गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारको यस निर्णयको सामाजिक सञ्जालमा बहस भइरहको छ ।

सामान्यत: हिन्दू धर्मसँग  सम्बन्धित चाडपर्वहरूमा सार्बजनिक बिदा वार्षिक क्यालेन्डरमै उल्लेख भएता पनि आदिवासी/जानजातिका चाडपर्वहरूमा सरकारले सार्वजनिक बिदा दिन कन्जुस्याइँ गरिरहेको या कम दिइरहेको वातावरण थियो । 'सार्वजनिक बिदा दिनु-नदिनु'ले देशमा छरिएर रहेका जातजातिहरू (धर्म, संस्कृति एवम् चाडपर्व)को पक्षमा सरकार भएको-नभएको खुलस्त पार्ने गर्दछ । जातजातीका पर्वहरुमा राष्ट्रियरुपमा सार्वजनिक बिदा दिनु जातीय पर्वको पहिचानको मर्यादा गर्नु हो ।

राज्यको कुनै धर्म हुँदैन । तर, जनताका आ-आफ्ना धर्म, संस्कार, रीतिरिवाज र चाडपर्वसँग सम्बन्धित आस्थाहरू हुने गर्दछन् । उनीहरूले आफ्नो आस्थाअनुरुपको, संस्कार, रीतिरिवाज र चाडपर्व मनाइरहँदा उनीहरूलाई आवश्यक बिदा उनीहरूले पाउनुपर्दछ ।  एउटा राज्यले कुनै पनि एक जाति, धर्म विशेषको चाडपर्व या संस्कार निहित भएर १०-१० दिनसम्म बिदा दिने तर, त्यहीनेर अर्को जाति, धर्म विशेषको चाडपर्व या संस्कारमा बिदा कटौती गर्नु गलत रहेको कवि मोक्तान थेबा बताउँछन् । "मेरो स्थानीय सरकारले ३ दिनको बिदा दिएको छ, जुन स्वागतयोग्य कुरा छ" उनी अगाडि भन्छन्, "ल्होछार धर्मसँग सम्बधित कुरा भन्दा पनि हामीहरूको नयाँ वर्ष हो । सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो ।"

थेबा सार्वजनिक बिदा व्यस्थापनमा सरकारले वैज्ञानिक तरिका अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउछन्  । "कुनै पनि एक धर्मविशेष, जातिविशेष रहेर सार्वजनिक बिदा दिइनुले धर्मनिरपेक्षता एवं संविधानलाई आत्मसात गर्दैन । बिदा व्यवस्थापनको सवालमा उपयुक्त नीतिनियम तर्जुमा गर्न ढिला भइसेकको छ," थेबा भन्दछन् । 

धर्मनिरपेक्षताको सवालमा या कम्युनिष्ट विचारधाराको सवालमा कुनै एक व्यक्तिले धार्मिक चाडपर्वहरू मनाउदीन भन्न पाउँला तर कुनै पनि समुदायले आफ्नो धार्मिक आस्थाको आधारमा चाडपर्व या रितिरिवाज मनाइरहको छ भने त्यसको सम्मान सबै समुदायले गर्नुपर्ने थेबाको मत छ ।

"हिन्दूको दशैं तिहार राष्ट्रिय पर्व हो भने तामाङको ल्होसार पनि राष्ट्रिय पर्व हो । भोलि एकदिन सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको भएता पनि यस सरकारले यस समुदायको मर्मलाई अझ आत्मसात गर्न सकेको छैन । यदि उसले सकेको हुन्थ्यो भने एक दिनको ठाउँमा तीन दिन बिदा दिन्थ्यो, किनकि ल्होसार मनाउनको लागि हामीलाई तीन वटा दिन आवश्यक छ ।" 



बिदालाई कुनै पनि जात, धर्म, समुदायले प्रतिष्ठाको विषय बनाउन बन्द गर्नुपर्छ । चाडपर्वको बिदा दिँदा उक्त चाडपर्व मनाउने वर्ग, समुदाय र क्षेत्रमा मात्रै बिदा पाउने व्यवस्था हुन जरुरी छ । कुनै एक क्षेत्र विशेषमा मनाउने चाडका लागि देश नै ठप्प पार्ने गरी बिदा दिनु कुनै पनि तरिकाले पुष्टि हुननसक्ने कवि एवं लेखक राजन मुकारुङ बताउँछन्  ।

"धार्मिक आधारमा सार्वजनिक बिदा दिइनु त अझ मेरा लागि गलत छ । मेरा लागि कुनै पनि धर्म आधारित बिदाहरू आवश्यक छैनन् तर, कुनै पनि धार्मिक आस्था अनुरुप चाडपर्व मनाउनेहरूका लागि कति दिनको चाहिने हो भनेर तीनवटै सरकारले सोध्नुपर्यो । जनैपूर्णिमा दिने, इदमा नदिने गर्नुभएन । बिदा व्यवस्थापन गर्दा देश बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक रहेको कुरालाई बिर्सन भएन । वैज्ञानिक बिदा व्यवस्थापन आजको आवश्यकता हो," मुकारुङ बताउँछन् । बिदा व्यवस्थापनका सम्बन्धमा राष्ट्रिय नीति तय गर्नु जरुरी देखिएको मुकारुङको मत छ ।

विगतमा के भयो ?

विगतका सरकारहरूले नेपालका सरकारी कार्यालयहरुमा सबैभन्दा धेरै सार्वजनिक बिदा हुन्छ भन्ने एउटा हौवाका बीच बिदा कटौती गर्दै आएको थियो । ती सरकारले सरकारले कार्य समय बढाउन जात जातिका पर्व विशेष राष्ट्रिय बिदा कटौति गर्नु परेको बताएका पनि थिए । तर, त्यसबेला  बिदा कटौतिका कारण जनसमुदाय आक्रोशित बनेका थिए ।

पछी, प्रदेश र स्थानीय तहहरुले संघले काटेका बिदालगायत आफ्नो आवश्यकतानुसार थप स्थानीय बिदा दिन अग्रसर भएको देखियो । प्रदेश र स्थानीय तहका सरकारलाई कानून बनाउने अधिकार संविधानले दिएको छ भन्ने नाममा जथाभावी सार्वजनिक बिदा दिन थाले । यसले  राष्ट्रिय बिदा दिने विषयमा थप बेथितिको अवस्था सृजना गर्यो । अनियन्त्रित र अव्यवस्थितरुपमा जथाभावी जुनवेला चाहियो, त्यहीबेला सार्वजनिक बिदा दिने निर्णय गरिनु आफैंमा सुखद नरहेको विगतका दिनहरूले बताइसकेका छन्, यसतर्फ पनि सबैको ध्यानाकर्षण हुन् आवश्यक छ ।

सरकारका तहहरुबीच सार्वजनिक बिदा दिने होडवाजी चल्नु, सरकारका तहहरु आफुखुसी बिदा दिन उद्यत हुनु, कुन सरकारले केको उपलक्षमा बिदा दिएको छ जान्न नसकिने अवस्था सिर्जना हुनुले जनताले पाउनुपर्ने सेवा समयमा नपाइरहको अवस्था छ । यस अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिनहरू व्यवस्थित रुपले छुट्टाइनुपर्दछ । हिन्दू इतरका जातजातिका चाडपर्वहरूमा राष्ट्रिय बिदा दिँदा राष्ट्रलाई ठुलो क्षति हुने तर, हिन्दू धर्मका चाडपर्वहरूलाई क्यालेन्डर अंकित गर्दा चाहिँ खासै क्षति नहुने भन्ने काइते तर्क त्याग्नु अत्यावश्यक छ ।

बिदा दिने पद्धतिको विकास कसरी भयो ?

हप्तामा ४२ घण्टा मात्र काम गर्ने सिद्धान्त विश्व श्रम संगठनले पारित गरेको छ । यस सिद्धान्त बमोजिम सामान्यतया एक दिनमा सात घण्टा कर्मचारी र कामदारले काम गर्ने रितिथिति बसेको छ । बिदा कर्मचारी कामदारहरुलाई थकाई मार्न र आनन्द लिनको लागि व्यवस्था गरिएको हुन्छ । तोकिएको घण्टाभन्दा बढी काम गरेमा गर्नु परेमा अतिरिक्त मौद्रिक सुविधा दिनुपर्ने व्यवस्था पनि विश्व श्रम संगठनले गरेको छ ।

सार्वजनिक बिदाहरु मूूलतः ऐतिहासिक, सामाजिक सांस्कृतिक आधार तथा विशिष्ट व्यक्ति वा राजनीतिक घटनाको संझनामा निर्धारण गरिएका हुन्छन् । सार्वजनिक बिदा कानूनद्वारा व्यवस्थित गरिन्छ । सार्वजनिक बिदामा सरकारी कार्यालयहरु बन्द रहन्छन् तर कर्मचारीले त्यस्ता सार्वजनिक बिदामा पारिश्रमिक भने पाउँछन् ।

बिदामा पनि कर्मचारीलाई काममा लगाउन सकिन्छ किनकि बिदा अधिकार होइन सुविधा मात्र हो भन्ने गरिन्छ । यसकारण सार्वजनिक बिदा प्रत्येक देशमा फरक फरक हुने गर्दछ । कर्मचारीले पाउने वृत्ति बिदामा सार्वजनिक बिदा जोडिँदैन र काटिँदैन पनि । संगठन अस्थायीरुपमा बन्द भयो भने कर्मचारीलाई वलपूर्वक बिदा लिन लगाउने पनि गरिन्छ ।

प्राचीन कालमा कति घण्टासम्म सरकारी कर्मचारीले काम गर्दथे भन्ने अभिलेख नेपालमा पाइँदैन । संगठित प्रशासकीय प्रवन्ध भई नसकेको र सानो आकारको सरकार भएकाले तिनताका कर्मचारी राजेच्छाअनुसार दरवार र कार्यालयमा काम गर्दथे । राणा प्रधानमन्त्री भीम शमशेरले हप्तामा एक दिन शनिवार बिदा दिने र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने व्यवस्था गरिदिए । त्यसपछि सार्वजनिक बिदा दिने चलन प्रारम्भ भएको होे । (स्रोत: अनलाइनखबर)

क्यालेण्डर देशको शासन सञ्चालन गर्ने मियो हो । सार्वजनिक बिदाहरु बार्षिक क्यालेण्डर (पात्रो) मा देखाईन्छ । यसर्थ, सार्वजनिक बिदाको रूपमा क्यालेन्डरमा 'सोनाम ल्होसार' अंकित हुनुलाई सकारात्मक रुपमै हेर्नुपर्दछ, तर दिइनका खातिर मात्रै एक दिने बिदा दिइएको हो भने यो झन ठुलो समस्या हो । 

व्यवस्थित बिदा प्रणालीले देश विकास र समग्र अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको हुन्छ । बिदाका अवसरमा प्राप्त गर्ने आरामको समयले शारीरिक र मानसिक स्वाथ्यलाई सबल बनाउने मात्र होइन, व्यक्तिको सिर्जनात्मक क्षमतासमेत अभिवृद्धि गर्न मद्दत पुर्याउछ । बिदाले सामाजिक–सांस्कृतिक सम्बन्धहरूलाई सुमधुर बनाउन सहयोग गर्छ । विशेषतः चाडपर्वमा दिइने बिदाले अर्थतन्त्रमा उपभोगको मात्रा बढाउने हुँदा वाणिज्य क्षेत्रमा सकारात्मक प्रभाव पारेको हुन्छ । बिदाको अवसरले पर्यटनजन्य उद्योगहरूको गतिविधि बढाउन योगदान गर्छ । बिदाको फाइदा–बेफाइदाका बारेमा बहस, विश्लेषण र गहन छलफल गरी बिदा प्रणालीलाई वस्तुगत, वैज्ञानिक र अर्थतन्त्रमैत्री बनाउने प्रयास भएको पाइँदैन । त्यसैले, व्यवस्थित सार्वजनिक बिदाहरू व्यक्तिगत, समुदाय र सांस्कृतिक लाभको हिसाबले महत्वपूर्ण छन् । तर, यसका लागि बिदा प्रणाली सान्दर्भिक, व्यावहारिक, मौलिक, वस्तुनिष्ठ र वैज्ञानिक हुन जरुरी हुन्छ । 

मुलुक समावेशी भएपछि पहिले सुविधा नपाएका धर्म र संस्कृतिले पनि बिदा वा राष्ट्रिय सम्मानको अपेक्षा गर्नु स्वाभाविक हो । राष्ट्रिय सम्मानको अर्थ भने सार्वजनिक बिदा पाउने र नपाउने हिसाबले लगाउन थालिएको छ । तर, भुल्न नहुने कुरा के हो भने, बिदा पाएर मात्र हाम्रा संस्कार र संस्कृतिको संरक्षण हुन सक्दैन । तिनका बारेमा पाठ्यपुस्तकमा समावेश गर्ने र सबैलाई जानकार बनाउने काम गर्नुपर्छ । यतातर्फ पनि समबन्धित सबैको ध्यान केन्द्रित होस् ।

पढ्नुहोस् विज्ञप्ति;


No description available.


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...