यसमा कुनै सन्देह छैन कि कोभिड–१९ले शिक्षा प्रणालीलाई नै धरासयी पारेको छ । साम्भ्रान्त र विपन्न विद्यार्थीबीच सिकाइको खाडल झनै बढेर जाने खतरा त्यत्तिकै छ । तर महामारीले सरकारलाई प्रभावकारी शिक्षण प्रक्रिया र प्रणलीबारे सोच्न झकझक्याएको छ ।
-डेबिड मोइनिना सेङ्गे
सिरिया लियोनको शिक्षामन्त्रीको रूपमा मैले नयाँ भूमिका ग्रहण गरेको केही महिना मात्रै भएको थियो । अचानक कोभिड महामारीले हिर्काइहाल्यो । यो संकट चरमस्तरमा पुग्दा विश्वभरका एक अर्ब साठी करोड बालबालिकाहरू विद्यालय जान सकेनन् । धेरै मुलुकहरूलाई घरबाटै बालबालिकालाई शिक्षण गराउने उपायहरूको अबलम्बन गर्न कठिन भयो ।
तर, सिरिया लियोनमा भने महामारीका कारण विद्यालय बन्द भएमा के गर्ने भन्ने हाम्रो पूर्व तयारी थियो । २०१४–१६मै इबोला महामारीका दौरान नै प्रभावकारी रेडियो दूर शिक्षण कार्यक्रमको स्थापना गरिएको थियो । यसकै कारण सिरिया लियोनका दूर–दराजमा रहेका लाखौँ बालबालिकाले घरमै बसेर सहजसँग विद्यालयको शिक्षा लिन सक्थे ।
इबोला महामारीका कारण नौँ महिना भन्दा अधिक समय बालबालिकाहरू विद्यालय जान पाएनन् । त्यतिबेला विद्यालयको लागि जुम कक्षा तथा अनलाइन शिक्षण पद्धति प्रचलनमा आइसकेका थिएनन् । त्यसका अलावा सिरिया लियोनका एकदमै थोरै परिवारसँग मात्र इन्टरनेटको पहुँच थियो । त्यसैले रेडियो कार्यक्रम नै शिक्षा प्रदान गर्ने एकमात्र प्रभावकारी उपाय थियो । यो कम खर्चिलो र आकर्षक पनि थियो । अनि स्थानीय भाषामा शिक्षण गराउन पनि रेडियोको माध्यम नै उचित थियो ।
ग्लोबल पार्टनरसिप फर एजुकेसनको सहकार्यमा ८० हजार रेडियोहरू २०१४ मै वितरण गरिएको थियो । १.८ मिलियन बालबालिकालाई रेडियो मार्फत सिकाउन उत्कृष्ट शिक्षकहरू छानेर नियुक्त गरिएको थियो । यो विधिले राम्रोसँग काम गर्यो । इबोला महामारीको अन्त्यसँगै रेडियो शिक्षण कार्यक्रम पनि बन्द भयो । तर, मन्त्रालयले रेडियो दूर शिक्षण स्टेसन भने हटाएन ।
जब कोभिड –१९ संक्रमण नयाँ चुनौतीको रूपमा आयो, हामीलाई लाग्यो हामी फेरि रेडियो दूर शिक्षण कार्यक्रम चलाउन सक्छौँ र लाखौँ बालबालिकालाई शिक्षामा पछि पर्न दिने छैनौँ । हामीले शिक्षकहरूलाई तालिम दियौँ, पाठ्यक्रममा परिमार्जन ल्यायौँ । जब मार्च, २०२० मा सिरिया लियोनमा पहिलो कोभिड संक्रमण देखियो, हामीले विद्यालय बन्द गर्यौं । हामीसँग दूर शिक्षण कार्यक्रम पहिल्यै तयार थियो । मार्चदेखि सेप्टेम्बरसम्म सिरिया लियोनका विद्यार्थीहरूले रेडियोमा झुम्मिएर कक्षा लिए । सेप्टेम्बरबाट उनीहरू विद्यालय फर्किए ।
मैलै शिक्षामन्त्रीको भूमिका निभाएपछि, हरेक बालबालिकाले गुणस्तरीय शिक्षा पाओस् भनेर हामीले शिक्षा नीतिमा केहि व्यापक परिवर्तनहरू पनि गर्यौं । परम्परागत रूपमै मुलधारको शिक्षण प्रणलीबाट बञ्चितहरूलाई विशेष जोड दियौँ । सिरिया लियोनको शिक्षा प्रणलीका कमी–कमजोरी पहिल्याउन गत वर्ष इन्सिट्युड फर गभरनेन्स रिफर्म र अक्सफाम सिरिया लियोनले मुलुकभरि सर्वे पनि गर्यो ।
तिनको तथ्याङ्कले फुजेहुन र फाबाला जस्ता दुर्गम जिल्लाहरुका कतिपय ठाउँमा अझैपनि रेडियो दूर शिक्षण कार्यक्रममाथि पहुँच पुग्न नसकेको सत्य बाहिर ल्यायो । कतिपय ठाउँमा रेडियोको टावरले काम गरिरहेको थिएन । दुःखको कुरा अझै सबै विद्यार्थीमा दूर शिक्षण कार्यक्रम पुग्न सकेको थिएन ।
हामीले जिआरआइडि–थ्रि कार्यक्रम अघि सार्यौं । यसले कुन भूभागमा टावर पुगेको–नपुगेको र कतिमा दूरशिक्षणको पहुँच भए–नभएको तथ्याङ्क दिन्थ्यो । यसको विस्तृत अध्ययन र निष्कर्ष यहि महिना प्रकाशित भएको छ । अहिलेको दूर शिक्षण कार्यक्रम अझै एक–तिहाई विद्यालयका विद्यार्थीमाझ प्रभावकारी ढंगले पुग्न सकेको छैन ।
दूर शिक्षण कार्यक्रम अझै विस्तार गर्न र सबैमा पुर्याउन सम्भव नभए पनि जति सक्यो धेरैलाई समेट्न अरू रेडियो ट्रान्समिटर थप्नुपर्ने भयो । ट्रान्समिटर नभएका ठाउँमा नयाँ ट्रान्समिटर जडान गर्न पर्ने भयो । जिआरआइडि–थ्रिले नै कहाँ–कहाँ ट्रान्समिटर थप्नुपर्ने हो जिपियसबाट देखाइदिन्थ्यो, ता कि कोही पनि बालबालिका दूर शिक्षणबाट नछुटुन् ।
यसमा कुनै शंका छैन कि महामारीले हाम्रो शिक्षा प्रणलीलाई एकदमै अफ्ठ्यारो पारेको छ । तर यसले विषम परिस्थितिमा पनि समानतामुलक ढंगले हामी कसरी काम गर्न सक्छौँ भन्ने सिकाएको छ । अब हामीले किन प्रत्यक्ष शिक्षण प्रक्रियाबाट बञ्चित सिमान्तकृत बालबालिकाको शिक्षणमा दूर शिक्षण प्रणलीलाई निरन्तरता नदिने ?
सिरिया लियोनले प्रगति गर्दैगर्दा पनि अझै कतिपय बालबालिका गरिबी, सामाजिक मान्यता र धककै कारण विद्यालय शिक्षाबाट बञ्चित छन् । दुर्गम क्षेत्रका बालिकाहरूको स्थिति पनि त्यस्त छ । कतिपय तिनले त माध्यमिक तहमा एक वर्ष पनि पढ्न पाउँदैनन् ।
तर खुसीको कुरा यो छ कि हामी धेरै भन्दा धेरै बालबालिकासँग पुग्दैछौँ । जिआरआइडि–थ्री ले देखाए अनुसार, अरू १४ वटा ट्रान्समिटर थप्ने हो भने हामी मुलुकका ९० प्रतिशत बालबालिकाको पहुँचमा पुग्नेछौं । अरू ३ ट्रान्समिटर थप्दा ९६ प्रतिशत सम्म पुग्न सक्छौँ । यो भनेको झण्डै २.८ मिलियन बालबालिकाको संख्या हो ।
मन्त्रालयले कोभिड–१९ अनुदानबाट पहिलो चरणका तीन ट्रान्समिटर खरिदको लागि बजेट बिनियोजन गरिसकेको छ । अरू दुई ट्रान्समिटर पार्टनर एनजिओले दिँदैछ । यसको मतलब सिरिया लियोनमा सबैको पहुँचमा प्रथामिक र माध्यमिक शिक्षा भन्ने हाम्रो लक्ष्यको हामी एकदमै नजिक पुग्दैछौँ ।
यसमा कुनै सन्देह छैन कि कोभिड–१९ले शिक्षा प्रणालीलाई नै धरासयी पारेको छ । सम्भ्रान्त र विपन्न विद्यार्थीबीच सिकाइको खाडल झनै बढेर जाने खतरा त्यत्तिकै छ । तर महामारीले सरकारलाई प्रभावकारी शिक्षण प्रक्रिया र प्रणलीबारे सोच्न झकझक्याएको छ । शिक्षणमा भएको क्षतिलाई पूर्ति गर्न उत्प्रेरित पारेको छ ।
अहिलको यो संकट प्रविधिको अधिकतम विकास गर्ने र सहभागितामुलक र समानतामुलक शिक्षा प्रणलीको निर्माण गर्ने अवसर बनेको छ । प्रविधिकै करण शिक्षाबाट बञ्चित बालबालिकासम्म पुग्ने मौका पाइएको छ । प्रविधि मात्रै सबथोक त होइन तर संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य न. ४ लाई भेट्न हामीलाई यसले सघाएको छ । लक्ष्य न. ४ मा भनिएको छ, सबैमा सहभागितामुलक र समानतामुलक गुणस्तरीय शिक्षाको पहुँच हुनेछ ।
(डेबिड मोइनिना सेङ्गे सिरिया लियोनका शिक्षामन्त्री हुन् ।) अल जजिराबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...