असोज २०७७ कोभिड–१९ को कारण लामो समय घरबन्दीपछि एक साँझ हामी पारिवारिक जमघटमा सामेल भयौँ । भेटघाटमा अरु परिकारसहित चिसो पेय पदार्थ पनि पियौँ । सुताइ ढिलो र उठाइ छिटो भयो । घर फर्किएपछि बिहानको खानपिन गर्यौँ । साङ्केन र आयुस्ना (दिदीको छोरी) ले आराम गरे । म भने अफिस लागेँ । अनिद्रा र थकानका वाबजुद दिनभर काममा जुटेँ । दिनैभरि पटकपटक पिसाब लाग्यो । बेलुकी घर आएपछि भने ज्वरो सुरु भयो । सबै बताएर औषधी पसलेसँग परामर्श गर्दा थकान र अनिद्राले नै हुनुपर्छ, सिटामोेल खानु र फलफूलमा जोड गर्नु भनेर सुझाए।
दुई दिन ज्वरोले छोडेन । तर, १०० को हाराहारी भन्दा माथि उक्लिएन । तेस्रो र चौथो दिन मज्जैले घाँटी दुख्यो । पाँचौँ दिनदेखि चाहिँ मलाई स्याहार गरिरहेकी साङ्केनलाई पनि टाउको, आँखा र ज्यान दुखाइले सताउन थाल्यो । बिएन्डबिमा कार्यरत नर्स दिदी सिता राईलाई सम्पर्क गरेँ । दिदीले तुरुन्त पिसिआर टेस्ट गराउन सुझाउनु भयो । साङ्केनले पनि चेकजाँचमा जोड दिइन्। पिसिआर टेस्ट गराउन बिएन्डबि पुग्यौँ । लाइन लम्बेतान थियो । पालो आएपश्चात स्याम्पल दिएर फर्कियौँ । रिपोर्ट नआउन्जेलसम्मको समय उकुसमुकुसपूर्ण रह्यो । ‘पोजेटिभ’ आउने सम्भावनासहित ‘नेगेटिभ’आउने आसा पनि उत्तिकै थियो । साँझ मोबाइलमा आएको एसएमएसले धड्कन बढायो । दुवैजनाको ‘पोजिटिभ’रिपोर्ट आउँदा निकै निरास भयौँ । कोठा छुट्टै भएकोले हुनुपर्छ आयुस्नामा चाहिँ खासै लक्षण देखिएन र टेस्ट पनि गरेनौँ ।
छोरी गर्भमा थिइन् । उसलाई केकस्तो असर पर्ने हो भन्ने पिरले पोलिरह्यो । डाक्टरले ‘सेफ मेडिसिन’भन्दै सिटामोल सिफारिस गरिदिए पनि बच्चाको मायाले एक चक्की भन्दा बढी खाइनन् साङ्केनले। रिपोर्ट आउँदासम्म मलाई चाहिँ केही हलुका हुन थालिसकेको थियो । थप दुईतीन दिन सामान्य सुख्खा खोकी लागेर कोराना भाइरसले बिदा लियो मबाट । अब मेरो पालो थियो साङ्केनलाई स्याहार्ने । उनलाई खोकी त खासै लागेन तर ज्यान चाहिँ गलाएर लखतरान बनायो । ज्वरो पनि १०२ सम्म आयो । एकदुई पटक स्वास फेर्न गाह्रो होला जस्तो भएर नबाँचिएला कि भन्ने भय पनि भएको अनुभव छ उनको । उनलाई सामान्य अवस्थामा आउन ११–१२ दिन नै लाग्यो ।
सङ्क्रमित भएबारे हामीले परिवारबाहेक सिमित साथीहरुलाई मात्रै जानकारी दियौँ । किनकि आफूभन्दा आफू वरिपरिका बढी आतङ्कित हुने गरेका दृश्य जो यत्रतत्र थियो सर्वत्र । सबै सामु सार्वजनिक नगरे पनि आफू निको हुन र अरुलाई नसार्न सबै प्रकारका सावधानी अपनायौँ । पूर्ण रुपमा आइसोलेटेडु भएर बस्यौँ । दुई हप्तापछि आएको ‘नेगेटिभ’रिपोर्टले हाम्रो मुहारमा मुस्कान ‘रिस्टोर्ड’ गरिदियो । कोभिड लाग्दा ज्वरोका लागि सिटामोल, रोग प्रतिरोधात्मक प्रणाली बलियो बनाउन जिङ्क र भिटामिनहरु खाने हो । तर, हामीले सिटामोल बाहेक घरमा उपलब्ध अदुवा, बेसार र जुवानोको सुप, गेगागुडीको झोल र सादा साग, दाल, भात खाएरै पार लायौँ ।
एकबार कोभिड भोगिसकेको मेरो अनुभवले भन्छ यो समय सकेसम्म हामीले स्वास्थ्य सन्तुलनमा राख्ने प्रयत्न गर्नुपर्छ । स्वास्थ्य (इम्युन सिस्टम) कमजोर हुँदा भाइरस हावी हुने सम्भावना प्रवल रहन्छ ।अर्को कुरा हाम्रो समूहमा जनस्वास्थ्य मापदण्ड पालना गर्नेमा सबैभन्दा सचेत म नै थिएँ तर पनि सङ्क्रमित भएँ । यसको मतलब ‘सामान्य सावधानी’ले पुग्दैन अहिलेको विषम परिस्थितिमा ‘विशेष सावधानी’नै अपनाउनु पर्छ ।
जेठ २०७८, अहिले छोरी तयामी ३ महिना पुग्ने तरखरमा छिन् । यसैबेला कोभिडको दोस्रो लहरले आतङ्क मच्याइरहेको छ । बैशाख १६ यता हामी फेरि घरबन्दी भएका छौँ । साङ्केनलाई कोभिड मिल्दो केही लक्षण देखिएपछि जेठ १ मा पिसिआर गराउन पाटन अस्पताल पुग्यौँ । तनावग्रस्त बित्यो दुई दिन । अन्ततः ‘नेगेटिभ’ रिपोर्ट आउँदा राहत मिलेको छ । अहिलेको विकराल अवस्थामा अति सचेतता अपनाऔँ । लक्षण देखिए, शङ्का लागे तुरुन्तै पिसिआर जाँच गराऔँ । पाटन अस्पतालमा ज्वरो लगायत लक्षण छ भने पिसिआर निशुल्क हुने रहेछ (अरु सरकारी अस्पतालमा पनि यो सुविधा हुन सक्छ) । पैसा तिर्दा पनि निजी भन्दा आधा सस्तो रहेछ । रिपोर्ट ‘नेगेटिभ’आए तनावमुक्त भइन्छ । ‘पोजिटिभ’आएर गाह्रो नपारे घरमै आराम गरी ठिक हुन्छ, गाह्रो हुने सङ्केत पाएर समयमै उपचार भए बाँचिन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...