हाम्रो परिवारले कसरी कोभिड–१९ लाई जित्यो ?

कोरोनालाई जितेको परिवारको अनुभव संसारमा सबैभन्दा ठुलो कुरा प्रेम हो जस्तो लाग्यो मलाई । सबैसँग सके मिठो बोल्ने, सके राम्रो गर्ने तर नराम्रो त गर्दै नगर्ने । आफ्नो काम चाहिँ  जहाँ जसरी भए पनि मन सुम्पिएर गर्ने । तर भाग्यको खेल भन्नु कि जानी–जानी गरेका गल्तिहरुको सजाय ? गएको छ महिना चाहिँ बिरामी नै बिरामी भएर बित्यो । यहि क्रममा आज भन्दा १० दिन अगाडि भयंकर ठुलो भाइरस कोभिड-१९ को नयाँ भ्यारिएन्टले समात्यो । अचम्मको कुरा के भने जुन दिन ‘कोभिड–१९’ को टेस्ट गर्दा पोजेटिभ रिजल्ट आयो त्यो दिनको त्यसकै ४ दिन अगाडि टेस्ट गर्दा डिटेक्टेड भनेर मोबाइलको घन्टि बजेको थियो । दुःखको कुरा के थियो भने केहि पत्तो नैं नपाई म संक्रमित भएँ । अनि थाहा नै नपाई मैले मेरो बहिनीलाई र आमालाई पनि संक्रमित बनाइ सकेछु । बहिनीको पनि पोजेटिभ भनेर आयो भने आमालाई दुरुस्तै लक्षणहरु देखियो ।

लक्षण के देखियो ?

२-३ दिन असहज भएको थियो । तर अब लकडाउन हो भन्ने सोँचेर हिँडडुल गरिराखेको र आफ्नो इम्युनिटि माथि धेरै विश्वास छ, अनि सधैँ आफुलाई पहिले भइसकेको र थाहा नपाइ निको भइसक्यो भन्ने ओभर कन्फिडेन्सले गर्दा कोभिड हो कि त भन्ने शंका चाहिँ लागेन । दोस्रो लक्षण निरन्तर टाउको दुखाई थियो । टाउको दुखाइकै बेला म  कोभिडको भ्याक्सिन लगाउन गएको थिए । कार्यभार र भोकले गर्दा अति धेरै टाउको दुख्यो भन्ने भयो ।  त्यस दिन पनि मलाई कोभिड हो भन्ने लागेन । त्यसैगरी दोस्रो लक्षण देखिनु अगाडी पि.सि.आर. टेस्ट गराएँ । त्यस दिन पनि एकदिन अगाडी जस्तै ग्रसित भएको थिएँ । त्यसको अर्को दिन बहिनी र त्यसको भोलिपल्ट आमा पनि उस्तै तरिकाले ग्रसित भएपछि पि.सि.आर. गर्नुपर्छ भन्ने लाग्यो । अनि बहिनी र मैले पिसिआर परिक्षण गरायौं । तेश्रो लक्षण थियो खोकि लाग्ने यसको लगतै अति कमजोर महसुस भयो । सुति राख्न मन लागेन । बासना र स्वाद दुवै हराएको थियो ।  हामी सात मध्ये पाँच जनालाई यो लक्षण देखियो । हामी मध्ये कसैलाई लक्षण प्रष्ट देखियो भने कसैलाई प्रष्ट देखिएन । प्रायलाई डाइरिया, रुघा, बमिट, छाती दुख्ने जस्ता लक्षण आए । अनि अन्तिमतिर ग्यास्ट्रिक र कब्जियत पनि देखियो । यो चाहीँ खानपानको कारण रहेछ ।

कसरि जित्यौ दोश्रो चरणको कोभिड ?

सबैले सोध्ने प्रश्न हो कि हामीले भान्छा फरक प्रयोग गर्यौं कि गरेनौ ? आफन्तहरु अनि साथिभाइहरुले सल्लाह सुझाव दिँदा हरेकले भन्नु हुने एउटै कुरा थियो भान्छा फरक बनाउनुपर्छ । नत्र भने निको हुँदै हुँदैन । तर यो सबै कुराहरु हुँदाहुँदै पनि हामी संक्रमित र संक्रमित नभएका सबैले एउटै घरमा रहेर र एउटै भान्छा प्रयोग गरेर कोभिडलाई जित्ने प्रयास गर्यौं। अझ हामीले ८० बर्षको हजुरआमालाई संक्रमित हुन दिएनौं । 

सबैभन्दा महत्वपुर्ण कुरा जसले हामीलाई हाम्रो हजुरआमालाई संक्रमित हुनबाट जोगायो त्यो चाहिँ डिसइन्फेक्टेन्ट स्प्रे हो जस्तो लाग्छ मलाई । डिसइन्फेक्टेन्ट स्प्रे चाहिँ हामीले घरको गेटदेखि शौचालय, भान्छा सबैमा प्रयोग गर्यौं। करिब करिब प्रत्येक पटक जब हामी संक्रमितहरुले ढोकाको लक, ह्यान्डल समात्थ्यौं, हामी डिसइन्फेक्टेन्ट गरिहाल्थ्यौं  । भान्छा प्रयोग गर्दा वा खानाहरु पकाउने कसरी गर्यौं त ? आफू संक्रमित हुँदा खाना बनाउन अलिकति डर चाहिँ लाग्दो रहेछ । ठुलो र मध्यम वर्गीय परिवारको लागि खाना अर्डर गरेर खान सम्भव पनि भएन । त्यसमाथि कोभिडको केसमा समय–समयमा केहि न केहि तातो झोल पदार्थ खाइराख्नुपर्छ । यो सब बाहिरबाट अर्डर गरेर सम्भव नै भएन ।

भान्सामा खाना बनाउदाँ जसले जसरी सकिन्छ त्यसैगरी खाना–खाजा बनाउने  गर्यौं । तातो पानी तताउने काम गर्यौं । खाना बनाउदा दुई वटा डबल मास्क र फेस सिल्ड प्रयोग गर्यौं भने त्यहि क्रममा ३/४ पटक साबुन पानिले हात धुने गर्यौं । एकपटकमा एकजना मात्र भान्सामा काम गर्ने गर्यौं । खाना जसले बनाए पनि यसको सर्भ गर्ने काम चाहिँ कान्छी बहिनीले गरी किनकि उ संक्रमित थिइन । 

संक्रमित सबै जना आइसोलेटेड रुममा जडिबुट्टिहरुको मिश्रण सहितको दिनको ५ देखि ६ गिलास तातो पानी पियौं । त्यस्तै भेजिटेबल सुप दुई कचौरा अनि कम्तिमा दुई पटक बाफ लिनु पनि प्रभावकारी भयो । त्यसमाथि ल्वाङ्ग, सुकमेल मरिच हालेको कालो चिया दिनको २/३ कप पियौँ । अझै उठ्ने बितिकै कागति पानी त छँदैछ । यति सबै निरन्तर सात दिन सम्म नियमित रुपमा गरेपछि आठौं दिन सबैजना एकदम नर्मल र एक्टिभ भइसकेको थियौं ।

‘मेन्टल हेल्थ’ तथा ‘मेन्टल अवेरनेस’ पनि कोभिडसँग लड्नको लागि एकदम जरुरी छ । सामाजिक सञ्जालमा विभिन्न मृत्यु र आइ.सि.यु.मा भएको बिरामीको विवरण हेरेपछि आफूपनि २-३ घण्टामा थाहै नपाइ त्यस वर्गमा पर्छु र पर्छौं लाग्नु स्वभाविक हो । घाँटी खसखस हुने वितिकै निमोनियाले एकदम सिकिस्त पार्छ कि जस्तो लाग्नु पनि स्वभाविक हो । 

यो सबै हुँदा–हुँदै पनि आफ्नै कोठामा आइसोलेटेड हुँदा फेमिलि ग्रुप भिडियो कन्भरसेसन गर्ने, हाँसो ठट्टा गर्ने, चुड्किलाहरु आदानप्रदान गर्ने, इन्फरमेटिभ र पोजेटिभ मेसेजहरु आदानप्रदान गर्ने, प्रत्यक्ष वा अप्रत्यक्ष परिवार भित्र एक अर्काको ख्याल गर्ने तथा एक्लोपनको आभास कसैलाई हुन नदिनुले पनि कोभिड विरुद्ध लड्न सहयोग गर्दोरहेछ ।  हामीले चिकित्सकको सल्लाह अनुसार भिटामिन सी र जिन्क अनि आफ्नो लक्षण अनुसारको औषधि प्रयोग गर्यौं ।

मैले पाएको सन्देश

मलाई कोभिड हुँदैन अथवा पहिल्यै भैसक्यो भनेर लापरबाहि गर्नु सबैभन्दा ठुलो मुर्खता हुनेछ । भइसकेपछि चाहिँ चिकित्सकको सल्लाह लिने र त्यहि अनुरुप पालना गर्नु बुद्धिमानी हुनेछ । साथिभाई आफन्त र सामाजिक सञ्जालको कुराहरु मनमा राख्न थाल्यो भने मनोबल गिर्न सक्छ र उल्टो असर पनि पर्न सक्छ । मलाई आफू कोभिडसँग लड्नु छ र सबैलाई जित्न सिकाउनु छ भन्ने उद्देश्य बोकेर ‘पोजिटिभ एटिट्युड’लाई ध्यान दिएर अगाडि बढेमा ९० प्रतिशत सहज रुपले कोभिड बाट पार पाउन सकिन्छ । 

 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...