पोखरा – पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन आपूर्ति बन्द हुँदा एक सुत्केरीसहित सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ः०० देखि १०ः०० बजेको अवधिमा अक्सिजन आपूर्ति पूर्णरुपमा बन्द हुँदा उच्च गति (हाइफ्लो) अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीको मृत्यु भएको हो । 

बिहीबार रातिदेखि आज बिहानसम्म अस्पतालको मेडिकल आइसोलेशनमा पाँच र डी क्यान्टिन आइसोलेशनमा दुई गरी सात सङ्क्रमितको निधन भएको अस्पतालको मेडिकल आइसोलेशनका फोकल पर्सन डा डेविट श्रेष्ठले जानकारी दिए । 

तनहुँकी सुत्केरी यही जेठ ५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि ९ गते अस्पताल भर्ना भएकी थिइन् । उनको अस्पतालमा शल्यक्रियाविधिबाट सुत्केरी गराइएकामा अक्सिजन सहायतामा उपचार भइरहेकामा हिजो निधन भएको बताइएको छ ।  

देशको ठूलो सरकारी अस्पताल भए पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाको आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखरा अक्सिजन ग्यास प्रालिसँग अक्सिजन आपूर्तिको सम्झौता गरेको छ । 

पछिल्लो समय अस्पतालमा कोभिडका बिरामी बढेसँगै अस्पतालको माग पनि उच्च छ । हाइफ्लोका बिरामीलाई अलिकति पनि अक्सिजन कमी हुने बित्तिकै समस्या हुने चिकित्सक बताउँछन् । अस्पतालमा पटकपटक अक्सिजन आपूर्ति व्यवस्थापनमा समस्या देखिँदै आएको बताइन्छ । हालको अवस्थामा अस्पतालमा न्यूनतम २५० देखि ३५० सिलिण्डर आवश्यक पर्ने अस्पतालले जनाएको छ । पोखरामा रहेका दुई अक्सिजन कम्पनीले प्रदेशमा अक्सिजन आपूर्ति गर्दै आएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...