काठमाडौँ - नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो । 

निर्देशनमा चिनी/चकलेट, ल्वाङ,  मिनरल वाटर, मदिरा/भिनागर, चुरोट/सुर्तीजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका बहुमुल्य सामान आयात निरुत्साहित गर्न खोजिएको छ । 

निर्देशन अनुसार यी सामानहरू आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने व्यवस्था गरिएको छ । 

यसैगरी विद्युतीय बाहेकका गाडी र मोटरसाईकल आयातको लागि समेत ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन गरेको छ ।  उक्त मार्जिन रकमका लागि बैंकहरूले ऋण दिन नपाउने र मार्जिन वापत जम्मा भएको रकममा व्याज समेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा व्यवस्था छ । 

आयातलाई निरुत्साहित गर्नका लागि केन्द्रीय बैंकले कडाइ गरेको हो । उच्च व्यापारघाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा संचितिमा समेत दवाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो । 

यसअघि पनि राष्ट्र बैंकले चादी आयात कडाइ गर्न सीमा तोकेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...