काठमाडौँ – शुक्रबार चिकित्सा शिक्षा आयोगको बैठक बस्यो । बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लम्बेतान भाषण मात्रै गरेनन्, चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको खेदो पनि खन्न भ्याए । उनीहरू नकारात्मक भएको, काम रोक्न अनेक बहाना बनाएको, नेपाललाई मेडिकल शिक्षाको हब बनाउन नसकेको आदि आरोप ओलीले लगाए ।
अन्त्यमा उनले बीएण्डसीलाई जसरी पनि सम्बन्धन दिनुपर्ने जिकिर गरे । त्यसपछि बोल्ने डा. भगवान कोइराला र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डिन डा. दिव्या सिंह शाहले प्रक्रिया पु¥याएर मात्र सम्बन्धन दिनमा जोड दिए । त्यसैगरी, बसरूद्दीन अन्सारी लगायत ओली पक्षीय सदस्यहरूले भने सम्बन्धन रोक्न नहुने विचार राखे । कसैले त ‘चिकित्सा शिक्षा ऐनमा बीएण्डसीका लागि भनेर प्रावधान राखेपछि उसैलाई रोक्न कसरी मिल्छ’, पनि भने ।
यतिमात्रै होइन, योजना मुताबिक बीएण्डसीलाई सम्बन्धन दिन मिल्ने भाषाको माइन्युट तयार गरेर उपाध्यक्षलाई त्यहीँ हस्ताक्षर गराउन शिक्षामन्त्री र स्वास्थ्यमन्त्री बालुवाटारमै खटिए । तीन घण्टाजति बन्धक शैलीमा राखेर उनीहरूले आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई त्यस खाले माइन्युट बनाएर हस्ताक्षर गर्न दबाब दिए ।
गुपचुप बैठक राखेर बिएन्डसी अनुकूलको माइन्युटिङ गर्ने सरकारको षड्यन्त्र थियो तर यो त्यति सहज भने थिएन । बिहीबार सम्बन्धनको अवैध प्रयासविरूद्ध ‘सोलिडारिटी फर डा. केसी अलायन्स’का छ जना युवा माइतीघरमा प्रदर्शन गरेर पक्राउ परेका थिए । यो षड्यन्त्र छताछुल्ल भएर बाहिर आइसकेको थियो । अब बिएन्डसीको अवैध सम्बन्धन गुपचुप लेनदेनको विषय मात्रै भएन ।
यो बिएण्डसीको अवैध सम्बन्धन प्रकरण बदनामको विषय भइसकेको थियो । त्यसैले जति नै दवाब खेपेपनि डा. गिरीको अडानका कारण शुक्रबार माइन्युटमा हस्ताक्षर हुन सकेन । त्यसैले शुक्रबार बालुवाटारमा बैठक राखेर हतपत सम्बन्धन लिइहाल्ने बीएण्डसी र दिइहाल्ने केपी ओलीको तिकडम एकपटक फेरि असफल हुन पुग्यो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...