काठमाडौँ – कोरोनाको सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरूमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्कता नरहेको जनाएको हो।
दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि यसअघि कामपाले १२ वटा अस्पतालसँग सम्झौता गरी आवश्यक पर्ने स्वास्थ्य उपकरण र उपकरण खरिदका लागि आर्थिक सहयोग गरेको थियो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अहिले सञ्चालनमा आएका अस्पतालमा पनि बिरामीको सङ्ख्या कम रहेकाले तत्कालका लागि थप सञ्चालनको योजना नरहेको हो ।
त्यस्तै कामपाकै सहयोगमा सञ्चालित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेदिक अस्पताल पनि जम्मा सङ्ख्याको २० प्रतिशत मात्रै कोरोनाका बिरामीले उपचार गराइरहेको कामपाको भनाइ छ ।
हाल कामपामा ६१ हजार ९२४ कोरोना सङ्क्रमित रहेकामा ५० हजार ६८९ जना निको भएका छन् भने १० हजार १२५ होम आइसोलेशन र १७० संस्थागत आइसोलेशनमा रहेका छन। त्यस्तै हाल १० हजार ८१६ सक्रिय सङ्क्रमितमध्ये ५२१ ले अस्पतामा उपचार गराइरहेका छन् । कोरोनाका कारण ४१९ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।
कोभिडका बिरामीलई उपचारमा सहज होस् भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ । विरामीलाई अस्पतालमा पुग्न सहज होस् भनी कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्पmत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा कामपाले सञ्चालनमा ल्याएको छ । यी माध्यमबाट हालसम्म २२ हजार कोभिड सङ्क्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीले सेवा लिएका छन् ।
कामपामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि हुने गरेको थियो । अहिले २५ प्रतिशत सङ्क्रमण दर घटेर ४५ प्रतिशतमा आएको छ ।
अघिल्ला हप्ताहरुमा अत्यधिकरूपमा कोरोना सङ्क्रमित बढेपछि कामपाले स्वाब सङ्कलनका लागि पाँचवटा केन्द्र बढाएर हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकता अनुरूप टोली तयारी अवस्थामा रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...