काेराेना अनुभूति

मिडियाकर्मी हुनुका नाताले सामाजिक सञ्जाल र न्युज पोर्टलहरू चहार्न मन लागिहाल्ने रहेछ। तर यसबीचका समाचार र फेसबुकमा पोस्टहरूले मलाई नै निकै मर्माहत बनायो।

सामाजिक सञ्जालमा दु:खको बिस्कुन फिजाउन मन लागेन र आज खुसीको समाचार सुनाउँदै छु। किनकि यो समय सबैलाई सकारात्मक खबरको खाँचो छ। जुन मैले १५ दिन आइसोलेसनमा बस्दा महसुस गरेँ।

कोभिड-१९ को दोस्रो लहर यति भयानक तरिकाले नेपालमा भित्रियो कि मैले पहिल्यै ठानिसकेको थिएँ, संक्रमणबाट भाग्न गाह्रै छ। अन्तत: कोरोना संक्रमितको लहरमा मेरो संख्या पनि थपियो। जसरी म पहिल्यै तयारी अवस्थामा थिएँ, त्यो तयारीले कोभिडविरुद्ध लड्न निकै मद्दत गर्‍यो। जस्तो कि म आत्तिइनँ।

जीवनशैलीलाई एउटा कोठाभित्रै सक्रिय बनाइराखेँ। सकेसम्म शारीरिक व्यायामलाई निरन्तरता दिएँ। पोसिलो खानपानमा जोड दिएँ। मासु/अण्डा/च्याउ/पौष्टिक तत्व मिल्ने सागसब्जीको सुप बढ्ता लिएँ। अरुचि पैदा हुन दिइनँ।

सुरुवाती ३/४ दिन ज्वरो देखियो तर नियमित सिटामोल खाएपछि ज्वरोलाई भगाइदिएँ। हल्का खोकी देखिनु संक्रमितको साझा लक्षण रहेछ। चिसोबाट जोगिएँ। नुनपानी वा बेटाडिनले दिनको ३ पटक गार्गल गरेँ। बाफ लिन छाडिनँ।

मिडियाकर्मी हुनुका नाताले सामाजिक सञ्जाल र न्युज पोर्टलहरु चहार्न मन लागिहाल्ने रहेछ। तर यसबीचका समाचार र फेसबुकमा पोस्टहरुले मलाई नै निकै मर्माहत बनायो। फेसबुकमा फोटोसहित श्रद्धाञ्जली दिनेहरुको 'होडबाजी' देखियो भने मिडियामा पोजिटिभ एंगलका समाचार निकै कम पढ्न पाइयो। धेरैजसोले मृत्युको लगतमात्रै उतार्ने काम गरे।

म बिसेक हुँदै थिएँ। यहीबीच इलामका मेरा दुई साथीलाई कोरोनाले चुँडेर लग्यो। फेसबुकको टाइमलाइनमा लगातार उनीहरुको तस्बिरसहित श्रद्धाञ्जलीको लहर चल्यो। यो खबर पाउनासाथ निकै असहज भयो। मुटुको गति बढ्यो। कमजोर बनेको शरीरमा थप पीडा भयो। तैबिसेक आफूलाई संयमित राखेँ तर जटिलतासँग गुज्रिइरहेका संक्रमितलाई यस्ता खबरले कस्तो मानसिक आघात पार्‍यो होला ?

यथार्थलाई त आत्मसात गर्नैपर्छ। तर यो बेला अवस्था फरक छ। त्यसैले मैले सुरुमै लेखेँ नि- सामाजिक सञ्जालमा दु:खको बिस्कुन फिजाउन मन लागेन र आज खुसीको समाचार सुनाउँदै छु। किनकि यो समय सबैलाई सकारात्मक खबरको खाँचो छ।

म त कोरोनाबाट मुक्त भएँ। कामना गर्छु, तपाईंलाई संक्रमण नहोस्। यदि भइहालेमा तपाईं पनि यो भाइरसबाट मुक्त हुनुहुनेछ। त्यसका धेरै सूत्र छैनन्। कुनैबेला लाग्ने रुघाखोकी वा ज्वरो फेरि बल्झिएछ भन्ठान्ने र नआत्तिने। शरीरलाई सक्रिय भने बनाइराख्ने। केही असहज देखिएमा मात्रै स्वास्थ्यकर्मीलाई फोन गरेर सुझाव लिने। आइसोलेसनमा बसेका बेला नकारात्मक समाचारमा ध्यान नदिने। पढ्ने, लेख्ने, म्युजिकको आनन्द लिने वा फिल्म हेर्ने।

चिकित्सकका अनुसार लक्षण देखिन छाड्यो भने १० दिनपछि परिवारमा घुलमिल हुन मिल्छ। तर सावधानीपूर्वक। धेरैले निको भएर पनि विश्वस्त हुन पटकपटक पुन: परीक्षण गर्ने गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले भनेका छन्- 'नौ दिनपछि सक्रिय भाइरस देखिएको छैन। त्यसैले दोहोर्‍याएर परीक्षण गर्नु जरुरी छैन। १४ दिनपछि पुन: परीक्षण गर्नै पर्दैन।'

विज्ञहरु तेस्रो लहरको समेत चेतावनी दिइरहेका छन्। त्यसैले अहिले हामी घरभित्रै रह्यौं र अत्यावश्यक काममा मात्रै उच्च सावधानीका साथ बाहिर निस्क्यौं भने मात्रै कोरोनाको 'चेन ब्रेक' हुन सक्छ र बिस्तारै अवस्था सामान्य बन्छ।

अन्त्यमा, यसबीच मलाई स्वास्थ्यलाभको कामना गरी फोन, मेसेज वा अन्य माध्यमबाट चासो राख्ने सबैप्रति आभारी छु। सक्रिय बन्नुस्, स्वस्थ रहनुस् ।

फणिन्द्र संगम सञ्चारकर्मी हुन् । यो कोरोना अनुभूति उनको फेसबुक पेजबाट लिइएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...