काठमाडौँ- देशको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महिनामा कूल रु. ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात भएको छ  ।
उक्त नाकाबाट ७८ देशमा नेपाली उत्पादन निर्यात हुने गरेको छ ।

वीरगञ्जस्थित भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिक मसान्तसम्म कूल रु. ३९ अर्ब ५६ करोड ३९ लाख ५० हजार मूल्य बराबरको नेपाली उत्पादन अन्य मुलुकमा निकासी भएको हो ।

आव २०७७/७८ को सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा कूल २१८ प्रतिशतले बढी मूल्य बराबरको नेपाली उत्पादन यो नाका हुदैँ मुलुकबाहिर निर्यात भएको देखिएको हो ।

गत आव २०७७/७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा यस नाकाबाट कूल रु. १२ अर्ब ४४ करोड दुई लाख ८५ हजार बराबरका मालसमान निर्यात भएको थियो । 

चालू आव को साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा निर्यात भएको सामग्रीमध्ये सबैभन्दा धेरै रु. १७ अर्ब २० करोड ९० लाख नौ हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको देखिन्छ ।

त्यसैगरी, प्रशोधित पाम तेल रु. १३ अर्ब ४० करोड ७८ लाख २२ हजार मूल्य बराबरको निर्यात भएको छ, भने डाबरको उत्पादन तथा अन्य फलफूलको जुस रु. एक अर्ब ८४ करोड ४७ लाख ५७ हजार मूल्य बराबरको निर्यात भएको हो ।

त्यसैगरी सो अवधिमा सूर्यमुखी प्रशोधित तेल रु. एक अर्ब ५८ करोड दुई लाख ६१ हजार मूल्य बराबरको भारततर्फ निकासी भएको छ भने भटमासको पिना मात्रै रु. ६१ करोड ६८ लाख ९४ हजारको भारततर्फ निकासी भएको छ । 

वीरगन्ज नाकाबाट जमोठ कपडा, बत्तिसा, त्रिफला, च्यावनप्रास, सेन्थेटिक यार्न, स्पोर्ट सुज, सेन्थेटिक सुज, दन्तमञ्जन, ऊनी गलैँचा, होमियोपैथिक तथा आयुर्वेदिक औषधि, तयारी कपडालगायत सामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको देखिन्छ  । 

मुलुकै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्ज भन्सार नाका हुँदै विविध नेपाली उत्पादन इन्डोनेसिया, चीन , अर्जेन्टिना, पाराग्वे, युक्रेन, ब्राजिल, मलेसिया, अस्ट्रेलिया, रूसी सङ्घ, थाइल्याण्ड , दक्षिण अफ्रिका, सिङ्गापुर, कोरिया, गणतन्त्र जापान, जर्मनी, नेदरल्याण्ड्स, संयुक्तराज्य अमेरिका, भियतनाम, इजरायल, पोल्याण्ड, साउदी अरेयिबा, श्रीलङ्का, ताइवान, चीनको प्रान्त, संयुक्त अरब इमिरेट्स, लिथुआनिया, इटाली, फ्रान्स, बेल्जियम, न्यूजिल्याण्ड, फिलिपिन्स, टर्की, युनाइटेड किङगडम, क्यानडा, स्पेन, डेनमार्क, अस्ट्रिया, बहराइन, मेक्सिको, युरोपेली सङ्घ, स्विट्जरल्याण्ड, स्लोभाकिया, पाकिस्तान, ओमान, हङ्गेरी, नर्वे, पोर्चुगल,  स्वाजिल्याण्ड, इजिप्ट, मेडागास्कर, ग्रीस, बङ्गलादेश, लक्जमबर्ग, मोजाम्बिक, बुल्गेरिया, म्यानमार, आयरल्याण्ड, सर्बिया, स्वीडेन, पोर्टो रिको, हङगकङग, होन्डुरस, स्लोभेनिया, निकारागुआ, कोलम्बिया, एल साल्भाडोर, सियरा लियोन,  फिनल्याण्ड, जर्जिया, बोस्निया र हेर्जेगोभिना, रोमानियालगायत देशमा निर्यात हुने गरेको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...