काठमाडौँ- राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाएको छ ।

विभागद्वारा आज जारी भएको सूचनामा उक्त राजस्व चुहावट बराबरको बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको उल्लेख छ ।

यसरी राजस्व चुहावटको अभियोग लागेकामा रुपन्देहीको क्रिष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र सोही जिल्लाका मोहमद साहिद अन्सारीसमेत १२ जना रहेका छन् । 

अनुसन्धानका क्रममा उनीहरुबाट सक्कली अन्तःशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तःशुल्क टिकट फेला परेको छ ।

साथै भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा बढी परिमाणमा मालवस्तु भेटिनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसुर गरेको देखिएको छ ।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...