काठमाडौँ – सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैयाँ निकासाको स्वीकृति प्रदान गरेका हुन् ।
उनले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताए । साथै उनले स्वास्थ्यकर्मीहरूलाई जोखिमभत्ताका लागि रकम स्वीकृति गरेका छन् । स्वास्थ्य मन्त्रालयले अर्थलाई पेश गरेको ३ वटा फाइल उनले सदर गरेका छन् । स्वास्थ्यले स्वास्थ्यकर्मीहरूको जोखिमभत्ता तथा आइसियु एचडियु थप्न थप रकम प्रस्ताव गरेको थियो ।
कोभिड– १९ जोखिम न्यूनीकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसियु तथा भेन्टिलेटर खरिदका लागि ९६ करोड १२ लाख रकमान्तर तथा ५२ करोड ४६ लाख प्रादेशिक र स्थानीय तहलाई वित्तिय हस्तान्तरण गर्न पनि सहमति दिएका छन् । यस्तै कोभिडÞ– १९ संक्रमितलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइ वापत् केन्द्रीय र प्रादेशिक अस्पताललाई ५६ करोड ४१ लख रकमान्तर र वित्तीय प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ३७ करोड २५ लाख सर्शत अनुदानको रुपमा हस्तान्तरण गर्न पनि अर्थमन्त्री शर्माले सहमति प्रदान गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले चैतसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने निर्णय गरेको थियो । यस्तै हिजै बसेको बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई ७ दिनभित्र जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । यसअघिको सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...