दिलिप बान्तावा

'तिमी तारेभिर, म त लहरा
तिमी मै म लहराउँछु तिमी सहारा !'

करिब तीन दशक अघि गायिका पबित्रा सुब्बाको स्वरमा रेकर्ड भएको यो गीतले यतिबेला पुरुष आवाजमा निक्कै चर्चा बटुलिरहेको छ । पचासको दशकमा अनेकौँ सम्भावनाहरूको खोजी गर्दै भोजपुरबाट काठमाडौँ आइपुगेका आजका ख्यातिप्राप्त कवि श्रवण मुकारुङकाे यो शब्द रचनालाई सँगीत मै भविष्य खोजिरहेका सँगीतकार शान्तिराम राईले धुन भरेपछि त्यतिबेला राम्रै स्थापित गायक-गायिकाहरूसम्म यो गीत लिएर पुग्दा 'यस्तो पनि गीत हुन्छ ?' भन्ने तितो प्रतिक्रियाको सामना गर्नुपरेको प्रसँग कतै पढेको थिएँ । तर पबित्रा सुब्बाको स्वरमा रेकर्ड भएको यो गीत सर्वकालीक प्रिय बनिरह्यो । नेपाली गीत, सँगीत सुन्ने श्राेताहरू कोही नहोलान् जसले यो गीत नसुनेका होउन् ।



यति लोकप्रिय गीतलाई अहिलेका गायक रेवत राईले आफ्नो आवाजमा रेकर्ड गर्ने 'रिस्क' मोलेर पुनः यो गीतलाई नयाँ ढंगले चर्चामा ल्याएका छन् । ओरिजिनल गीतको शब्द, लय, ताल इत्यादिलाई जस्ताको तस्तै राखेर सँगीत संयोजनमा केही परिमार्जन गरिएको नयाँ गीत सुन्दा छुट्टै मिठास् भेटिन्छ । तर यतिखेर चर्चा गीतमा आधारित भिडियोको बढी आइरहेको छ । प्रविधिको उन्नत प्रयोगको चरणमा रहेको आजको पुस्ता सबैसँग हात हातमा विद्युतीय 'ग्याजेट्स' छँदैछ । कुनै एउटा प्लेटफर्मबाट सार्वजनिक हुनेबित्तिकै राम्रा सामग्रीहरू डिजिटल बजारमा यत्रतत्र भइहाल्न खासै समय लाग्दैन । युट्यूबबाट सार्वजनिक भएको नयाँ 'तारेभिर' चार दिनमै १३ लाख चोटि हेरिएको छ भने कुनै पनि दर्शकले मन नपराउ (Dislike) बटन थिचेका छैनन् । 

याे गीतको भिडियोको सुन्दर पक्ष यसको कथानक हो । त्यसपछि भने सो कथा अनुसार अभिनय गर्ने कलाकारहरूको मेहनत । कथा फरक कोणबाट बुनिएको देखिन्छ । नेपाली समाजमा अलि दुर्लभ देखिने 'एकल बाउ'ले हुर्काउने छोरीको कथा देखाइएको छ । श्रीमतीको मृत्युपछि अर्को बिहा गर्न दवाव दिने परिवार र समाज अझै पनि उस्तै छ हामीकहाँ । तर गीतको कथामा एकल बाउले नै अत्यन्तै स्नेहका साथ छोरीलाई हुर्काई, बढाई गरेको देखिन्छ । अक्सर जनजाती समुदायमा यस्तो थिती अलि बढी भेटिन्छ । त्यहाँ छोराछोरीलाई बिहा गर्न कर गर्ने वा बिहापछि यो अथवा त्यो भएन भनेर अनेकौँ बखेडा निकाल्ने, दोस्रो बिहाका लागि लोग्ने मान्छेलाई उक्साउने खालको गतिविधि त्यति पाइन्न । अर्थात जनजाती समुदायमा व्यक्तिगत स्वतन्त्रताका सीमाहरू अलि फराकिलो हुन्छन् । यही पृष्ठभूमिको कथा राखिएको छ नयाँ तारेभिरमा । सायद यही भएर धेरैको ध्यान खिच्न सफल भएको छ । बाउले अनेकौँ दर्द आफूभित्रै लुकाएर छोरीलाई खुसी दिन खोजेको दृष्यले जोकोहीको मन विह्वल बनाइदिन्छ ।

करिब चार मिनेटको भिडियो चल्न थाल्ने बित्तिकै दर्शकको मन बाँधिहाल्छ । सुन्दर ग्रामिण बस्तीको जनजीवन, कुनै बालकको अबोध मुस्कान जस्तै हेरिरहुँ लाग्छ । सबैभन्दा महत्वपूर्ण कुरा जनजातीहरूको संस्कृतिलाई मार्मिक ढंगले देखाइएको छ । आजभोलि हामी प्रत्येक वर्ष घुमेर आईपुग्ने जन्मदिनलाई एउटा महत्वपूर्ण उत्सवको रूपमा मनाउँछौँ । त्यो उत्सवको शुरुवात बलिरहेको मैनबत्ती निभाएर गर्छौं । जन्मदिन जस्तो उत्सवमा बत्ती निभाउनु जनजाती संस्कृतिमा गलत हो । बत्ती निभ्नु वा निभाउनु अशुभको संकेत हो वा दुखद अवस्थामा मात्रै बत्ती निभाइन्छ । यो गीतको दृष्यमा यही कुरा देखाइएको छ । बलिरहेको बत्ती (कुपि) हावाले निभाइदिन्छ त्यही समयमा दुखद घट्ना घट्न पुग्छ । यो एउटा सांस्कृतिक मिथकसँगै सम्बन्धित समुदायको आस्था हो, विश्वास हो । 



विशेष गरी किराँती संस्कृतिमा मृत्युपछि पार्थिव शरीरलाई घरभन्दा माथितिर पर्ने ठाउँमा समाधिस्थ गर्ने गरिन्छ । यो गीतमा पनि मृतकको समाधी घरभन्दा माथिपट्टि देखाइएको छ । उच्च पहाडी तथा हिमाली भेगको नागीहरूको सौन्दर्य एकै दामलमा फुल्ने बुकी फूलहरूको मोहकता पनि हो । जनजातिहरूमा बुकी फूलको विशेष महत्व छ । यो फूललाई चिरायू तथा सगुनको प्रतीक मानिन्छ । यसलाई पनि भिडियोमा उल्लेख्य ढंगले देखाइएको छ ।

प्रेमिल भावको गीतमा विछोडिएको कथालाई प्रेम, वियोग र संस्कृतिको सुन्दर संयोजनका साथ दृष्यमा देखाउनु निर्देशक किरण चाम्लिङकाे अब्बल सृजनशीलता हो । जीवन्त अभिनयका लागि चिनिएका दयाहाङ् राईले अभिनयका माध्यमबाट गीतलाई अझ उपल्लो स्तरमा पुर्‍याएका छन् । उनलाई साथ दिने कलाकारहरू मिरुना मगर र नुमा राईको अभिनयले गीतलाई पूर्णता प्रदान गरेको छ । यो गीतको प्रयोगले पुराना सृजनाहरूलाई यसरी तिनको मौलिकतालाई जोगाउँदै हाम्रा सँस्कृतिहरूसँग एकाकार गरी पुनरुत्पादन गर्न सके ती पुराना श्रष्टा र सृजनाहरूप्रति सम्मान मात्रै नभएर नयाँ ढंगले संरक्षण पनि हुने रहेछ भन्ने देखिन्छ ।

भिडियाेः

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।