काठमाडाैँ - एक महिना पहिला भारतमा देखिएको कालो ढुसीका बिरामी नेपालमा पनि भेटिन थालेका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार, पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताएका छन् । उनका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँका रहेका छन् । चिकित्सकका अनुसार, कालो ढुसी बिरलै देखिने तर संक्रमण गम्भीर भए यो प्राणघातक हुनसक्छ । यसले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्छ ।
कालो ढुसी संक्रमण लक्षण
कालो ढुसी संक्रमणले अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने हुनसक्छ । आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने हुन सक्छ । त्यसैगरि, संक्रमितमा आँखाका ढकनी सुनिने र ढकनी झुक्ने, ज्वरो आउने, आँखाले धमिलो देख्ने, नाकबाट रगत र बाक्लो सिङ्गान आउने, दाँत दुख्ने वा हल्लिनेजस्ता लक्षण देखापर्ने गर्छन् ।
कोभिड–१९ जस्तै यो रोग नसर्ने भए पनि ४५ देखि ६५ उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिवायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसीको ज्यादा सम्भावना हुने गर्छ ।
कसरी जोगिने कालो ढुसीबाट
कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्नपर्छ । एउटै माक्स पटक–पटक प्रयोग नगर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने गर्नाले धेरै हदसम्म यसबाट बच्न सकिन्छ । त्यस्तै धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्नाले पनि कालो ढुसीको संक्रमणबाट बच्न सकिन्छ ।
यस्तै यसबाट जोगिन पोभिडोन आयोडिनले घाँटी र मुख कुल्ला गर्ने, जथाभावी एन्टिवायोटिक औषधि सेवन नगर्ने, मधुमेह नियन्त्रणमा राख्ने पनि गर्नुपर्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...