काठमाडौँ – सरकारले यस वर्षको बजेट आज सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार आज (शनिबार) सार्वजनिक हुन लागेको हो ।
सरकारले कोरोना सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्ने भएको छ । प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि संसद विघटन भएकाले अध्यादेशमार्फत काम चलाउ बजेट ल्याउन लागेको हो ।
बजेट अध्यादेश पारितका लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङका अनुसार अहिले बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ।
बजेट अध्यायादेश राष्ट्रपति विद्यादेवी भणडारीले जारी गरे पछि आजै ४ बजे अर्थमन्त्रीले प्रत्यक्ष प्रशारण मार्फत बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...