कर्णाली: हिमाली जिल्ला मुगुमा आइतबारबाट सुरु भएको नि:शुल्क आँखा शिविरमा ६० जना मोतिबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको छ । हिमालय आँखा अस्पताल केन्द्र घारीपाटनको प्राविधिक सहयोग तथा नेपाल नेत्रज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजनामा तीन दिने शिविर सञ्चालन गरिएको हो । 

शिविरमा आँखाका बिरामी बालबालिकादेखि वृद्धवृद्धासम्मले सेवा लिएका छन् । हिमालय आँखा अस्पताल पोखराबाट आएका नेत्रसहायक धमेन्द्र घोडासैनीले दिएको जानकारीअनुसार ७ सय ३० जनाले आँखा जँचाएका र तीमध्ये ६० जना मोतिबिन्दु भएका बिरामीको शल्यकृया भएको छ ।



शिविरका टिम लिडर तथा संयोजक सुवास नेपालका अनुसार चोटपटक लागेका, हावाले गर्दा हुने सुक्खा एलर्जी, आँखा चिलाउने, आँखा पाक्ने,आँखामा मासु पलाउने, आँसु बग्नेजस्ता आँखाका रोगीहरुको उपचार भएको छ । कुपोषण, खानपिनमा अनियमितता र आँखाको अपर्याप्त सरसफाईका कारणले पनि आँखामा समस्या आउने संयोजक नेपालले बताए । 
शिविरमा ६ जना स्वास्थ्यकर्मीको टोलीले नि:शुल्क आँखा उपचार गराएका र जिल्लामा रहेका आँखा रोगीहरुलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति संघ मुगुले जनाएको छ । 



विगत २८ वर्षदेखि मुगुमा नेपाल नेत्रज्योति संघको आयोजनामा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुँदै आएको र धेरै आँखाका बिरामीहरुलाई राहत भएको नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रका इन्चार्ज ध्रुव बुढथापाले बताए ।

शिविरमा आँखा जँचाउन आएका बिरामीहरुले यस्तो शिविर सदरमुकाममा मात्रै नभएर ग्रामीण भेगमा पनि आयोजना हुनुपर्ने बताएका छन् । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राज्यश्वर मल्ल

लेखकबाट थप...