाजभाइहरु आएर पकाइ–बनाई विहानी समयमा वितरण गर्दछन् । यसलाई इङ्मेÞचा (सा) भनिन्छ । यहि मुठको राँगाको फिलाखुट्टा छोरीका निम्ति फर्काउँछन् । यसलाई रुन्चेफिला भनिन्छ । यो कार्य एकरात र एकदिनमै रित सकिन्छ र तरुन्त इङ्मे फर्कन्छ ।
चारकलम बुझाउँदा केटीको घरमा पुग्ने वित्तिकै सरदारले चारवटा रितहरु सबैभन्दा पहिले राख्छन् । जसमा (१) ता?जेÞङ्गि (बातचित) रितमा एक बोत्तल रक्सि (कुनै पेयपद्धार्थ), रु. ५ र मासुको एकपेरेङ्गो (कुनै खाद्यवस्तु), (२) साङ्गा नाःक्मा (बासमगनि) रितमा एकबोत्तल रक्सि (कुनै पेयपद्धार्थ), रु. ५ र मासुको एकपेरेङ्गो (कुनै खाद्यवस्तु), (३) सुभाचाःमा (सुब्बा खानगि) रितमा एकबोत्तल रक्सि (कुनै पेयपद्धार्थ), रु. ५ र मासुको एकपेरेङ्गो (कुनै खाद्यवस्तु) र (४) कुटुनी (इङ्मे केदाःप्पा) रितमा एकबोत्तल रक्सि (कुनै पेयपदार्थ), रु. ५ र मासुको एकपेरेङ्गो (कुनै खाद्यवस्तु) गरी चाररितहरु राख्छन् । यसलाई चारकलम पनि भन्दछन् भने साडेअठार रितमा दुईवोत्तल रक्सि (कुनै पेयपदार्थ), रु.२० र मासुको एकपेरेङ्गो (कुनै खाद्यवस्तु) हुनुपर्दछ । मागीविहे भएकोहो भने साडेअठार लानु हुँदैन । यो साडेअठार रित भनेको भोलीपल्ट विहानमात्र राखेर रितको बहस गर्नुपर्दछ ।
यी चारवटा रित राखेर केटिको घर र चारपसिङ् दाजुभाईहरुले समातेपछि मात्र (१) चारपसिङ् रितमा एकगाग्रो रक्सि वा कुनै खाद्यवस्तु, सेवामःमा रकम, कोशेलीहरु र एउटा सिङ्गो सुगुर (कुनै खाद्यवस्तु) (२) घरको मुठ रितमा कम्तिमा एकगाग्रो रक्सि, एकगाग्रो जाँड वा कुनै खाद्यवस्तु, सेवामःमा रकम, कोशेलीहरु र कम्तिमा एउटा डल्लै सुँगुर वा राँगा अथवा दुवै जेवाद (कुनै खाद्यवस्तु), (३) दुरन भए फिरन रितमा चारमाना रक्सि (कुनै पेयपदार्थ) र केहि कोशेली र (४) सिम्बोकाई रितहरुमा घरको मुठमा नै व्यवस्था गरेको हुनसक्छ या छुट्टाछुट्टै कोशेलीहरु पनि केटिले तयारगरी ल्याइदिन सक्छ ।
साडेअठार रित विहान उज्यालो भएपछि केटि पक्षका तुत्तु तुम्म्याहाङ् र चारपसिङ्हरुको अगाडि चारमाना रक्सि वा कुनै खाद्यवस्तु, रु २० नगद रकम र मासुको एकपेरेङ्गो (कुनै खाद्यवस्तु) राखेर सरदारले रित बुझाउनु पर्दछ । यो रित तानीविहा, भागीविहा र प्रेमविहा गर्ने चेलीको खोजविन कार्यमा माइति पक्षबाट खर्च भैसकेको रकम कलमहरु हुन् । यो नगदभित्र केके शिर्षकमा खर्च भएको छ ? खर्चको सिलसिला बताउन सकेमा रु. बिसमा फिर्ता गरी लैजानु भनि केटापक्षका सरदारले भन्छ । सरदारले पहिलो कुरोमै साडेअठारको रकम राखेर हजुरहरुले कत्तिकत्ति खर्च गर्नुभयो ? उक्त खर्चको सिलसिला बताएर त्यो रकम लैजानु होला भनेमा केटि पक्षकाहरुले उक्त खर्चको सिलसिलाहरु भन्ने गर्दछ । यो साडेअठार रितमा पनि चाररित नै हुन्छ । जसमा (१) फित्ताचिरी रितमा १० कण्डि खर्च (यो छरछिमेक, दाजुभाई, चेलीबेटिहरुकोमा सोधखोज कार्यमा खर्च), (२) छानाउघारी रितमा १० कण्डि खर्च (यो छोरी कुन दिशामा गएभनि सोधखोज, आर्जे र जोखना कार्यमा खर्च), (३) तुरासे:मा वा इःम्मा रितमा ३० कण्डि खर्च (यो व्यापक हल्लालाई नियन्त्रण कार्यमा खर्च) र (४) फर्सुत रितमा २४ कण्डि खर्च (यो कुनवंशमा छोरी गएको हो, पुरै पत्ता लगाइने खर्च हो । योःक्थक्वासम्म सम्मको रकम कलम हुन्छ । सिलसिलागत रितहरुमा (चार आनाको एक काण्डा र चार कण्डिको एक रुपैंयाँ कायम भएको बेला) ७४ कण्डि खर्च रकम सकिएकाले रुपैंया १८ र पैसा ५० नगद भएको मानिन्छ र अठार रुपैंया पचास पैसा कटाएर फिर्ता फर्काउनु पर्दछ । तानीविहा, भागीविहा वा प्रेमविहामा यो अनिवार्य साडेअठार रित चाहिन्छ । तसर्थ यसलाई पनि चारकलम बुझाउने भन्ने गरेको पाईन्छ ।
चारकलम रित ल्याएपछि केटिको घरले चारपसिङ्हरु बोलाई सबै वितरण गरीदिन्छ । चारपसिङ्, सिम्बोकाइ, लगायत मामा-मावली, फुपु, दिदि आदि सबैलाई रक्सि, मासु, सेवामःमा र कोशेलीहरु वितरण हुन्छ । यो वितरण पश्चात छोरीज्वाईहरुलाई मेजमान खान साइनो अनुसार हरेक घरहरुमा लगिन्छ । यो विवाह होइन र विवाहको चलनमा गाँसेर आउँदैन । मेजमान खुवाउने, घर हेराउने, ढोगभेट गर्ने र व्यवहारिक गफहरु गर्ने कार्य हुन्छ ।
ताश्वा संस्कारमा दोष
इङ्मे र चारकलम चलनलाई पुरापुर २०४६ को प्रजातन्त्र पुनर्वहालीपछि आएका राजनैतिक विकृत सोचले पुरै पालुवा फेरवदल गराएको छ । राजनैतिक दलहरुले पनि यस्तो कृयाकलाप गर्नु रुढिवादी ठाने र पुरैसंस्कारमाथि नयाँ चलन बसाए पनि ताश्वा संस्कार भित्र्याए । आमूल परिवर्तनको नाममा आफ्नै संस्कारहरुमा अर्काको ल्याउनु आमूलपरिवर्तन होइन । देशमा एक भाषा, एक संस्कार जस्तै भए । इङ्मेलाई चेलीको विवाह गर्नेहरु प्रायशः याक्थुङ् बोल्न त के ? गन्ध नै सुन्न नपरोस् भन्ने छ । अब शरीर नै पुरै खसआर्य भएपछि उनले इङ्मे जान्दैन र हिन्दु संस्कार नै प्यारो लाग्छ । गोड्द्वार र चुलेनिम्तो प्रयोग गर्दछ तर विचरा, उनले घरमा तुलसीको मठ राख्न सकेको छैन । सिरानीमा भागवत गीता, रामायण, कृष्णचरित्रहरु राख्न सकेको छैन । जनै (चेनेइ) भिर्न सकेको छैन । गोमुत्र सेवन गरेको छैन । यत्तिमा केहि याक्थुङ्बा होकि ? जस्तो लाग्छ । खसआर्य भाषिक उपनिवेशमा त परे–परे, संस्कारमा नै हेजेमनी भएर त्यहि ठिक भन्ने नयाँ याक्थुङ् संस्कार भित्र्याएर ‘भीरको चिण्डो उँधो न उँभो’ झैं भएकाछन् ।
निदानका उपाय :
राजनैतिक चेतसँगै यि यावत् धुलमिल-धुलमिल अवस्थाका संस्कारहरु राजनैतिक तहबाट सच्याएमा राम्रो होला तर सचेत याक्थुङ् समाजले आयातित संस्कारहरु आफैं बुझेर त्याग्न सजिलो हो । गाउँघरमा थरगत तुम्म्याहाङ् विस्थापित छन्, यसलाई जीवित बनाउनु पर्दछ । तुम्म्याहाङ्हरु पनि राजनैतिक नेतृत्वहरुले विस्थापित गरेर लगे । यसलाई पूनर्जीवन दिनुपर्दछ । तुम्म्याहाङ् निर्देशित संस्कारहरु तुम्म्याहाङ् मार्फत सञ्चालित रहनुपर्दछ । होइन भने हाम्रा संस्कारहरु ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बेँड, अझै अज्ञानीलाई सुँगुरको लेँड’ मात्रै हुन सक्ला, इङ्मे र चारकलम संस्कारमा ।
निष्कर्श :
याक्थुङ् पहिचानमा आधारित हाम्रा अधिकारयुक्त संस्कारहरुमा कुनै कसैको प्रतिलिपि नगरी आफ्नै समाजका बुडापाका तुम्म्याहाङ्हरुको सरसहयोगमा जीवन्त राख्नुपर्दछ । याक्थुङ् जातिको छ्यास्मिस् बसोबास रहेको समाजमा सबै थरी तथा थुमथुमका संस्कार अध्ययन खोजगरी थिवोङ् याक्थुङ्को थिबोङ् रित जानिफकारलाई तुम्म्याहाङ् बनाएर लैजानु उपयुक्त हुन्छ । एकल सामुहिक बसोबास क्षेत्रमा संस्कार सम्बन्धि जान्ने महानुभावलाई तुम्म्याहाङ् बनाएर तुम्म्याहाङ् तप्रि समेत ओडाएर तिनको नेतृत्वमा संस्कार अघि बढाउनु पर्दछ । याक्थुङ् समाजमा बोलिचाली, व्यवहार, विधिविधान, लेनदेन, वार्ता आदि समेत आफ्नै भाषाबोलीहरु प्रयोगगर्दै सन्तान दरसन्तानहरुलाई सिकाउँदै लैजानु पर्दछ । अब सरकारले संरक्षण गर्नसक्ने स्थिति छैन उनले सकेसम्म एकभाषा एकसँष्कार भए राम्रो हुने नै देख्नेछ । तसर्थ चेलीहरुको मानसम्मानका लागि नै सँष्कार जोगाइराख्न यो पुस्ताका सबै याक्थुङ् समाजलाई विनम्र अनुरोध छ नभए ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बेँड, अझै अज्ञानीलाई सुँगुरको लेँड’ काफि होला । नेहि तुम्सेरो हाउ, आल्ल ।
स्रोत व्यक्तिहरु :
स्व. जसबहादुर याङ्देम्बा नेम्बाङ्, हाङ्यक् याम्बोङ् (२०४७/ ०४९ सालसम्म भेटवार्तामा टिपोट)
स्व. स्वरुपसिं याङ्देम्बा नेम्बाङ्, पाङ्भे , याम्बोङ् (२०४७/ ०४९ सालसम्म भेटवार्तामा टिपोट)
स्व. सुभाष फेजोङ् नेम्बाङ्, तिङ्ग्रेक्थुक्पा, याम्बोङ् (२०४७/ ०५९ सालसम्म भेटवार्तामा टिपोट)
स्व. सुखबहादुर फेजोङ् नेम्बाङ्, आङ्लाबारी याम्बोङ् (२०४७/ ०४९ सालसम्म भेटवार्तामा टिपोट)
श्री पुर्णकुमारी चम्जोङ् नेम्बाङ् (२०३१), तिङ्ग्रेक्थुक्पा याम्बोङ् पान्थर
श्री सुवमाया मेयङ् नेम्बाङ् (१९९७), तिङ्ग्रेक्थुक्पा, याम्बोङ् पान्थर
स्रोत पुस्तक :
तुम्याहाङ् अमर समूह, समन्वेषण (२०७५), इक्साहाङ् इक्मिसो बेघा थोबोजुम्, काठमाण्डौं
लिम्बू मलिसा याक्थुङ्बा, याक्थुङ्बा (लिम्बू) जातिका कर्मकाण्डको मौखिक शाष्त्र (२०४९) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ललीतपुर (२०७३)
फाल्गुनन्द गापा २, याम्बोःङ् पान्थर
फोन ९८६२७५५१३३
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...