म डिस्चार्ज भएँ, अर्थात् म बाचेँ । कुरा त यति हो । तर, यतिमा मात्र सीमित रहेन । ‘म बाचेँ’ भनिरहँदा मैले जीवनसँग मारिसकेको हरेसको फेहरिस्त छ । ३ जेठ साँझ अस्पतालबाट बिदा हुँदै थिएँ । झिटी-गुन्टा पट्याएपछि मैले वरिपरि बेडतिर नजर दौडाएँ । त्यहाँ अरु चार वटा बेड थिए । सबै कोभिडका बिरामी । मैले हात जोडेँ र भनें, “तपाईंहरु सबैलाई चाँडै निको होस् ।”
जब बिरामी अस्पतालको बेडसम्म पुग्छ, तब सकारात्मक समाचारको खाँचो महसुस हुँदोरहेछ । नकारात्मक समाचारलाई प्राथमिकता दिने र सकारात्मक समाचारलाई कतै कुनामा मिल्काउने मिडियाबाट मैले निराशाभन्दा केही पाइनँ ।
यति बोलिसक्दा मेरा आँखा रसाइसकेका थिए । उनीहरु मलिन अनुहारमा बसिरहे । दुई जना मभन्दा अगाडि नै र बाँकी दुई जना पछि भर्ना भएका । म पक्का थिएँ, मेरो ‘चाँडो निको हुनुहोस्’ भन्ने कामनामा उनीहरु विश्वस्त थिएनन् । विश्वस्त बनाउने कुनै वातावरण नै थिएन ।
वास्तवमा अस्पतालबाट निस्कन मैले आफैँ डाक्टरसँग ढिपी गरेको थिएँ । मलाई लागिरहेको थियो कि जति अस्पताल बस्दै जान्छु, मलाई कोभिडसँगै 'डिप्रेसन'सँग पनि जुध्नु पर्ने हुन्छ । र, यसको कारण अरु केही नभएर मिडिया तथा सामाजिक सन्जाल थिए ।
मलाई थाहा छ, अहिले अवस्था कठिन छ । सरकारले कति गर्न सक्यो वा गरेन त्यसबारे बहस आलोचना हुनसक्ने प्रशस्त ठाउँ छन् । त्यसमाथि बहस गर्दै गर्दा विश्वमा के भइरहेको छ र त्यहाँका सरकार कति जिम्मेवार छन् भन्ने विषय पनि आइहाल्छ । अक्सिजन अभाव, बेड अभाव, औषधि अभाव । बिरामीलाई अस्पतालको ढोकासम्म पुर्याएर फर्काउनुपर्ने अवस्था । निजी अस्पतालको लुट धन्दा । लगायत विषयमा भलिभाँति जानिएकै हो । तर, जब बिरामी अस्पतालको बेडसम्म पुग्छ, तब सकारात्मक समाचारको खाँचो महसुस हुँदोरहेछ । नकारात्मक समाचारलाई प्राथमिकता दिने र सकारात्मक समाचारलाई कतै कुनामा मिल्काउने मिडियाबाट मैले निराशाभन्दा केही पाइनँ ।
‘खबरदारी’ मिडियाको कर्तव्य हो । तर, त्यसको समय उचित हुनै पर्ने रहेछ । सात दिनमा सातै दिन ‘खबरदारी’को अस्त्र कति उचित ? यसले मिडियाको ‘सोसियल रेस्पोन्सिबिलिटी’ पूरा हुन्छ ? विषय यही नै हो । खबरदारीको विषयमा सबैभन्दा बढी जोडिएका पात्र हुन्, प्रधानमन्त्री केपी शर्मा ओली । दुनियाँलाई थाहा छ कि उनी नेपाली समाजको विविधता नस्वीकार्ने नेता हुन् ।
हो, हामी सबै उनका विषयमा जानकार नै छौँ । बेसारदेखि आँपसम्मको विज्ञता सुनेकै छौँ । उनको बोलीको अर्थ छैन भनेर दुनियाँले मानिसकेपछि फेरि पनि उनका भाषणलाई ‘उडाउँदै’ उनैलाई समाचार बनाउनुपर्ने हाम्रा मिडियालाई किन जरुरी पर्यो ?
दुनियाँलाई थाहा छ कि, उनी बोलीमा लगाम नभएका नेता हुन् । र दुनियाँलाई थाहा छ कि उनी आसेपासेका भ्रष्टचारमा मजाले आँखा चिम्लिन्छन् । हो, हामी सबै उनका विषयमा जानकार नै छौँ । बेसारदेखि आँपसम्मको विज्ञता सुनेकै छौँ । उनको बोलीको अर्थ छैन भनेर दुनियाँले मानिसकेपछि फेरि पनि उनका भाषणलाई ‘उडाउँदै’ उनैलाई समाचार बनाउनुपर्ने हाम्रा मिडियालाई किन जरुरी पर्यो ? उनले लिने नीतिगत विषय मात्र समाचार बनाएर अरु ‘डम्प’ गर्न कसले छेकेको थियो ? यो विषम परिस्थितिमा तथ्यांक ‘ब्लाष्ट’ गर्नुपर्ने जरुरी किन पर्यो ? नेताको गैरजिम्मेवारीमा मात्र होइन मिडियाको लोकतान्त्रिकरणमाथि पनि यसरी प्रश्न उठ्छ ।
म विगत १४ वर्षदेखि पत्रकारिता पढाइ पनि रहेको छु । ‘फोर थेअरी अफ प्रेस’ को चौँथो थेअरी सोसियल ‘रेस्पोन्सिबिलिटी थेअरी’ पढाउँदा हामी बारम्बार हर्लिक्सको विज्ञापनको उदाहरण दिन्छौँ । हर्लिक्स खाएर उचाइ बढ्छ भन्नु सरासर झूट हो । यो सिद्धान्तले मिडियालाई आफ्नै बुतामा टिकाउने मात्र होइन जिम्मेवार बन्न भन्छ । त्यसैले यस्ता झूटो विज्ञापनसमेत बनाउनु हुँदैन भन्छ ।
तर, हामी प्रधानमन्त्रीका ‘मनपरी बोली’लाई महत्व दिएर इतिहासका गर्तबाट समेत अनेक तथ्यांक झिकेर प्रस्तुत गरिरहेका छौँ । जसले डर सिवाय केही पैदा गरेन । यस्तो उल्लेख गरिरहँदा कसैलाई भ्रम पर्न सक्छ कि, यो त सरकारको पक्षमा भयो । म कसैको पक्ष वा विपक्षमा लेखिरहेको छैन । मात्र अस्पतालको बेडमा छट्पटाइरहेकाहरुलाई कसरी जीवनको आशा भर्ने भन्ने सोँच हो ।
सामाजिक सन्जालमा आउने मृतकप्रतिको श्रद्धान्जलीले अस्पतालको बेडमा ‘अब मेरै पालो होला’ भन्ने अनुभूति आउँथ्यो । रुनसमेत सकिँदैन थियो ।
पत्रिका र अनलाइनमा आउने हरेक नकारात्मक समाचार र सामाजिक सन्जालमा आउने मृतकप्रतिको श्रद्धान्जलीले अस्पतालको बेडमा ‘अब मेरै पालो होला’ भन्ने अनुभूति आउँथ्यो । रुनसमेत सकिँदैन थियो । त्यति बेला बरु टिकटिक भिडिओले पो मन आराम गराउँथ्यो । कहिल्यै मोबाइलमा टिकटक एप नहालेको मैले फेसबुक र युट्युबमा बरु तिनै भिडियो खोजेर हेरेँ । नर्सले पीपीई लगाएर बनाएका टिकटक मेरो सबैभन्दा मनपर्ने विषय बने ।
हाम्रा मिडियाका समाचार पढेपछि म बीबीसी, बीबीसी हिन्दी, भाष्कर, अलजजिराका समाचार हेर्थेँ । ती समाचारमा कोभिडको विषय त हुन्थ्यो नै, प्रस्तुति हाम्रा मिडियाको भन्दा धेरै फरक । विश्वमा सन्की शासकको कमी छैन । नरेन्द्र मोदीको आलोचना भारतमा भएकै छ । ‘गोदी मिडिया’ले उनलाई भगवान पनि बनाएकै छ । तर, भारतीय मिडिया पनि नेपाली मिडियाभन्दा सकारात्मक समाचारमा केही फरक पाएँ ।
केही ‘टेब्लोइड टीभी’लाई महत्व नदिने हो भने त्यहाँ आलोचना मात्र होइन, आशा पनि छ । जस्तो, भाष्करले कोभिडको खोपको वितरण, औषधिको आविस्कार, आइसोलेसन सेन्टरको व्यवस्था जस्ता राहत दिन सामग्री धेरै दिइरहेको थियो । त्यसबाहेक ‘इन्डियन प्रिमियर लिगको सन् २०२२ को संस्करणमा १० टीम हुने, ती कुन हुनसक्छन् ?’ जस्ता अतिरिक्त विषयमा केन्द्रित गरिरहेको थियो । बरु पछिल्लो समय इजरायल–प्यालेस्टेनी द्वन्द्वले भने मन पोल्यो ।
जब मेरो ज्यानमा थोरै शक्ति आयो, मैले घरबाट केही पुस्तक मगाए । सकेसम्म समाचार सामाजिक सन्जाल नहेर्ने निधो गरेँ । महेशराज पन्तको पुस्तक ‘नेपाली इतिहासको परिवेश’ र श्याम साहको कथासंग्रह ‘पथेर’ र खण्डमान सिंहको ‘जेलबाट बाहिर चालीस वर्ष’मा मन भुलाएँ । म कुनै ‘पढन्दास’ हुन वा देखिन यसो गरिरहेको थिइनँ । बरु आफूले आँफैलाई ‘कोभिड आतंक’बाट जोगाउने प्रयास गरिरहेको थिएँ ।
यति लेखिसकेपछि मिडियाका समाचार सेयर गर्ने र कोभिडबाट मृत्यु भएकालाई हतारमा श्रद्धान्जली लेख्ने साथीहरुको जिम्मेवारीको कुरा गरौँ । म अस्पताल भर्ना भएपछि नेपाल पत्रकार महासंघले धमाधम निधन भएका पत्रकारको श्रद्धान्जली विज्ञप्ति प्रकाशन गर्यो । संक्रमित पत्रकारको संख्या बताउन थाल्यो । कसैको निधनमा केही साथी हतारमा फोटो राख्दै श्रद्धान्जलीको लागि प्रतिश्पर्धामा देखिन थाले । मानौँ, ती श्रद्धान्जली लेख्न तयारी अवस्थामा थिए । उनले दिएको श्रद्धान्जली मृतकले तुरुन्तै पाए र ‘परलोक’ सुधारे । तर, तिनै श्रद्धान्जलीले अस्पतालको बेडमा छट्पटाइरहेकाहरुलाई मृत्युको नजिक पुर्याएको आभाष भइरहन्थ्यो ।
फेसबुकमा हालिने श्रद्धान्जली ‘ढोंग’ मात्र हो । त्यसले न समाजलाई फाइदा गर्छ, न मृतकलाई । नजिकका मान्छेको मृत्युमा तपाईंलाई दुख लाग्नु स्वभाविक हो । तर, त्यसले आतंक सिर्जना गर्छ भने मन सम्हाल्नुपर्छ । नत्र फेसबुकमा हुनुहुने तपाईं ‘मित्र’ अस्पतालमा छट्पटाइरहेकाहरुको लागि ‘दुश्मन’ हुनुहुन्छ । मैले यस्ता श्रद्धान्जली व्यक्त नगर्न केही साथीलाई प्रतिवाद गरेँ । तर, त्यसको प्रभाव कति पनि परेन ।
अनि तपाईंले भनेजस्तो ‘लखरलखर’ को हिँडिरहेको छ ? जसलाई दुई छाक खान इँटाभट्टा जानै पर्नेछ । जसलाई गिटी कुट्नै पर्नेछ । जसलाई ठेला ठेल्नै पर्नेछ ।
केही साथीले अस्पताल पुगेपछि समाचार र सामाजिक सन्जाल नहेर्न सल्लाह पनि दिएका हुन् । तर, समय कसरी कटाउने ? मनमा खटपटी त हुँदोरहेछ नै । अनि सामाजिक सन्जाल प्रयोगकर्ताले गरेको अर्को तर्क चाहिँ निकै हाँस्यास्पद लाग्यो, यस्ता श्रद्धान्जलीले ‘लखरलखर’ हिंड्नेहरुलाई सचेत गराउँछ रे । यो तर्क आफू संक्रमित भएर अस्पताल नपुगेसम्मलाई मात्र काम दिन्छ । त्यसपछिको संघर्ष ‘जीवन वा मृत्यु’ भन्ने मात्र हो । म जीवनको कुरा गरिरहेको छु । उनीहरु मृत्युको धून बजाइरहेका छन् । अनि तपाईंले भनेजस्तो ‘लखरलखर’ को हिँडिरहेको छ ? जसलाई दुई छाक खान इँटाभट्टा जानै पर्नेछ । जसलाई गिटी कुट्नै पर्नेछ । जसलाई ठेला ठेल्नै पर्नेछ । जसलाई ट्याक्सी चलाउनै पर्नेछ । कोभिडले मरोस् कि भोकले त्यसमा के अन्तर छ ? त्यसैले कसैको बाध्यतालाई मजाक नबनाउँ ।
अहिले मिडिया ‘शक्तिशाली’ छन् । कसैको ‘बचाउ गर्न’ वा कसैलाई ‘स्टेप डाउन’ गर्न कथित लोकतन्त्रको आवरण तिनले भिर्न पाएकै छन् । तिनका ‘आतंक’लाई विष्फोट गराउन सामाजिक सन्जाल प्रयोगकर्ता तयार छन् । किनभने ती नागरिकभन्दा बढी ‘कार्यकर्ता’ छन् । कुरा आलोचनाको मात्र होइन । म घर फर्किएँ । अब अस्पतालमा भएका अरु संक्रमितलाई पनि घर फर्काउन सकारात्मक समाचारमा बल गरौँ । आउनुस् मिलेर लडौँ ।
गुरागाईं उन्मुक्त पुस्ताका कवि हुन्
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...