डिप्रेसन अर्थात् दिग्दारी र चिढचिढेपन अहिले देखिरहेको एक प्रमुख मानसिक स्वास्थ्य समस्या हो । यसले नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ । कोरोनाको विश्वव्यापी महामारी बढेसँगै चिन्ता, डर डिप्रेसन बढेको विभिन्न अनुसन्धानबाट खुलेको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउन (बन्दाबन्दी)को अवधि लम्बिँदै गएपछि नेपालजस्तो विकासउन्मुख देशमा पारिवारिक आर्थिक अवस्था कमजोर बन्नु, घरभित्र बसिरहँदा अप्ठेरो महसुस हुनु, बाहिरी खुल्ला वातावरणसँग घुलमिल हुन नपाउनु, कोरोना सम्बन्धित प्रशारित कोरोना संक्रमण तथा मृत्युको खबरले कोरोनाप्रतिको डर बढ्नु, मनोरन्जनको वातावरण नबन्नु, खाना तथा स्वास्थ्य सेवाको पर्याप्तता नहुनुजस्ता कुराले पनि मनसिक समस्या निम्त्याएकाे छ ।
विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्क अनुसार संसारभर कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी मानिसहरू डिप्रेसनको सिकार भएको पाइन्छ । कोरोनामाहामारी पश्चात्य यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
डिप्रेसन कडा खालको मानसिक रोग हो । अर्थात् यो एक मानसिक अवस्था हो वा अर्को शब्दमा दिक्दारी सधैँ निराश देखिने रोग हो । सामान्य भाषामा भन्ने हो भने तनावको अवस्था लामो समय सम्म व्यक्तिमा रहनु डिप्रेसन हो ।
मानिस कुनै अवस्था, घटना, काम, व्यवसाय, सम्बन्ध आदिइत्यादिका कारण तनाव मा रहिरहन्छ । तर, यही तनावलाई सही समयमै नियन्त्रण गर्न नसकी आफूमा निशापन ल्याउनु एक्लोपन ल्याउनु झर्किने स्वभाव लामो समयसम्म ल्याउँछ भने उसलाई डिप्रेसन भएको हुनसक्छ ।
सामान्य अवस्थामा स्वास्थ्य मानिसले मनलाई कुनै एक फरक अवस्थामा पुर्याएको छ भने पनि उसले केही समयभित्रै आफ्नो पुरानै अवस्थामा फर्काउन सक्दछ । कुनै मानिस केही कुरा गुमाएको कारण दुःखी भएको छ भने केही समयपछि आफूलाई शान्त बनाई सामान्य अवस्थामा मनलाई फर्काउँदछ । यदि मन आत्तिएको छ, डराएको छ भने केही समय मन आत्तिन्छ, डराउँछ र मन आत्तिएको कारण हटिसकेपछि केही समय बितेपछि आत्तिने समस्या आफैँ ठिक हुन्छ । यो भनेको सामान्य अवस्था हो । सामान्यतया बाटो मा एक्लै हिँडिरहदा एक्लै बस्दा गरिने र सोचिने अनेक किसिमका सोचहरू स्वास्थ्य मानिस निश्चित समयसम्म मात्र गर्न सक्दछ तर डिप्रेसनमा भएको मानिसमा भने यो प्रक्रिया लामो रहन्छ ।
उदाहरणको लागि कुनै व्यक्ति एक्लै हिँड्दै गर्दा आफूले आफैँसँग आफूभित्र विभिन्न कुरा कल्पिने आफैँसँग कुरा गर्ने गर्दछ । यसरी कुरा गरिरहेको स्वस्थ्य मानिस क्षण भरमै शुरूकै सामान्य अवस्थामा फर्किन सक्छ भने डिप्रेसन वा मानसिक समस्यामा रहेको व्यक्ति पहिलेको अवस्थामा फर्किन समय लगाउने हुने गर्दछ ।
हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरिकाले चलाइरहेको हुन्छ । तर कहिलेकाहीँ केही विशेष कारणले गर्दा मन यदि दुःखी भयो पीडा भयो भने त्यही दुःख, पीडाको अवस्था लामो समयसम्म रहिरहनुलाई डिप्रेसन भन्न सकिन्छ ।
यदि यो दुःख वा तनाव को कारण केही समय मात्र रह्यो भने त्यो तनाव हो भने त्यही कारण १४ दिन भन्दा बढीसम्म रह्यो भने डिप्रेसन हुन्छ ।
डिप्रेसन किन हुन्छ ?
डिप्रेसन किन र के कारणले हुन्छ भन्ने एउटै परिभाषा भने पाइँदैन । यसका कारणहरूलाई यही कारण हो भनेर तोक्न पनि सकिँदैन । डिप्रेसनको कारण तनावको जस्तो कुनै एक कारण नै हो भन्ने हुँदैन । डिप्रेसन विभिन्न उमेर समूहका व्यक्तिलाई विभिन्न कारणले हुनसक्छ । मानसिक रोग विशेषज्ञ तथा केही शोधका अनुसार शरीरभित्रको रसायनमा कमी हुनाले पनि डिप्रेसन हुन्छ भन्ने छ ।
मानव मस्तिष्कमा पाइने विभिन्न प्रकारका रसायनहरू सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ भने शरीरमा पाइने विभिन्न प्रकारका हार्मोनको कमी या बढी हुनुले पनि यो अवस्था निम्तिन सक्दछ । यसका अलावा बढी चिन्ता, पिर, डर, पीडा,दुःखजस्ता कारणहरू यसका प्रमुख कारक हुन् ।
डिप्रेसनका कारणहरू
सामान्यतया डिप्रेसन हुनुको कारण यही हो भन्ने छैन । यसका कुनै पनि आधिकारिक कारण भने फेला परेको छैन तर डिप्रेसनलाई प्रभाव पार्ने तथा बढुवा दिने कारणका रूपमा निम्न कारणहरूलाई लिन सकिन्छः
१. वंशाणुगतः वंशाणुगत कारण एक प्रमुख कारण हो । यदि परिवारको कुनै सदस्य जस्तै बा, आमा, हजुरबा, हजुरआमा अथवा यो भन्दा पनि अघिको पुस्तालाई कुनै पूर्व समयमा डिप्रेसन भएको थियो भने अहिले को पुस्तामा डिप्रेशन हुनसक्छ।
२. तनाव र जीवनमा घटेका केही विशेष घटनाः कुनै निश्चित कुराको कारण आएको तनाव स्थायी रूपमा लामो समयसम्म रहीरहनु, बेरोजगार, रोगव्याधीले च्याप्नु, परीक्षामा फेल हुनु, प्रेममा वियोग हुनु, प्रिय मान्छे गुमाउनु, अप्रिय घटना घट्नुजस्ता कुराले पनि डिप्रेसन निम्त्याउन सक्छ ।
३. शरीरमा रासायनिक परिवर्तन आउनुः
केही रसायनिक परिवर्तनहरूको कारण पनि यो समस्या आउन सक्दछ । जस्तै विभिन्न प्रकारका रसायनहरू सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो इन्जाइमहरूमा असन्तुलन आउनु जस्ता कारणले पनि डिप्रेसन हुन सक्दछ ।
यसरी हेर्दा कुनै पनि घटेका घटना दुर्घटना अथवा तनावको स्थितिलाई समाधान गर्न सकियो भने डिप्रेसन हुँदैन तर त्यो तनावपूर्ण अवस्थालाई मानसिक रूपले समाधान सकिएन भने डिप्रेसन उत्पन्न हुन्छ ।
डिप्रेसनका लक्षणहरू
सामान्यतया डिप्रेसनका लक्षणहरूलाई यसरी हेर्न सकिन्छः
उदासीनता र उदासी हुनु
निन्द्रा ठिकसँग नआउनु
इच्छाशक्तिको अभाव
रिसाहा वा चिढचिढे हुनु
शारीरिक कमजोरी र थोरै काम गर्दा धेरै थकाई महसुस हुनु
नकारात्मक सोच राख्नु
ध्यानको कमी
आत्मबलको कमजाेरी
हीनताबोधका साथै
बिना कारणले सानो–सानो कुरामा पनि पश्चात्ताप हुने हुन्छ । खाना नरुच्ने, बोल्न मन नलाग्ने, मन खुसी नहुने, पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो त्यो नहुने, टाउको दुख्ने, मुटु काम्ने, एक्लै बसेर रुन मन लाग्ने, मर्ने बारे सोच्नु आदि यसका लक्षण हुन् । यदि यस्ता लक्षणहरूलाई बेवास्ता गरेको खण्डमा कडा खालको मानसिक समस्या देखिन सक्छ ।
डिप्रेसन बाट बच्ने उपायहरू
१. व्यक्तिले आफैँमा बलियो हुने तथा आत्मबल बढाउने
२. परिवार साथीसंगी तथा आफ्न्तहरूको बीचमा रहने,
३. पर्याप्त निन्द्रा, आराम गर्ने
४. नियमित खाना खाने, पानी पिउने
५. खेलकुद तथा मनोरञ्जनयुक्त कार्यमा सरिक हुने
६. बालबालिकाहरूलाई अभिभावकले प्रशस्त समय दिने र उनीहरूलाई सृजनशील बनाउने ।
८. सामाजिक सञ्जाल, मोबाइल, ल्यापटप चलाउने तथा भिडियो गेम खेल्नेजस्ता कार्यलाई कम गर्ने
९. नयाँ ठाउँ घुम्ने, रमाउने
१०. जाँडरक्सी चुरोट पिउने, जुवा तास खेल्नेजस्ता व्यवहारलाई निरुत्साहित गर्ने, आदि ।
११. मानसिक समस्या बढ्दै गएको खण्डमा तुरुन्त चिकित्सकसँग भेटी परामर्श लिने ।
(लेखक पूर्ण अधिकारी पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत छन् भने केआर पाण्डुलिपि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वास्थ्य शिक्षा अध्ययनरत छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...